बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष भट्ट

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा अध्यक्ष भट्टले बजार बढ्दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था गर्न ‘सर्ट सेलिङ’ प्रणाली ल्याउन लागिएको बताए ।

उनले नेपालमा शेयर बजार सधैं बढिरहनुपर्छ भन्ने मान्यता रहेको भन्दै कुनै पनि देशको पुँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताए । ‘बजार जहिले पनि बढिरहनुपर्छ भन्ने मान्यता छ । तर संसारको कुनै पनि इन्डेक्स बढेको बढ्यै हुँदैन’ उनले भने ।

अध्यक्ष भट्टले बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब आउने गरेको बताए । उनले धितोपत्र बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्ने नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउने मात्र भएको बताए ।

उनका अनुसार ‘सर्ट सेलिङ’ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले पनि नाफा कमाउने अवसर पाउनेछन् ।

उनले भने, ‘कुनै लगानीकर्ताले बजार घट्ने अपेक्षा गर्‍यो भने उसले शेयर सापटी लिएर बिक्री गर्न सक्छ । पछि मूल्य घटेपछि त्यही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट उसले प्रतिफल लिन सक्छ ।’

अहिले बजार बढेपछि मात्रै लगानीकर्ताले नाफा कमाउने अवस्था रहेको भन्दै अध्यक्ष भट्टले अब बजार घट्दा र बढ्दा दुवै अवस्थामा प्रतिफल लिन सकिने व्यवस्था गर्न लागिएको बताए । ‘बजार तल गयो भने पनि रिटर्न आउँछ, बजार माथि गयो भने पनि रिटर्न आउँछ,’ उनले भने ।

उनले ‘सर्ट सेलिङ’ प्रणाली लागू भएपछि बजार बढ्नैपर्छ भन्ने लगानीकर्ताको मानसिकतामा परिवर्तन आउने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरे ।

अध्यक्ष भट्टले बजार घट्दा लगानीकर्ता समूह बनाएर दबाब दिने अवस्था पनि यही कारणले सिर्जना भएको बताए । उनले नयाँ प्रणाली लागू भएपछि बजारको उतारचढावलाई स्वाभाविक रूपमा लिन सकिने बताए ।

यसैबीच, सेबोनले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउने तयारी गरेको जनाएको छ ।

अध्यक्ष भट्टले सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम भइरहेको बताए ।

उनले नेपालको पुँजीबजार सुधारका लागि ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरिएको र आगामी आर्थिक वर्षका लागि पुँजीबजार नीति समेत सार्वजनिक गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =