क्रोएसियासँग सतर्क स्पेन

काठमाडौं ।  पछिल्लो पटक २०१८-०१९ को नेसन्स लिगमा प्रतिस्पर्धा गर्दा क्रोएसियाले स्पेनलाई ३-२ ले हराएको थियो । त्यसअघि त्यसअघि ११ सेप्टेम्बरमा भएको खेलमा भने क्रोएसियाले स्पेनसँग ६-० को हार चाखेको थियो । त्यसपछि पहिलो पटक यी दुई टाेली युरो २०२० को नकआउट चरणमा सोमबार राति ९:४५ मा प्रतिस्पर्धा गर्दैछन् । ठुला प्रतियोगितामा राम्रो प्रदर्शनका बाबजुद गोल गर्न चुक्दा बाहिरिने गरेको तीतो यथार्थ भुलाउन यो पटक स्पेन डेनमार्कस्थित पार्केन स्टेडियममा उत्रनेछ ।

त्यसो त उत्कृष्ट खेल शैली गोलमा परिणत हुन नसक्दा समूह चरणका सुरुवाती दुई खेलमा स्पेन बराबरीमा रोकियो । समूह ईमा स्विडेनसँग गोलविहीन बनेको स्पेन पोल्यान्डसँग १-१ को बराबरीमा रोकियो । यद्यपि अन्तिम खेलमा स्पेनमा स्लोभाकियाविरुद्ध गोल गर्न नसकेको आलोचना मत्थरमात्र पारेन‚ प्रतियोगिताकै फराकिलो ५-० को जित निकाल्यो । समूह उपविजेताका रुपमा नकआउटमा स्थान बनाउन सफल रह्यो ।

क्रोएसिया पनि समूह डीमा अन्तिम खेलमा जित निकालेर नकआउट चरण पुगेको हो । लुका मोड्रिकको उत्कृष्ट गोलमा क्रोएसियाले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३-१ ले हराएको थियो । त्यसैले उनी स्पेनका लागि पनि खतरा बन्न सक्नेछन् ।

यद्यपि विंगर इभान पेरिसिक अनुपस्थित हुँदा क्रोएसियालाई स्पेनविरुद्ध दबाब पर्न सक्नेछ । अहिले पेरिसिक कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् ।

स्पेनका प्रशिक्षक लुइस इनरिकले स्पेनले स्लोभाकियाविरुद्धको खेलबाट आफ्नो लय समातेको दाबी गरे । उनले जुनसुकै टीमविरुद्ध पनि स्पेन बलियो दावेदार हुने बताए ।

विश्व उपविजेता क्रोएसिया तेस्रो पटक क्वाटरफाइनल पुग्ने लक्ष्यमा छ । त्यसो त स्पेन पछिल्ला तीन मुख्य प्रतियोगिताको क्वाटरफाइनल पुग्न सकेको छैन । इटालीसँग २०१६ मा हारेर स्पेन बाहिरिँदा पोर्चुगलसँग क्रोएसिया पराजित भएको थियो ।

तथ्य तथ्याङ्क
क्रोएसियाले २०१८-१९ को युइएफए नेसन्स लिगमा स्पेनसँग प्रतिस्पर्धा गरेको थियो । १५ नोभेम्बरमा भएको खेलमा क्रोएसिया ३-२ ले विजयी भयो । यद्यपि नेसन्स लिगअन्तर्गत नै त्यसअघि ११ सेप्टेम्बरमा भएको खेलमा भने क्रोएसियाले स्पेनसँग ६-० को हार भोगेको थियो । जुन उसको अन्तराष्ट्रिय फुटबलकै फराकिलो हार थियो ।

क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । युरोपियन च्याम्पियनसिपअन्तर्गत यसअघि २०१२ मा स्पेन र २०१६ मा क्रोएसिया विजयी भएको थियो ।

क्रोएसियाले ६ पटक युरोपियन च्याम्पियन्सिपमा सहभागी हुँदा चौथो पटक नकआउटमा स्थान बनाएको हो ।

२०१८ को विश्वकपको सुरुवातदेखि अहिलेसम्मका मुख्य प्रतियोगितामा क्रोएसियाले १० मध्ये १ खेलमा मात्र गोल गर्न सकेको छैन । प्रतियोगिताभरि उसले कुल १८ गोल गरेको छ ।

स्कटल्यान्डविरुद्ध गोल गरेसँगै लुका मोड्रिक सर्वाधिक पाको उमेर (३५ वर्ष २८६ दिन) मा गोल गर्ने खेलाडी बने । मोड्रिक नै सर्वाधिक कम उमेरमा देशका लागि गोल गर्ने खेलाडी समेत हुन् । उनले २००८ मा अस्ट्रियाविरुद्ध (२२ वर्ष ७३ दिनमा) गोल गरेका थिए ।

स्पेनले युरो २००८, विश्वकप २०१० र युरो २०१२ को उपाधि जितेपछिका मुख्य तीन प्रतियोगितामध्ये दुई प्रतियोगिता युरो २०१६ र विश्वकप २०१८ मा नकआउट चरणबाटै बाहिरियो । २०१४ को विश्वकपमा भने स्पेन समूहचरणबाटै बाहिरिएको थियो ।

यसअघि स्पेन युरोमा लगातार तीनपटक १९९४, १९९६ र २००० मा नकआउट चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *