तपाईँको नाक चिलाइरहन्छ ?, यस्तो छ समाधान (डा. बिपीन कोइरालाको अन्तर्वार्ता)

विराटनगर । गर्मीको समयमा नाक बन्द हुने, चिलाउने समस्या पछिल्लो समय धेरै मानिसमा देखिन्छ । हरेक दिन बाहिरी वातावरणबाट घर पुग्दा होस् या कार्यालयमै कामको सिलसिलामा पनि नाक चिलाउने, बन्द हुने या नाकमा मासु पलाएको जस्तो समस्या पछिल्लो समयमा बढी नै देखिन्छ । समस्या देखिँदै जाँदा यसको तत्कालै समाधान गर्न सकिएन भनेँ क्यान्सर जस्ता दिर्घकालीन असर पनि हुनसक्छ । समस्या देखिनासाथ त्यसको समाधान पनि खोज्न चिकित्सकले सल्लाह दिँदै आएका छन् । आफ्नो नाकमा आउने समस्या र संक्रमणबाट आफूलाई जोगाई स्वस्थ रहन के के कुरामा ध्यान दिनु पर्ला भन्ने विषयमा मकालु खबरले विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल बुढीगंगाका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. विपीन कोइरालासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ डा. कोइरालासँगको कुराकानी :

नाकसम्बन्धी समस्या कसरी आउन सक्छन् ?
नाक सम्बन्धी समस्या एउटा कारणले मात्र हुँदैन । यो समस्या उमेरका कारण पनि हुनसक्छ । बच्चाको समस्या र ठुलाको समस्या फरक हुनसक्छ । बच्चाले आफ्नो स्वास्थ्यमा ध्यान दिएका हुँदैनन् । आफ्नो नाकमा फरेन बडी (बाहिरी वस्तु) हालेर आउने, केही खेलाई राखेका चिजहरु हालेर आउने समस्या अधिक मात्रामा रहेको छ ।

युवाहरुमा एलर्जीका समस्या, नाक बन्द हुने समस्या, नाकमा मासु पलाउने समस्या धेरै छन् । त्यो भन्दा माथिको उमेरमा भने नाकबाट रगतहरु बग्ने, नाकमा मासु पलाएपछि हुने क्यान्सरका समस्या पनि हुनसक्छन् ।

नाक बन्द हुने समस्या के हो ?
खासमा नाक बन्द धेरै कारणबाट हुन सक्छन् । नाकको अगाडीको भागमा केही कुरा अड्कियो, केही कुरा रह्यो भने पनि नाक बन्द हुनसक्छ । तपाईँको नाकको हड्डी बाङ्गो छ भने पनि नाक बन्द हुनसक्छ । नाकमा मासु बढेको, नयाँ मासु पलाएको अवस्थामा पनि नाक बन्द हुनसक्छ ।

अहिले त प्रदुषणको पनि समस्या छ, यसले नाकमा कस्तो असर गर्छ ?
प्रदुषणका कारण नाकमा प्रसस्त असर गर्न सक्छ । यसमा म केही रिफ्लेक्सको कुरा गर्छु । प्रदुषणबाट नाकमा पर्ने असरलाई न्याजो पल्मोनरी रिफ्लेक्स हामीले भन्छौँ, हुन त यो ‘मेडिकल टर्म्स’ हो । प्रदुषणले कहिलेकाँही नाक जाम हुने, त्यसले गर्दा भित्री फोक्सोसम्म असर पुगेर त्यो रिफ्लेक्ट एक्टिभेट भएर श्वास प्रश्वाससम्म समस्या आउने गर्छ ।

नाकमा मासु पलाउने कारण चै के हुन् ?
नाकमा मासु पलाउने भनेको बिशेषगरी दुई भागमा विभाजन गर्नसक्छौँ । मासु पलाउने समस्यालाई चाहीँ हामी ‘न्याजलपलिप’ भनेर बुझ्छौँ । यो अबस्था भनेको क्यान्सरको अबस्था हैन तर यसलाई एक ट्युमरको हिसावले बुझ्न सकिन्छ । यस्तो अबस्थामा हामीले पोलीपोईडल्ट इश्यु भन्छौँ । यसमा उपचार सम्भव हुन्छ । अर्को भनेको ‘म्यानिमेन्ट इस्युज’ हो । यो अवस्थालाई नाकमा मासु पलाएको छ तर त्यो क्यान्सरको अवस्थामा पुगिसकेको बुझ्न सक्छौँ ।

नाक चिलाउने, धेरै हाछ्युँ आउने समस्या कस्तो खालको हो ?
नाक चिलाउने, हाछ्यु आइरहने समस्यासँगै तालु चिलाउने, कान चिलाउने लगायतका सबै समस्या ‘एलर्जीकफेनमेना’सँग सम्बन्धित छ । बिशेषगरी यो तोरी फुल्ने समयमा धेरै भएको पाउँछौँ । यसलाई हामी सिजनल र पेरिनियल भनेर क्लासिफाई गर्छौँ । मेडिकलको भाषामा हामीले यसलाई एलर्जीक राइनाइटिक्स भनेर भन्ने गर्छौँ । नाक चिलाउने, हाछ्युँ आइरहने भनेको यही रोगसँग सम्बन्धित समस्या हो ।

यस्ता समस्याको घरेलु उपचार केही छन् ?
हामीले भन्दै आउने र दिने सुझाव भनेको धुलोबाट बच्नुस् भनेर भन्दै आएका हुन्छौँ । धुलोसँगै, धुवाँ र चिसोबाट पनि यस्ता समस्याका बिरामी बच्नु पर्ने हुन्छ । एलर्जीको मुख्य कारक तत्व भनेको धुलो, धुवाँ र चिसोको वरिपरि घुम्ने गरेको हुन्छ । विरामीले धुवाँ, धुलो र चिसोबाट बच्ने काम गर्नु पर्यो ।

नाथ्री फुट्ने समस्या के हो, अनी यो गर्मीको समस्या होकी जाडोको हो ?
बिशेषगरी यसलाई ‘क्रोमोबायोलोजी’ भन्ने टर्म्स हामीले प्रयोग गर्छौँ । त्यसो हुँदा क्रोेमोबायोलोजीको कुरा पहिला बुझ्नु पर्ने हुन्छ । हामी जाडोमा बढी नाथ्री फुट्ने समस्या हुन्छ भन्छौँ । यो समस्या गर्मीको भन्दा जाडोमा बढी हुने गर्छ ।

स्वस्थ रहन नाकको सुरक्षा गर्ने उपाय के के छन् ?
गर्मी समयमा हामी पंखामा बढी बस्ने गछौँ, त्यसले नाक बन्द गराउँ छ । गर्मीमा नै बढी धुलो हुन्छ । धुवाँ धुलो भनेको हाम्रो जीवनको दैनिकी जस्तै भइसक्यो । जहाँ पनि यसको असर देखिन्छ । यस्तो अबस्थामा बाहिर हिँड्दा मास्क लगाएर हिँड्ने । नाकमा मासु बढेको जस्तो आफूलाई लागेको छ भने नजिकैको चिकित्सकलाई गएर भेट्ने, जस्तो की, काठमिलमा काम गर्ने, सिमेन्ट फ्याक्ट्रीमा काम गर्ने मानिस पनि हुनुहुन्छ भने यस्ता अबस्थामा हामी अकुपेश्नल एक्पोजर पनि हामी भन्नेगर्छौँ । अकुपेश्नल कुरासँग सम्बन्धित व्यक्तिहरुले आफ्नो स्वास्थ्य बारे बिशेष ध्यान दिन म सुझाव दिन्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *