प्रधानन्यायाधीशको चेतावनी- मानहानीको मुद्दा चलाउन नपरोस्

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासका विषयमा पटक पटक प्रश्न नउठाउन चेतावनी दिएका छन् । आइतबार वरिष्ठताका आधारमा गठन भएको संवैधानिक इजलासमा महान्यायाधीवक्ता रमेश बडालले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले पटकपटक इजलासबारे प्रश्न उठाउँदा इजसालको गरिमा के हुन्छ भन्नेबारेमा पनि ख्याल गर्नुपर्ने भन्दै यो क्रम नरोकिए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका हुन् ।
‘अब नयाँ ढंगले आएका छौँ, इजलास गठन भइसकेको छ, पटक-पटक प्रश्न नउठाउनुस्’, राणाले भने, ‘तपाईंहरू अवहेलना भोग्न तयार हो कि निवेदन फिर्ता लिएर जान तयार हो ?’
उनले इजलासप्रति विश्वास र मर्यादा कायम राख्ने कुरामा ख्याल राख्न पनि चेतावनी दिए ।
सरकार पक्षका केही वकिलहरुले संसदीय सुनुवाइमार्फत नियुक्त भएका न्यायाधीशहरूले संसद विघटनसम्बन्धी मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि प्रधानन्यायाधीश राणाले चेतावनी दिएका हुन् ।
सरकारी पक्षका केही वकिलहरुले संसदीय सुनुवाईमार्फत नियुक्त भएका न्यायाधीशहरुले संसद विघटन सम्बन्धी मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएका थिए ।
निवेदनमध्ये अधिवक्ता ज्ञानमणि न्यौपानेले आफ्नो निवेदन फिर्ता लिएका छन् । तर अधिवक्ता राजाराम घिमिरे, दिपक मिश्रलगायतको निवेदन दर्ता भएको छ ।
‘अहिले जुन निवेदन राख्नुभयो‚ यो निवेदनअनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन । यो निवेदन फिर्ता लिनुस्‚ अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु’, राणाले चेतावनी दिए ।
त्यसअघि आजको इजलास गठनबारे महान्यायाधीवक्ता बडालले आपत्ति जनाएका थिए । यसअघिकै इजलासमा सनुवाई अघि बढ्नुपर्ने उनको जिकीर थियो । तर अब वरिष्ठताका आधारमा इजलास गठन गरिसकेकाले त्यसमा बारम्बार प्रश्न उठाउन नहुने र यसले न्यायालय र इजलासको प्रतिष्ठा के हुन्छ भन्ने पनि ख्याल गर्नुपर्ने राणाको भनाइ छ ।








