दसैँमा कस्तो मासु खाने ? रातो मासु खाँदा के हुन्छ ?

चितवन । दसैँ हरेकका घर–घरमा भित्रिसकेको छ । दसैँ भन्नसाथ जोकोहीले मासुलाई सम्झिन्छन्न् । खसीदेखि च्याङ्ग्रासम्मको मासु यही बेला सबैभन्दा बढी खपत हुन्छन् ।

दसैँमा धेरै मासु खाने बानी हुनसक्छ, अनि भुटेर, तारेर, पोलेर, डढाएर मासु खाने प्रचलन पनि हाम्रो समाजमा देखिन्छ ।

एकैपटक धेरै मासु खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । भुटेर, तारेर, पोलेर मासु खाएमा क्यान्सर हुन सक्ने क्यान्सर रोग विशेषज्ञहरु बताउँछन् ।

क्यान्सर रोग विशेषज्ञहरुका अनुसार रातो मासु आफैँमा क्यान्सर रोगको प्रमुख कारक मानिन्छ । चिकित्सकहरु रातो मासु सेवन गर्दा क्यान्सरको सम्भावना धेरै हुने बताउँछन् ।

‘दसैँको समयमा सन्तुलित खानपान नगर्दा स्वास्थ्य गडबडमात्रै होइन, क्यान्सरजस्ता ठूला रोगको सिकार पनि हुन सकिन्छ’, क्यान्सर रोग विशेषज्ञ डा गुरूशरण साहले भने, ‘अझ रातो मासु सेवन गर्नु भनेको त क्यान्सर रोगलाई निम्तो दिनुजस्तै हो ।’

उनका अनुसार रातो मासुको सेवनले आमाशय, आन्द्रा र प्रोस्टेटको क्यान्सर हुन्छ । रातो मासु अझ पोलेर, डढाएर खाइयो भने क्यान्सरको सम्भावना अझ बढी हुने डा साह बताउँछन् ।

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा कार्यरत डा साहले दसैँको समयमा एकैचोटि धेरै मासु सेवन नगर्न सुझाव दिएका छन् । ‘ताजा मासु पटकपटक सेवन गर्दा स्वास्थ्यलाई असर गर्दैन, तर एकैचोटि धेरै मासु खाइन्छ भने स्वास्थ्यका लागि हानिकारक हुन्छ’, उनले भने, ‘काँचो मासुलाई फ्रिजमा राखेर तीन–चार दिनसम्म खाने प्रचलन पनि छ, यस्तो मासुले पनि स्वास्थ्य खराब बनाउँछ ।’

उनका अनुसार पोलेर, साँधेर, भुटेर राखेको मासुमा क्यान्सर बनाउने त¤व हुन्छ । उनले फ्रिजमा राखेको बासी मासु सेवन नगर्न सुझाव दिए । उनले चाडबाडमा सागपात र फलफूललाई प्राथमिकता दिनुपर्ने बताए । उनले दसैँको समयमा मासुमा भन्दा पनि माछाको, सागसब्जीको, फलफूल र सलादको सेवन बढाउनुपर्ने बताए ।

उनले रातो मासुको साटो सेतो मासु खानलाई सुझाव दिए । मासुमा भन्दा माछामा जोड दिन सबैमा उनको आग्रह छ । उनले भने, ‘ताजा मासु बारम्बार खाइरहँदा राम्रो हुन्छ, एकैचोटी धेरै मासु खाँदा स्वास्थ्यलाई हानी गर्छ । राम्रोसँग पकाएर मासु खानुपर्छ ।’

चितवनका अर्का डा महेन्द्र अग्रहरीले बढी मासु खानाले स्वास्थ्यमा धेरै समस्या आउने बताए । उनले धेरै मासुको सेवनबाट ग्याष्ट्रिक हुने, पेट दुख्ने, मुटुका रोगहरु देखिन सक्ने, मधुमेह हुने सम्भावना बढी हुने बताए ।
उनले भने, ‘मासुभन्दा माछामा जोड गरौँ, एकैपटक धेरै होइन बाराम्बार थोरै मासु सेवन गर्ने बानीको विकास गरौँ ।’

उनले पछिल्लो समय सामाजिक व्यक्तित्वहरुमा थोरै तथा सन्तुलित भोजनको बानी हट्दै गएको बताए । उनले भने, ‘पाइयो भन्दैमा जति पनि खाने बानी बसेको छ, जसका कारण हृदयघातका समस्याहरु बढिरहेका छन्, क्यान्सर रोगी बढिरहेका छन्, उच्च रक्तचापका समस्याहरु दिनहुँ बढेका छन् । युरिक एसिडको समस्या उस्तै छ, यी सबै सन्तुलित खानपान नभएर नै हो ।’

भरतपुर सामुदायिक अस्पतालमा कार्यरत डा अग्रहरीले दसैँमा खानपानभन्दा पनि मनोरञ्जनका कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिए । उनले भने, ‘दाल, भात, तरकारी आगोमा पोलेर खाइँदैन, तर मासु पोलेर खाइन्छ । पोलेर खाएको मासु नै सबैभन्दा बढी हानिकारक हुन्छ ।’

उनका अनुसार दसैँ भन्नेबित्तिकै धेरै मासु खाने भन्ने मान्यतालाई सबैले तोड्न जरूरी छ । एकैपटक मासुमात्रै धेरै खाँदा बिरामी पर्नेमात्र होइन, दीर्घकालीन असर पर्ने उनी बताउँछन् ।

अत्यधिक मात्रामा चिल्लोयुक्त र मसालेदार मासु खाँदा तत्काल असर नदेखिए पनि केही दिनपछि बिस्तारै समस्या आउन सक्ने उनले बताए ।

चिकित्सकहरुका अनुसार बढी मसालेदार मासु, फ्रिजमा राखेको धेरै दिनको बासी मासु, राम्ररी नपाकेको मासु खाँदा अपच हुने, बान्ता हुने, आउँ, हैजाजस्ता समस्या देखिनेमात्रै नभएर दीर्घरोगहरु पनि निम्तिन सक्छ । मुटुरोग, युरिक एसिडलगायतका दीर्घरोगीलाई मासु अझ बढी घातक मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *