तीन प्रदेशका नेताले देउवालाई भने– निधिलाई मनाएर आफैं सभापति बन्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अर्को कार्यकाल पनि सभापति बन्ने झोकका साथ सातै प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् । यसअन्तर्गत देउवाले सोमबार (आज) कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । आउँदो १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने तयारीस्वरुप देउवाले सम्वाद तथा छलफललाई तीव्र बनाएका हुन् । देउवाले प्रदेश नं. १, २ बागमती प्रदेशलगायतका नेताहरुसँग छलफल गरिसकेका छन् ।

आजको छलफलका क्रममा देउवालाई प्रायः नेताहरुले ‘तपाईं नै सभापति बन्नुहुन्छ’ भनेर भनेका छन् । नेता रमेश लेखककाअनुसार नेताहरुले देउवालाई विमलेन्द्र निधिलगायतका नेताहरुलाई मिलाएर पार्टीभित्र राखेमा पुनः देउवा नै सभापति बन्ने आश्वासन दिएका हुन् । नेता लेखकले भने— ‘नेताहरुले धेरैखाले सुझाव दिनुभयो । पार्टीलाई संगठित रुपमा अगाडि लगे र केही सभापतिका आकांक्षी नेताहरुलाई मिलाएर लगे तपाईं नै सभापति बन्नुस् भन्ने सुझाव दिनुभयो ।’

बैठकमा देउवाले ‘म फेरि उठ्नुपर्यो, त्यसमा तपाईंहरुले सहयोग गर्नुपर्छ’ भनी प्रस्ताव राखेको नेता एनपी साउदले बताए । त्यसमा नेताहरुले खासगरी देउवानिकट कै नेता निधिलगायतलाई पार्टीभित्रै मिलाएर राख्नुपर्ने र देउवा नै पुनः सभापति बन्नुपर्ने बताएका थिए । ‘सभापतिमा पुनः उहाँ (देउवा) नै आउनुपर्ने भन्ने धेरै नेताहरुको बुझाइ थियो,’ नेता साउदले भनेका छन् ।

देउवाले संविधान तथा लोकतन्त्रको रक्षा र पार्टीको पूर्ववत् साख फर्काउनको लागि पुनः आफैं सभापति बन्नुपर्ने अवस्था आएको ‘ब्रिफिङ्ग’ गर्दै आएका छन् । सभापतिको आकांक्षीमा देउवासँगै उनीनिकट कै नेता निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंहलगायतका नेताहरु छन् ।

यसअघि आजै निधिनिवास बानेश्वरमा तीन नेताबीच महाधिवेशनकेन्द्रित छलफल गरेका छन् । नेता निधिसँगै प्रकाशमान सिंह र शशांक कोइरालाबीचको छलफलमा देउवाको विकल्पबारे छलफल भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *