यौनशोषणमा बालिकाभन्दा बालक बढी

काठमाडौं ।  सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग बढेसँगै नेपालमा बाल यौन शाेषणका घटना पनि बढेका छन् । सिविन नेपालले गरेको  अध्ययनले नेपालमा बालबालिका तथा  किशोरकिशाेरीविरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियालाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म पुग्ने गरेको देखाएको छ ।

यसरी यौन शोषणमा पर्नेमा बालिका र किशोरीभन्दा बालक तथा किशोरहरू दोब्बर बढी रहेको पाइएको छ । उक्त अध्ययनबाट अनलाइनमा नग्न फोटो, अडिओ तथा भिडिओहरू बनाएर पठाउनका लागि दबाब झेल्नेहरुमा केटीको तुलनामा केटाहरुको संख्या बढि रहेको खुलेको छ ।

यस्तै, नग्न फोटो, अडिओ तथा भिडिओहरू बनाएर पठाउन  दबाब दिने वा बाध्य बनाउनेहरुमा प्रेमी, प्रेमिका, दौतरी सबैभन्दा नजिकका साथीहरु र कतिपय अवस्थामा अपरिचित व्यक्तिहरूसमेत रहेको पाइएको छ ।

साथै केहि विदेशी मुलुकका मानिसहरुले पनि यस्ता खाले गतिविधिमा संलग्न भइरहेको सो अध्ययनले देखाएको छ ।

यौन प्रेरित सामग्रीहरू पठाउने माध्यममा प्रेमिका, प्रेमी, दौतरी र नजिकका साथीको हकमा सबैभन्दा धेरै नेटवर्किङ साइटहरू र इमेलको प्रयोग गरिएको पाइएको छ । अपरिचित र विदेशीलाई यस्ता सामग्री पठाउने माध्यमका रुपमा सामाजिक नेटवर्किङ साइटहरू, इमेल‚ अज्ञात लिंक र फोनसमेत प्रयोग भएको देखिएको छ ।

९ देखि १९ वर्ष उमेर समूहका १ हजार ७ सय १४ जना इन्टरनेट प्रयोगकर्ता बालबालिका तथा किशोर किशोरीबीच गरिएको अनुसन्धानबाट अनलाइनमा ६३ प्रतिशत पुरुष र ३४ प्रतिशत महिलालाई क्यामेराको अगाडि नग्न देखिन लगाएको अध्ययनले देखाएको छ ।

क्यामेरा अगाडि नग्न हुन भनिएका १३७ जनामध्ये ५८ जना (६२ प्रतिशत) केटा, ४७ जना (३४.३१ प्रतिशत) केटी र २ जना लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिहरू रहेको पाइएको छ । यसमा पनि आफ्नै साथी, प्रेमी, प्रेमिका‚ आफन्त‚ अपरिचित, विदेशीहरूसमेत रहेको पाइएको छ ।

१ हजार ७१४ जनामध्ये ४ सय ५७ जना अर्थात् २६.६६ प्रतिशतले अनलाइनमा अपरिचित व्यक्तिहरुलाई भेटेका छन् । अपरिचित व्यक्तिलाई अनलाइनमा भेट्नेहरूमध्ये १६३ जनालाई छुट्टै प्रत्यक्ष भेट्न भनिएकोमा १ सय ५४ जनाले ती अपरिचित व्यक्तिसँग भेटघाट गरेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै प्रत्यक्ष भेट्न जाने सबै जनाले कुनै न कुनै रुपमा यौन शोषणको अनुभव गरेको पाइएको छ ।

३ सय ४० जनाले इच्छाबिना अनलाइन यौन शोषण भोगेका छन् । यसरी अनलाइन यौन शोषण सामना गर्नेमा केटाको संख्या बढि रहेको छ । अनलाइन यौन शोषणमा परेकाहरूलाई ठुलो मात्रामा मानसिक असर परेको पाइएको छ ।

अनुसन्धानका क्रममा बालबालिका तथा किशोर किशोरीहरूले आफू मानसिक रुपमा समस्या परेको, कतिपयले पढाइमा ध्यान दिन नसकेको र मर्न मन लागेको र कतिपयले लामो समयसम्म दुखी भएको बताएका थिए ।

अनलाइन यौन शोषणमा परेका ३ सय ४० जनामध्येका ४८ जनाले यस्तो घटनापश्चात् विद्यालय नै छाडेका छन् भने विद्यालय छोडेकामध्ये १५ जनाले मात्र परामर्श सेवाको खोजी गरेका छन् । त्यस्तै ३४ जनाले आफूलाई दैनिक व्यवहारमा बाधा परेको बताएका छन् ।

यसमध्ये ९ जनाले मात्र परामर्श सेवा पाउन सफल भएका थिए । अनलाइन यौन शोषणमा परेका ३ सय ४० जनामध्ये २ सय ३३ जनाले मात्र परिवार‚ साथी वा पुलिसलाई खबर गरेका थिए ।

यसैगरी सामाजिक सञ्जाल तथा सम्पर्क ब्लक गर्ने, आएका कल तथा म्यासेजहरुलाई बेवास्ता गर्ने, सिमकार्ड परिवर्तन गर्ने र सामाजिक सञ्जालमा नयाँ अकाउन्ट खोल्ने कार्य गरेको बताएका थिए ।

अनुसन्धानका क्रममा २ सय ५३ जनाले आफू साइबर बुलिङको शिकार भएको बताएका थिए । उनीहरूमध्ये १ सय ७५ जनाले आफ्नो बाबु आमालाई उनीहरुको इन्टरनेट बानी व्यवहार थाहा भएपछि पनि साइबर बुलिङको सामना गरेको बताएका छन् ।

अध्ययनअनुसार साइबर बुलिङको घटना सबैभन्दा बढी काठमाडौं र मकवानपुरमा २७ प्रतिशत रहेको पाइएको छ ।

यसपछि गण्डकी प्रदेशको कास्की र लुम्बिनी प्रदेशको बाँकेमा १३ प्रतिशतका दरले बालबालिका तथा नवयुवाहरूमथि साइबर बुलिङ भएको पाइएको छ ।

अध्ययनअनुसार साइबर बुलिङको स्वरुपमा कमजोरीको फाइदा उठाउन खोज्ने,धम्की दिने, आफूलाई अमर्यादित लाग्ने भिडिओ पठाउन दबाब दिने, अनावश्यक फोटो, भिडिओ पठाउन लगाउने गरेको पाइएको छ ।

अध्ययनका क्रममा ६३.०१ प्रतिशत बालबालिका तथा किशोर किशोरीहरूको सामाजिक नेटवर्किङमा अकाउन्ट रहेको पाइएको छ ।

दैनिक रुपमा १ देखि २ घण्टा इन्टरनेट प्रयोग गर्ने सबैभन्दा बढी ४०.३७ प्रतिशत बालबालिका तथा किशोर किशोरी रहेको पाइएको छ भने दैनिक ६ देखि सोभन्दा बढी इन्टरनेट चलाउनेको संख्या १३ रहेको छ ।

यस अध्ययनमा सहभागी अधिकांश उत्तरदाताहरूले अनायस नै इन्टरनेटमा यौनजन्य सामग्री हेरेको अनुभव उल्लेख गरेका छन् ।

यसबाहेक अन्य कारणहरूमा यौनजन्य सामग्री हेर्ने चाहना, जिज्ञासा, साथीहरुको दबाब र यस्ता सामग्री हेर्ने लत रहेको छ । यसरी यौनजन्य सामग्री हेर्नेहरुमा बालिकाभन्दा बालकको संख्या धेरै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *