नेपालमा नयाँ सरकार : परमादेशदेखि बधाईसम्मका फरक दृश्य

काठमाडौं । नेपालको नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवा चुनिएका छन् । देउवा व्यक्तिगत रुपमा पाँचौंपटक प्रधानमन्त्री बन्दै गर्दादेखि नै कतिपय फरक दृश्यहरु देखिइरहेका छन् । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । सर्वोच्चबाटै ‘प्रधानमन्त्रीमा नियुक्ति गर्नु’ भन्ने आदेश पाउने उनी पहिलो प्रधानमन्त्री हुन् ।

त्यसपछि देउवालाई प्रधानमन्त्री नियुक्त गरिएकोसम्बन्धी पत्रमा राष्ट्रपति कार्यालयले कुनै धारा उल्लेख नगरेको विषयमा असन्तुष्टि बढ्यो ।   जसका कारण शपथ ग्रहण करिब साढे ३ घण्टा ढिलो भयो । संविधानको धारा उल्लेख नभई प्रधानमन्त्रीमा नियुक्त गरिनु गलत भएको भन्दै उनले धारा उल्लेख गर्नैपर्ने अडान लिएपछि राष्ट्रपति कार्यालयले कार्यक्रमको उद्घोषणमा त्यो ब्यहोरा उल्लेख गर्यो । तर उनलाई शपथ ग्रहण गराइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी बधाईसमेत नदिई समारोहस्थलबाट बाहिरिइन् ।

उनलाई बधाई दिने क्रममा अरु पनि केही रोचक र अर्थपूर्ण परिदृश्यहरु देखिइरहेका छन् ।

नेपालको सबैजसो राजनीतिक गतिविधिमा चासो राख्ने भारत र उसका प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेसम्म औपचारिक रुपमा देउवालाई बधाई दिएका छैनन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही घण्टामै मोदीले फोन गरेरै बधाई दिने गर्थे । ट्वीटरमै पनि उनले मेन्सन गरेर बधाई दिने चलन देखिन्थ्यो । तर भारतका तर्फबाट अहिलेसम्म राजदूत विनयमोहन क्वात्राले मात्र बधाई दिएका छन् ।

राजदूत क्वात्रा देउवा निवास बुढानिलकण्ठ पुगेर पुष्पगुच्छासहित बधाई दिएका छन् ।

भरतको सत्तारुढ भाजपाका तर्फबाट पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले बुधबार साँझ टेलिफोन गरी प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । उनले ट्वीटरमार्फत पनि ‘बधाई’ भनेका छन् । तर, प्रधानमन्त्री मोदीले भने आफैंले बधाई भन्न आनाकानी गरिरहेका छन् । यसअघि ०७४ सालमा प्रधानमन्त्री नियुक्त भएका देउवालाई समकक्षी मोदीले तत्कालै टेलिफोनमार्फत बधाई दिएका थिए ।

तीन वर्षअघि ओली प्रधानमन्त्री बन्नुपूर्व मोदीले विशेष दूतका रूपमा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई काठमाडौं पठाएका थिए । जहाँ, सम्बन्ध सुधारको विषयमा प्रशस्तै बहस भएका थिए । प्रधानमन्त्री नियुक्त हुनासाथ मोदीले ओलीलाई टेलिफोनमा र सामाजिक सञ्जालमा समेत बधाई दिएका थिए । अघिल्लो बर्ष मोदीको प्रतिनिधिका रुपमा भारतीय सुरक्षा निकाय रअका प्रमुख सामन्त गोयल विमान लिएरै नेपाल आएर ओलीसँग बालुवाटारमा भेटेर फर्केका थिए ।

भारतमा मोदीको दुई कार्यकाल (सात बर्ष) मा नेपालमा शुशील कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा पुगे । कसैलाई नछुटाइ टेलिफोन नै गरेर बधाई दिँदै आएका मोदीले यसपटक भने त्यसो गरेका छैनन् । यसले भारतीय प्रधानमन्त्री मोदी नेपालमा सत्ता फेरिएकोबारे खुशी छैनन् भन्ने अर्थ शंका जन्माएको छ ।

त्यसो त नेपालमा नयाँ सरकार गठनको सन्दर्भ चल्दै गर्दा गत वैशाख २८ गते भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमन्यम स्वामीले भनेका थिए— ‘नेपालबारे मेरो जानकारीमा भएसम्म ओली भारतको रोजाइ हुन् । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’

यसपटक प्रधानमन्त्री देउवालाई बधाई दिन अमेरिका सबैभन्दा छिट्टो भएको छ । प्रधानमन्त्री नियुक्त भएकै दिन प्रधानमन्त्री देउवालाई बधाई दिँदै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । उनले बिहीबार देउवालाई प्रत्यक्ष भेटेरै पनि बधाइ दिएका छन् । यस्तै, संयुक्त राष्ट्रसंघले पनि देउवालाई बधाइ दिएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै अमेरिकी राजदूत र्‍यान्डी बेरी। तस्बिरः बेरी/ट्वीटर

राजनीतिमा यस्तो हुन्छ– बराल
भारतका लागि नेपालका पूर्वराजदूत तथा राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल भने प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले तत्कालै बधाई नदिनुलाई ठूलो रुपमा लिन नपर्ने बताउँछन् । मकालुखबरसँग बरालले भने— ‘कुनै बेला मोदीले हौसिएर नेपालका प्रधानमन्त्रीलाई तत्कालै बधाई दिन्थे । २/४ दिनसम्म बधाई नदिनुलाई ठूलो रुपमा लिनुहुन्न । राजनीतिमा यो हुन्छ । यसले दुई देशबीचको सम्बन्धमा कुनै अर्थ राख्दैन,’ बरालले भने— ‘हुन त परराष्ट्र मन्त्रालयमार्फत नै भएपनि लिखित रुपमा बधाई पठाएपनि हुन्थ्यो हुन त । तर, पनि दिएनन् त के भयो र ? यसले देशबीचको सम्बन्धलाई ठूलो असर पार्दैन ।’

अर्को छिमेकी देश चीनले पनि देउवालाई औपचारिक रुपमा बधाई दिइसकेको छैन ।

त्यसो त यसअघि देउवासहितका ५ पूर्वप्रधानमन्त्रीहरुले विज्ञप्ति नै जारी गर्दै भारतलाई नेपालको आन्तरिक राजनीतिक प्रक्रियामा सामेल नहुन अनुरोध गरेका थिए । यसबारे बराल भन्छन्— ‘राजनीतिमा यी कुराहरु सामान्य हुन् । भारतमा हुन्छन्, नेपालमा हुन्छन् । तर, त्यसकै रिसइबीका कारण यस्तो गतिविधिहरु भने हुँदैनन् ।’ बराल थप्छन्— ‘देउवाले त्यति धेरै नै हानीनोक्सानी गरेको पनि होइन । नेताहरु कहिलेकाहीँ हौसिरहन्छन् ।’

त्यसो त भारतका प्रमुख दैनिक अखबार टाइम्स अफ इन्डिया र द इन्डियन एक्सप्रेसले सम्पादकीयमार्फत नेपालको अबको सन्दर्भमा भारत तटस्थ रहनुपर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री देउवाको भारतीय प्रधानमन्त्री मोदीसँग दोस्रो सहकार्य हो ।

अर्को छिमेकी देश चीनले पनि देउवालाई औपचारिक रुपमा बधाई दिइसकेको छैन । अघिल्लो पटकको सरकारलाई बधाई दिन दौडधुप गरेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यो समाचार तयार पार्दासम्म देउवालाई बधाई दिएको वा भेटेकोबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *