यो वर्षको मनसुन खतरायुक्त, पूर्वतयारी थालिहालौं

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने भएकाले बाढी तथा पहिरोको जोखिम बढेको हो ।

दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार बाढी, पहिरो तथा रोगब्याधिले यो वर्ष धेरैलाई असर गर्न सक्छ ।

अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपद्‌को घटना कहालीलाग्दो हुनसक्ने उनको भनाई छ । ‘पोहोरभन्दा यसपाली झन् गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नुपर्‍यो,’ उनले भने, ‘यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानी पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना पनि बढ्ने देखेका छौं ।’

यो पनि : बर्खा नलाग्दै बस्तीमा पस्यो बाढी [भिडियोसहित]

पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपद्‌बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । ‘हरेक व्यक्ति, समुदायको आ-आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका बस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय सुरु गर्नुपर्छ । सर-सामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी सुरु गरौं’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *