कब्जियत नहटेसम्म पायल्स निको हुँदैन : डा.सुवर्ण पौडेल (अन्तरवार्ता)
किन हुन्छ पायल्स, कसरी गर्ने उपचार ?

काठमाडौं । नेपालीहरूलाई धेरै हुनेमध्येको रोग हो, पायल्स । खानपिनको कारणले होला पछिल्लो समय यो रोगबाट पीडित हुनेहरू बढिरहेका छन् । पायल्स कसरी हुन्छ ? किन हुन्छ ? यसको उपचार हुन्छ वा हुँदैन ? लगायतका विषयमा केन्द्रित रहेर मेदान्त आयुर्वेद अस्पतालका चिकित्सक डा.सुवर्ण पौडेलसँग मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :-
पायल्स भनेको के हो ? पायल्स कसरी हुन्छ ?
पायल्स भनेको मलद्वारमा हुने नसाहरूको सोइलिङ र आर्टिभेनहरुको सोइलिङ हो । जसको कारणले गर्दा बिरामीले नसाहरू फुलिरहँदा मासु जस्तो अनुभव गर्छन् । तर त्यो मासु नभई नसाहरूको पोका हो । त्यसलाई नै हामीले पायल्स भन्छौं । यो विशेष गरेर कब्जियत हुने, लामो समय सम्म ट्वाइलेट बस्ने, दिसा गर्दा बल गर्ने, बुढेसकालमा छोरा मान्छेहरूलाई प्रोसेटको समस्या हुँदा, त्यसै गरेर पिसाब गर्ने कन्डिसनमा पनि मलद्वारका नसाहरू फुल्ने र महिलाहरू गर्भवती भएको समयमा कन्सीट्रिपेसन हुँदा, बल गरेर बच्चा जन्माउने कन्डिसनमा पनि पायल्स हुने सम्भावना रहन्छ ।
पायल्स मानिसको खानपान र रहनसहनसँग मात्रै सम्बन्धित छ कि ? वंशाणुगत प्रभाव पनि हुन्छ ?
यो वंशाणुगत पनि हुन्छ । विशेष गरि दिनहुँको बानीबेहोरा, खानपान, रहनसहन जस्ता जीवन शैलीले गर्दा यो समस्या बढी देखिन्छ । वंशाणुगत रोग हो तर सरुवा रोग भने होइन ।
पायल्स कति प्रकारको हुन्छ ? यसका लक्षणहरू के के हुन् ?
पायल्स २ प्रकारका हुन्छन् । भित्री पायल्स र बाहिरी पायल्स गरी २ प्रकारको हुन्छ । भित्री पायल्स भनेको दिशा गर्दा भित्रबाट आउने हुन्छ, त्यो ४ चरणको हुन्छ । त्यसको लक्षण पहिलो चरणमा मेसिन राखेर हेर्दा डाक्टरले थाहा पाउने अवस्था रहन्छ । कहिले कहीँ रगत बग्दा बिरामीलाई अनुभव हुन सक्छ । दोस्रो अवस्थामा दिशा गर्दा मासु बाहिर आउने आफैँ नजाने हुन्छ । चौथो अवस्था भनेको बाहिरै बसी राख्ने अवस्था हो । बाहिरी पायल्स भनेको बाहिरका नसाहरू फुल्ने दिशा गर्दा बाहिरी भाग सुनिने फुल्ने अवस्थालाई बाहिरी पायल्स भनिन्छ । अर्को, कुनै पायल्समा दिशा गर्दा रगत जान्छ भने कुनै पायल्समा रगत नगई पायल्स बढेको हुन सक्ने सम्भावना हुन सक्छ ।
पायल्स हुने कारणहरू के-के हुन् ?
पायल्स विभिन्न कारणले हुने गर्दछ । कहिलेकाहीँ इन्टर नल क्यान्सरको ग्रोथ हुँदा पनि मलद्वारमा पायल्स देखिन सक्छ । पछि समयमा उपचार नहुँदा पायल्स पाक्ने, पायल्स फुटेर धेरै रगतहरू बग्ने र मानिसलाई रक्त अल्पता भएर शरीर सम्म जाने अवस्था रहन सक्छ । विभिन्न अरु मलद्वार सम्बन्धी समस्याहरूले पायल्स हुने गर्दछ ।
यसको उपचार के छ ? पायल्स हुन नदिन के गर्ने ?
पायल्सको उपचारको लागि पहिलो र दोस्रो अवस्थामा औषधि नै खाएर हामीले राम्रो बनाउन सक्ने अवस्था रहन्छ । तेस्रो र चौथो चरणमा अप्रेसन गर्नुपर्ने अवस्था रहन सक्छ । यसलाई जोगाउन खानपानहरूमा ध्यान दिने, समयमा सुत्ने, समयमा उठ्ने, बढी मात्रामा यात्राहरू नगर्ने अनि मैदाबाट बनेका कुराहरू, बढी तारेका र भुटेका खानेकुराहरू खाँदा, मद्यपान धुम्रपानहरु सेवन गर्दा, रातो मासुहरू बढी मात्रामा पोलेर खाँदा दिसामा कब्जियत हुन गएर समस्या बढ्न सक्छ । त्यो कारणले गर्दा आँटाहरू, बोसोहरू कम खाने, हरियो सागपातहरू खाने, पानी प्रशस्त पिउने, धेरै तनाव नलिने, व्यायमहरु गर्नुपर्छ । आफ्नो जीवनशैलीमा सुधार ल्यायो भने पायल्स हुँदैन ।
पायल्स भए पनि लापरबाही गर्ने प्रचलन छ । लापरबाही गरे के हुन्छ ?
पायल्स रोगलाई लापरबाही गरेमा बिरामीलाई गाह्रो हुन सक्छ । पछि गएर मलद्वार नै काम नलाग्ने पनि हुन सक्छ । ठुलो आन्द्राबाट सर्जरी गरेर दिशा घर बाहिर निकाल्नुपर्ने अवस्था आउन सक्छ । पायल्सलाई पालेर राख्यो भने क्यान्सरको जोखिम रहन्छ ।
यस्तो बेला के खाने/के नखाने ?
खाने कुराहरू : पानी प्रशस्त मात्रामा पिउनुपर्छ । हरियो सागपातहरू खाने, सिजनअनुसार फलफूलहरू खाने, दूध मोहीहरू खान मिल्छ । झोलिलो खाने कुराहरू, रेसादार खानेकुराहरू, खाजामा गौ, जौ को परिकारहरू खान मिल्छ । त्यस्तै चना गेडागुडीहरूलाई क्वाँटी बनाएर, टुसा उमारेका गेडागुडीहरू खाँदा राम्रो हुन्छ । दिनमा एक पटक काँक्रो, गाजर, मुला, स्याउ अनिवार्य गर्दा उपयुक्त हुन्छ । यस्तै अङ्गुर, मेवा, उखुको रस, सुन्तला, कागतीहरूको रस खाँदा पनि एकदमै फाइदा हुन्छ । काजु, किसमिसहरू खानुपर्छ । यिनहरूलाई थोरै थोरै मिसाएर बेलुका भिजाएर राख्ने अनि बिहान उठेर मजाले चपाएर खाँदा यसले पनि पेटलाई एकदमै राम्रो गर्छ । केरा खाँदा पाकेको केरा खाँदा उपयुक्त हुन्छ । कालो दाल खाँदा मिक्स गरेर खाँदा राम्रो हुन्छ । कोदो फापर लगायतका परिकार खान मिल्छ ।
खान नहुने : पायल्स भएका मान्छेले माछा नखाँदा राम्रो हुन्छ । मासु खाँदा राम्रोसँग पकाएर कुकरमा सिठी हानेर एक दुई पिस खान मिल्ने अवस्था रहन्छ । त्यस्तै तारे भुटेका कुराहरू खान कम गर्नुपर्छ । मैदाबाट बनेका परिकारहरूमा मःम, चाउमिन, चाउचाउहरू खानु हुँदैन । यदि खान परेमा घरमा बनाएर खाने, जसमा मैदाको मात्रा कम, तरकारीहरू बढी राखेर प्रयोग गर्न मिल्छ । अदुवा र मरीच नखाँदा नै राम्रो हुन्छ र रातो खुर्सानी पनि नखाँदा उपयुक्त हुन्छ । रक्सी खानै हुँदैन तर कहिलेकाहीँ खाँदा माछा मासुसँग भने खान मिल्छ तर चुरोट भने खानै हुँदैन । चुरोटले गर्दा पेटको समस्या आउँछ । पेटको समस्या आएपछि चुरोटले हाम्रो नसाहरूलाई सुकाउने काम गर्छ, जस कारण मलद्वार सम्बन्धी समस्याहरू बढी आउने गर्दछ । त्यस्तै अम्बा र अनार खाँदा बढी मात्रामा कब्जियत हुन्छ । त्यस्तै आँपको सिजनमा हामीले पाएपछि धेरै खाने गर्छौँ, त्यस्तो गर्नु भएन । चिउरा खाँदा फुका चिउरा नखाने, कफी र कोल्डड्रिङ्स खानै हुँदैन । मह आवश्यकता अनुसार कहिले काहीँ खान सकिन्छ । धेरै मह पनि सेवन गर्नु हुँदैन ।
पायल्स रोग सन्चो भएपछि पनि फेरि लाग्न सक्छ ?
पायल्स सन्चो भएपछि फेरि पनि लाग्न सक्ने हुन्छ । सन्चो हुने नहुने भन्ने कुराहरू बिरामीको हातमा रहन्छ । एक चोटि राम्रो बनाइ सके पछि पनि फेरी बिरामीले लापरबाही गर्यो भने फेरि पनि पायल्स बल्झिन सक्छ । एक चोटि उपचार गरेर मैले मुख बार्नु पर्दैन, खानपानमा जे खाए पनि हुन्छ भन्ने अधिकांश व्यक्तिहरूको धारणा रहन्छ, तर त्यो राम्रो होइन । जबसम्म आफूले केयर गर्न सकिँदैन,तब सम्म कब्जियत हट्दैन । कब्जियत नहटे पछि डाक्टरले मात्र राम्रो गर्छ भन्ने हुँदैन । एक चोटि अप्रेसन गरेर अर्को चोटि सर्जरी गरेर फेरि आउँदैन भन्ने कुरा चाहिँ रहँदैन । त्यसैले सन्चो भएपछि पनि फेरि पनि पायल्स हुन सक्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सबै भन्दा ठुलो कुरा जबसम्म हामीले आफ्नो स्वभावहरू परिवर्तन गर्न सक्दैनौँ, तबसम्म डाक्टरहरूले मलद्वार सम्बन्धी समस्याहरू निको पार्न सक्दैनन् । मलद्वारको समस्या आउनु भन्दा अगाडि पहिला पेटको समस्या आएको हुन्छ । मलद्वार भनेको टुटी हो जब सम्म पेट ठिक हुँदैन, तबसम्म मलद्वार ठिक गराउन सकिँदैन । अधिकांश बिरामीहरूको सोचाई कस्तो हुन सक्छ भन्दा मलद्वारमा मासु पलाएको छ । त्यही कारणले गर्दा मलाई कब्जियत छ भन्ने धेरै को बुझाइ रहन्छ । त्यो कुराहरू सबै गलत हो । जब सम्म कब्जियत हट्दैन तब सम्म पायल्स निको बनाउन सकिँदैन । कब्जियत हटाउनको लागि हाम्रो खानपिन र जीवन शैलीहरू परिवर्तन गर्न सक्नु भयो भने फेरी पायल्सको समस्या आउँदैन ।