नेपाल बहुल राष्ट्रिय राज्य नै हाे : उपप्रधानमन्त्री महतो

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेता एवम् नवनियुक्त उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल अहिले पनि बहुल राष्ट्रिय राज्य नै भएको बताएका छन् । शनिवार (आज) सञ्चारकर्मीहरुसँगको सवालजवाफको क्रममा मन्त्री महतोले नेपाल विविधताले भरिएको देश भएको र त्यही नै बहुल राष्ट्रिय राज्य भएको दाबी गरेका हुन् ।

नेपालमा अझै पनि एकल जातीय राज्य संचालन भइरहेकाले त्यसलाई बहुलतामा लैजानुपर्ने  र त्यसकै लागि आफूहरुले प्रयास गरिरहेको उनकाे दाबी छ । ‘नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तीस जातको फूलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले नेपाल बहुल राष्ट्रिय राज्य हो,’ मन्त्री महताेले भने— ‘नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यहाँ त्यो अनुसारको नियम, कानून, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेशका जनताको हुनुपर्छ । विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ ।’

बहुलता भनेको सबैकाे भएकाे र राज्य शासनमा सबैकाे प्रतिनिधित्व र पहिचान हुनुपर्ने र नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहने उनकाे भनाइ छ ।

शुक्रवार पदभार ग्रहण गर्दै महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागि पर्ने बताएका थिए । महताेकाे भनाइकाे बिराेध गर्दै शनिबार काठमाडाैंमा विद्यार्थीले विराेध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *