ओलीलाई विश्वप्रकाशको जवाफ- ‘समस्या कालो कोटमा होइन, कालो सोचमा छ’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । ओलीले सर्वोच्च अदालतमा सुनुवाई जारी रहेका बेला बहसमा उत्रेका अधिवक्ताहरुमाथि आक्रोश पोखेपछि विपक्षी दलका प्रवक्ता शर्माले यसको जवाफ फर्काएका हुन् ।

सोमबार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति आक्रोश पोखेका थिए । ‘वकिलहरूले न्यायाधीश तय गर्ने अब ?’ ओलीले प्रश्न गर्दै भनेका थिए, ‘कस्तो न्यायिक सिस्टम हामी तय गर्दैछौं ? कालो कोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ ।’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको जवाफ फर्काउँदै प्रवक्ता शर्माले समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू, व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ ।’

प्रधानमन्त्रीप्रति लक्षित उनको ट्विटमा अझै पदको गरिमा खस्काउने खालको अभिव्यक्ति ओलीले रोक्नुपर्ने सुझावसमेत शर्माले दिएका छन्। ‘अरु बोले अराजक अभिव्यक्ति, आफु बोले अभिव्यक्ति स्वतन्त्रता? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान? सम्माननीय प्रधानमन्त्रीज्यु, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ,देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =