तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?

काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सतकर्ता अपनाउन आग्रह गरे ।
उनले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी बताए । उनले तातो लहर (लू) बाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिए ।
डा. अधिकारीले तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन आग्रह गरे । उनले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए ।
उनले तातो लहरको जोखिमबाट बच्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि आग्रह गरे ।
उनले भने ‘मनसुन सुरु भएसँगै हामी तातो हावाको जोखिममा पर्न सक्ने पूर्वानुमान समेत आइरहेका छन् । तापलहर (लू) को जोखिमबाट बाँच्नको लागि हामी सबै आआफ्नो ठाउँबाट पूर्वतयारी गर्नुपर्ने छ । यसको लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरोकारवाला निकायहरूसँग समन्वय गरेर काम गरिरहेको छ । हामीले ‘हिट वेभ’को सम्बन्धमा हामी अलि बढी तापक्रम हुने ठाउँमा बस्ने नागरिकले अलि बढी ध्यान दिनुपर्छ । हामीले आफ्नो दैनिकीमा गर्ने कामहरूमा पनि त्यहीअनुसारको तादम्यता मिलाउनुपर्ने हुन्छ । हामीले दिउँसो काम गर्दै आएका छौँ भने तापक्रम बढेको समयमा बिहान वा साँझको समयमा काम गर्ने, दिउँसोको समयमा घरमै बस्ने, झोलिलो खानेकुरा खाने, त्यसैअनुसारको आराम गर्नुपर्ने हुन्छ । हिट वेभको कारण हाम्रो आँखा तथा छालाको समेत दीर्घकालीन समस्याहरू हुन सक्छन् । त्यही भएर हामीले तापक्रम बढी भएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा सन्तुलन मिलाउनुपर्ने हुन्छ । बालबालिका तथा ज्येष्ठ नागरिक अलि बढी जोखिममा पर्ने भएको कारण उहाँहरूले अलि बढी सावधानी अपनाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा हामीले स्वास्थ्यलाई असर पर्ने खालका धूम्रपान तथा मद्यपानको सेवन नगर्ने लगायतका कामहरू गर्नुपर्ने हुन्छ । यी सबे कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ । यदि केही अप्ठ्यारो भएको खण्डमा तत्कालै स्वास्थ्यकर्मीसँग परामर्श गर्न समेत सबैमा आग्रह गर्दछौँ ।’
‘लू’ भनेको के हो ?
तापलहर (लू) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आर्द्रता सँगै देखिन्छ । कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थामा लू घोषणा गर्ने गरिन्छ । जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेका कारण तापलहरको जोखिम बढ्दै गइरहेको छ ।
तापलहर (लू) का केवल शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोको जोखिम हुने गर्दछ । हिट वेभले मुटुसम्बन्धी समस्याको जोखिम पनि बढाउन सक्ने विज्ञहरूको चेतावनी छ ।
लू लाग्नुका कारणहरू के के हुन् ?
जलवायु परिवर्तनको कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा लूको लाग्ने गरेको पाइएको छ । पछिल्लो समय अव्यवस्थित सहरीकरणका कारण पनि लूको जोखिम बढ्दै गएको छ । कंक्रीटका भवन र सडकहरूले ताप सोस्ने भएकाले सहरहरूमा लूको जोखिम अत्यधिक हुने गर्दछ । वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेर समेत तातोलहर चल्छ ।
तापलहर (लू) का लक्षणहरू
- डिहाइड्रेसनः अत्यधिक तिर्खा लाग्नु, मुख सुक्नु, थकान महसुस हुनु
- गर्मीजन्य थकानः रिंगटा लाग्नु, पसिना आउनु, कमजोरी महसुस हुनु
- हिटस्ट्रोकः शरीरको तापक्रम अत्यधिक बढ्नु, अन्योल हुनु, बेहोस हुनु
- मुटुमा दबाबः मुटुको धड्कन बढ्नु, छातीमा असहजता हुनु
तापलहर (लू) लाग्नबाट बच्न के गर्ने ?
- दिउँसोको अत्यधिक गर्मी हुने समयमा बाहिर ननिस्कनुहोस् ।
- हल्का र खुकुलो कपडा लगाउनुहोस् ।
- चिसो वा छायाँयुक्त स्थानमा बस्नुहोस् ।
- सम्भव भए पंखा वा एयर कन्डिसनर प्रयोग गर्नुहोस् ।
- हल्का तथा पौष्टिक खाना खानुहोस् ।
- चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गर्नुहोस् ।
- शरीरमा पानीको मात्रा पर्याप्त राख्नुहोस् ।
- रक्तचाप र रक्तशर्कराको नियमित निगरानी गर्नुहोस् ।
- अत्यधिक शारीरिक श्रम नगर्नुहोस् ।
- गर्मी बढेको समयमा घरभित्र वा चिसो स्थानमा बस्नुहोस् ।








