सम्पादकहरुसँग विपक्षी गठबन्धनका नेता : कसले के भने ?

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सम्पादकहरुसँग छलफल गरेका छन् । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले सम्पादकहरुसँग छलफल गरेका हुन् ।

संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताको पक्षमा उभिनुपर्ने बताउँदै गठबन्धनका नेताहरुले सम्पादकहरुसँग छलफल गरेको हुन् । बानेश्वरको संघीय संसद् भवनको ल्होत्से हलमा भएको छलफलका क्रममा नेताहरुले ब्रिफिङ्ग गरेका थिए । सँगै, सम्पादकहरुसँगको सवाल—जवाफका क्रममा नेताहरुले निर्वाचनका लागि मात्रै गठबन्धन नबनाएकोलगायतका साझा धारणा व्यक्त गरेका थिए ।

कसले के भने ?

शेरबहादुर देउवा
संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान आज प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार प्रति र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा छ । उहाँले असंवैधानिक रुपमा दुई/दुई पटक निधि सभाको विघटन गर्नुभएको छ । अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, स्वतन्त्र न्यायालय तथा संवैधानिक निकाय लगायतका राज्य संयन्त्रहरुमाथि नियन्त्रण गर्ने, कोरोना महामारीबाट जनतालाई सुरक्षित तुल्याउनको लागि जिम्मेवारपूर्ण पाइला चाल्नुपर्नेमा पहिलो खोप लगाएका मानिसहरुका दोस्रो खोप नपाउने स्थिति सिर्जना गर्ने, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि कुनै पूर्वतयारी नगर्ने जस्ता गैरजिम्मेवार कार्य प्रधानमन्त्रीबाट भएका छन् ।

राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्यहरु भएका छन् । लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको छ । यो चुनौती पार गरेर सहज संवैधानिक र राजनीतिक प्रक्रियामा अग्रसर हुन मुलुकमा नविन संघर्ष जारी छ । यो संघर्ष र अभिभारा साझा अपनत्व र कर्तव्यको विषय हो । यसतर्फ आजको संवाद, समीक्षा र छलफलले योगदान गर्ने अपेक्षा गरेका छौँ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोबाट मध्यरातमा असंवैधानिकरुपमा गरिएको प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको छ । प्रतिनिधि सभाका बहुमत १४९ सदस्यहरुको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार हामीले प्रधानमन्त्रीका लागि दावी सहित पेश गरेको आवेदनलाई स्वेच्छाचारी किसिमले अस्वीकर गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार भएको छ । तसर्थ हामीले संवैधानिक अधिकार र लोकतन्त्रको लागि सर्वोच्च अदालतमा रिट निवेदन दिएका छौं ।

हामीहरु राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवम् प्राकृतिक विपत्तिबाट जोगाउने उद्देश्यका साथ पाँच राजनीतिक दलहरुको संयुक्त मोर्चाका साथ अग्रसर छौं । सरकारबाट भएका कतिपय संविधान र कानूनविपरीतका अलोकतान्त्रिक कार्यहरु अदालतको निर्णयबाट रोकिएका छन् । हामीले राष्ट्रिय स्वार्थ र जनताको हितलाई सर्वोपरी राख्दै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन, सामाजिक न्याय, समावेशी लोकतन्त्र, कानूनी शासन र समृद्धिलाई साझा गन्तव्यका रुपमा लिएका छौं। देशमा सिर्जना गरिएको राजनीतिक अस्थीरता तथा अन्योल समाप्त गरी नेपाली जनताको लामो र कठोर संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्ने संकल्पका साथ हामीहरु राजनीतिक र कानूनी संघर्षका विविध कार्यक्रमका साथ क्रियाशील छौं । यस सन्दर्भमा आवश्यक परेमा हामी जनपरिचालनको दिशातर्फ समेत अगाडि बढ्ने छौं ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
यो गठबन्धन अवसरवादी होइन । उहाँ (केपी शर्मा ओली) ले गर्दा देशलाई सकारात्मक दिशामा लैजान चाहने शक्ति एक ठाउँमा छन् । यसका लागि ओलीजीलाई धन्यवाद, उहाँ भिलेन हो भन्ने जनताले थाहा पाए । हाम्रो यो गठबन्धन दीर्घकालीन रहन्छ ।

यो पाँच दलीय गठबन्धनबिना छलफल बनेको होइन । यो संविधानको रक्षा गर्ने र समय अनुकूल परिमार्जन लैजाँदै जाने भन्ने हो । लोकतन्त्रको मौलिक विषय रक्षा गर्नुपर्छ । राष्ट्रियताको रक्षाको लागि हो । यो गठबन्धन प्रधानमन्त्री फेर्नको लागि मात्र सम्झौता होइन । यो लोकतन्त्र र संविधान रक्षाको लागि भएको हो ।

अहिले एमालेभित्रको संघर्ष अलिक पेचिलो बनेको अवस्था छ । माधवजीको समस्यालाई हामीले गम्भीरताको साथ लिएका छौं । यो गठबन्धन दीगो रुपमा लैजानुपर्छ । फेरि माधवजी ओलीजस्तो हुनुहुन्न । ओलीले बयलगाडा भन्दै गर्दा गणतन्त्रको झण्डा बोक्ने माधव नेपाल उस्तै–उस्तै होइन । प्रश्न उठनसाथ प्रधानमन्त्री छोड्ने प्रचण्ड र प्रधानमन्त्री छोड्नपरे कुर्सी भाँच्छु भन्ने ओली उस्तै–उस्तै होइन । हामी विदेशीसँग सुमधुर सम्बन्ध राख्न चाहान्छौं । तर अनावश्यक चलखेल स्वीकार्य छैन भनेको हो । म भए त बालुवाटार बस्न सक्दैनथेँ । उहाँको के कुरा गर्ने ? मन्त्रीलाई नछोड भन्ने ? लाजै नभएपछि के गर्ने ?

माधवकुमार नेपाल
ओलीले मलाई कारबाही नै गरेका छन् त यो कौन पुछे खेसरीका दालजस्तो हो । देश र जनताभन्दा माथि अरू कोही हुन सक्दैन । हामीले भनेका छौँ प्रतिनिधि सभा विघटन बदर हुनुपर्छ र हुन्छ पनि ।

ओलीको अहंकारले यो सबै भइरहेको छ । ओलीले गल्ती सुधारे भने ठाउँ दिन सकिन्छ, कसो शेरबहादुरजी ? मध्यरातमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधि सभा विघटन भयो । प्रधानमन्त्री ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेका छन् । १४९ सांसदको हस्ताक्षर बेवास्ता गरियो । यसलाई असंवैधानिक भन्ने कि संवैधानिक भन्ने ? तपाईंहरु पनि विचार गर्नुहोला ।

उपेन्द्र यादव
एउटै संसदलाई एउटै प्रधानमन्त्रीले २–२ पटक विघटन गर्ने विरलै हुन्छ । ओली निरंकुश र स्वेच्छाचारी शासन चलाउन चाहन्छन् । हामीले शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्चलाई भन्यौँ तर, राष्ट्रपतिले केपी ओलीलाई नै निरन्तरता दिनुभयो । यो संविधान र कानूनविपरीत भयो ।

हामीले १ सय ४९ को हस्ताक्षर बुझाएका थियौं । यस्तो अवस्थामा प्रधानमन्त्री देउवाजी हुनुपर्ने हो । तर ओलीकै निरन्तरता भयो । कि त राष्ट्रपतिले भन्नुपर्यो कि म प्रधानमन्त्रीमा ओलीबाहेक अरूलाई देख्न चाहन्नँ । नभए यस्तो असंवैधानिक काम हुनुहुँदैन भन्ने हाम्रो लाइने हो । त्यसैले यसरी लोकतन्त्र, संविधान र संसदीय अभ्यासका लागि गठबन्धनमा छौँ हामी ।

मलाई विश्वास छ, सर्वोच्चले न्यायको पक्षमा फैसला गर्नेछ । हामी कुरिरहेका छौँ । यसको अपेक्षा सकारात्मक छ । हुन न सर्वोच्चले संसद् पुनःस्थापना गरिहाल्छ । पहिलो पटक विघटन हुँदा पनि सर्वोच्च अदालतले पुनःस्थापना गरेकै हो । त्यसैले पनि हामी आशावादी छौँ र ढुक्क पनि छौँ । हामी १ सय ४६ जना अदालत गएका छौं । अदालतबाट न्यायको पक्षमा फैसला आउँछ भन्ने विश्वास छ । हामी ५ दल एक ठाउँमा छौँ । यो प्रतिगमनको विरूद्धमा छौँ ।

र, हामीले चुनावी फाइदाका लागि मात्रै गठबन्धन बनाएका होइनौँ । लोकतन्त्र र संविधानको रक्षाका लागि हामी मोर्चाबन्दी भएका हौँ । किनकी यहाँ त प्रधानमन्त्रीको मनपरी चल्यो । यसका विरुद्ध त मोर्चाबन्दी हुनैपर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *