१२ हजारभन्दा बढी गीत गाएका राजु भन्छन्- अग्रज कलाकारको लगानीको ब्याज खाइरहेका छौं

काठमाडौं । लमजुङको चिसापानीमा ४२ वर्षअघि असार पन्ध्रका दिन जन्मिएका थिए‚ चर्चित लोक गायक राजु परियार । गुरुङ समुदायको आडैमा रहेको मङ्गलसिंह परियार र सन्तमाया परियारको परिवारमा जन्मिएका राजुको बाल्यकाल अभावमा बित्यो । परिवारको परम्परा र गुरुङ समुदायको संगतले उनी सानैबाट सङ्गीततर्फ तानिए ।

बाजा बजाउने पुस्तैनी र लोक गीत र संस्कृतिको सागरकै रुपमा रहेको गुरुङ समुदायसँगको सानिध्यताले उनी गीत गाउन र नाच्न खप्पिस बन्दै गए । रोदीले उनको गायनमा थप पाइन हाल्यो । रोदी, पूजाआजा र स्थानीय कार्यक्रमबाट सुरु भएको उनको साङ्गीतिक यात्रा, जिल्ला स्तरीय कार्यक्रम पश्चात् पोखरासम्म पुग्यो । पोखरामै रोकिएनन् उनका पाइला‚ बढे काठमाडौंतिर पनि । काठमाडौंमा मात्र पनि रोकिएनन्‚ अझ अघि बढे र अहिलेसम्म धेरै देशमा नेपाली लोक गीत संगीत फैलाउँदै उनी पुगिसकेका छन् ।

गीतै गाएर चिनिन्छु भन्ने अठोट गरेपछि उनी प्रतियोगिताहरूमा भाग लिन थाले । तर जाने खर्च नहुँदा आमाले पालेका कुखुरा बेचेर धेरै पटक कार्यक्रममा सहभागी भएको तीतो अनुभव छ‚ उनीसँग । काठमाडौं आएर राजुले सुन्धाराको पुकार दोहोरी साँझमा गाउन सुरु गरे । गायनकै क्रममा त्यहाँ उनले गायक बद्री पङ्गेनीलाई भेटे । २०५५ सालको अन्त्यतिर भेट भएका यी दुई हालसम्म निकट मित्रको रूपमा रहेका छन् ।

पुकारलाई राजु आफ्नो भाग्य खुल्ने ढोकाको रूपमा समेत लिन्छन् । यही क्रममा उनको पहिलो गीत ‘किसिम कोटम चरी नाचेको’ रेकर्ड भयो । राजु यस गीतका लय सङ्कलक स्वर्गीय सागर बोहरालाई सम्झिरहन्छन् । यो गीत रेकर्ड गरेको लामो समयपछि मात्रै उनले रेडियो नेपालमा स्वर परीक्षा दिए र पास गरे । लोक दोहोरीको क्षेत्रमा नाम कमाएपछि मात्रै उनले रेडियो नेपालको यात्रा तय गरेका थिए । उनलाई अहिले पनि अहिलेका गायक गायिकाले स्वर परीक्षा पास गरेको राम्रो लाग्छ ।

बद्रीले राजुलाई एक असल व्यक्ति र स्रष्टाको रूपमा लिन्छन् । उनले इमान्दार व्यक्ति सम्झिँदा राजुको अनुहार अघि आउने बताए । राजुमा रीस, राग, द्वेष, प्रतिस्पर्धा भन्ने केही पनि नभएको बद्री बताउँछन् । कसैको नराम्रो नचिताउने राजुको सफलताको पछि समेत यही व्यवहार रहेको बद्रीको भनाइ छ ।

एकसाथ जस्तै काम सुरु गरेका यी दुईमध्ये बद्रीले एल्बम् निकाल्दा समेत राजु दोहोरीमै गाइरहेका थिए । बद्रीको पहिलो एल्बम निस्किँदा सबैभन्दा खुसी राजु नै थिए । राजुमा प्रतिस्पर्धाको भावना कत्ति पनि नभएको कुराले नै उनले भगवानको साथ पाएको सोच्छन् बद्री । दुवैजनाको पहिलो मन्दिर पुकार दोहोरी साँझ नै हो ।

समाजमा जातीय विभेद रहेको र बिस्तारै विभेद केही कम हुँदै गएको राजुको बुझाइ छ । उनी गुरुङ समुदायमा हुर्किएका थिए । आजको यो स्थानमा पुग्न त्यो समुदायको महत्त्वपूर्ण योगदान रहेको उनी बताउँछन् । त्यही समुदायले नै उनलाई चिलाउनेको पात बजाउन सिकायो । रोदी घर चिनायो, गाउन सिकायो, बाँसुरी र मादललाई चिनायो । त्यसैले उनलाई आफ्नो गाउँघर र समुदायप्रति कत्ति पनि गुनासो छैन ।

राजुका लागि अग्रज कलाकार सधैं स्तुत्य छन् । ‘वहाँहरुले देखाएको बाटोमा नै हामी अघि बढिरहेका हौँ’ उनी भन्छन् । अग्रजले राई झुमा, हाकपारे, पानको पात, रेलिमाईलगायत नगाएको भए लोकलयको क्षेत्रमा यो पुस्ता र पछिल्लो पुस्ता अगाडि बढ्न सक्ने थिएनन् भन्ने उनलाई लाग्छ । उनलाई अहिले आफूहरुले अग्रजको लगानीको ब्याजमात्रै खाइरहेको भन्ने लाग्छ ।

उनले बिमाकुमारी दुरासँग सिन्दूर मेटिछौ, लडाइँ चल्योदेखि अहिले बालगायिका कमला घिमिरेसँग मस्यौरी र आयुषा गौतमसँग फुली नाकैमासम्मको यात्रा तय गरिसकेका छन् । हालसम्म उनले १२ हजार बढी गीत गाइसकेका छन् । उनले हिन्दी र मैथिली गीतसमेत गएका छन् ।

सङ्घर्षको समयमा उनले धेरै मानसिक पीडा भोगे । उनी स्वयंले एल्बम निकाल्नुपरेन । कम्पनीहरूले उनका गीतहरू लिएर एल्बम बनाए ।

यस क्रममा कहिले उनको नाम नै गीतमा नहुने त कहिले आफ्नो आवाजमा अरूको नाम सुन्नुपर्थ्यो । अधिकांश समय त उनको नाम सबैको नामपछि बल्ल समेटिन्थ्यो । यस्तो विषयले उनलाई मानसिक रूपमा नकारात्मक प्रभाव पर्थ्यो । तर उनले कहिल्यै पनि कसैलाई पनि किन भनेर प्रश्न गरेनन् । कारण उही हो कि उनको स्वभाव नै विरोध नगर्ने खालको छ ।

‘त्यस्तो गर्ने व्यक्तिलाई अहिले पनि ती गीत सुन्दा र सम्झिदा मन नमिठो हुन्छ होला नि !’ उनले भने । उक्त समय उनले एकदिनमै आधा दर्जनभन्दा बढी गीत रेकर्ड गर्ने गर्थे । अहिले पनि दिनको एउटा गीत गाउने अफर भने आइ नै रहेको उनी बताउँछन् । पछिल्लो समय भने उनी छानेर मात्रै गाउन थालेका छन् ।

उसो त बिचका केही समय भने राजु पुरै गुमनाम रहे । लोकप्रियताको शिखरमै रहेका बेला एकाएक उनी यो क्षेत्रबाटै बेपत्ता भए । कतिपय पारिवारिक र निजी कारणले उनी अनुपस्थित हुँदा नेपाली लोकगीतको क्षेत्रमा उनको अभाव भने खट्किइरह्यो । नेपाली लोकगीतका पारखी र उनका प्रशंसकहरुले उनलाई खोजी नै रहे । केही वर्षको त्यो कालो समयलाई चिर्दै उनी फेरि गीत संगीतको क्षेत्रमा फर्किएका छन् । अहिले पनि उनी गीत रेकर्डिङ् र पछिल्लो समय चर्चामा रहेको युट्युब च्यानलमा लाइभ दोहोरी गायनुमा व्यस्त छन् ।

मिर्मिरेको घाम, सुनपानीले छर्क मायालु, न्याउली, हिउँचुलीको शिर, पानी कलधारा, राम्दी पुल,लालुपाते नुँग्यो भुइँतिर, फूलमा माहुरी डुल्ने बेलामा ,अशान्तिको हट्यो बादल लगायत सयौँ चर्चित र लोकप्रिय छन् ।

असार १५ गते जन्मदिन मनाइरहेका राजुलाई हाम्रो पनि शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *