‘रातो किताबको बजेट खै ?’

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले चालु आर्थिक वर्षको बजेटको हिसाब किताब खोजेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कोइरालाले प्रदेश सभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा छुट्याएको बजेटको कुनै पनि योजना र कार्यक्रम यो आर्थिक वर्षमा नगएकोले अघिल्लो वर्ष पास गरेको बजेट कसरी खर्च भयो त्यसको हिसाब माग गरिएको बताए ।
‘रातो किताबमा भएका बजेट कहाँ गए, अघिल्लो वर्षको बजेट कहाँ खर्च भएको छ,’ कोइरालाको प्रश्न छ, ‘पुर्वाधार विकास कोषको रकम र रातो किताबमा परेको साना कार्यक्रम कता गए ?’ उनले बजेट नभएको कारण जनताको सामु मुख देखाएर जानसक्ने अवस्था नभएको बताए ।
‘४० अर्बको बजेट कहाँ गयो हामीलाई जवाफ चाहिएको छ,’ उनले भने, ‘हामी नागरिकका लागि के मुख लिएर जाने ?’ उनले आफ्नो निर्वाचन क्षेत्रमा काम गर्न नसकेकोमा उनले सदनबाटै माफी मागेका छन् । प्रदेशका कुनै पनि निर्वाचन क्षेत्रमा बजेट नगएकोमा उनले भोट दिने नागरिकसँग क्षममा मागेका हुन् ।
देशमा व्यथितीको शुरुवात भएको र त्यसको चंगुलमा प्रदेश सरकारहरु पनि परेको कोइरालाको आरोप छ । सरकारले नै सदन अवरुद्ध गरेर कहिँ नभएको जात्रा प्रदेश सभामा गरेको विषय पनि सुझाए । कोइरालाले प्रदेश सभा सदस्यहरुको जस्तो कन्तबिजोग कुनैपनि जनप्रतिनिधिको नभएको पनि सदनलाई जानकारी गराए ।








