सत्तारुढ एमालेलाई फापेन उपनिर्वाचन

काठमाडौं । राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तारुढ एमालेलाई ‘झड्का’ लागेको छ । सोमबार (आज) लुम्बिनी प्रदेशमा भएको उपनिर्वाचनबाट विपक्षी गठबन्धनका उम्मेदवार बनेका कांग्रेस नेता दृघनारायण पाण्डे विजयी भए । उनले ४ हजार १ सय ४० मतभार ल्याउँदा उनका प्रतिद्वन्द्वी अर्थात् सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले ३ हजार ५ सय ९४ मात्रै प्राप्त गरे ।

यसअघि, गत जेठ ६ गते बागमती प्रदेशमा भएको उप निर्वाचनमा पनि सत्तारुढ एमालेका उम्मेदवार रामबहादुर थापा पराजित भएका थिए । थापालाई विपक्षी गठबन्धनका उम्मेदवार बनेका संघीयता विज्ञ डा. खिमलाल देवकोटाले हराएका थिए ।

दृगनारायण पाण्डे राष्ट्रिय सभा सदस्यमा निर्वाचित
बादललाई हराउँदै देवकोटा विजयी

एमाले समेट्न नसक्दाको परिणाम
लामो समयदेखि विवाद र बहसमा अल्झेको एमालेले आन्तरिक व्यवस्थापन गर्न नसक्दा पराजय ब्यहोर्नुपरेको छ । एमालेभित्रकै नेपाल—खनाल पक्षले एमाले उम्मेदवारलाई मतदान गरेनन् । तर बाग्मतीमा विजयी देवकोटा नेता नेपाल पक्षका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल—खनाल पक्षको टकराव बढ्दै जाँदा पार्टी फुटको औपचारिक घोषणा गर्न मात्र बाँकी छ ।

वरिष्ठ नेताद्वय खनाल—नेपाल चिढ्याउँदा ओलीलाई झनै घाटा लागेको छ । खनाल—नेपाल पक्षले समातान्तर समिति बनाउँदै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन् । यसले पनि ओली कमजोर भएका हुन् । यसको पहिलो नतिजा देखिएको थियो कर्णालीको प्रदेश सभामा । नेपाल—खनाल पक्षका सांसदले ‘फ्लोर क्रस’ नै गरिदिएपछि एमालेको सरकार बन्ने सम्भावना टरेको थियो र माओवादी नेतृत्वको सरकार निरन्तर रहन सफल भएको थियो ।

यता राष्ट्रिय राजनीतिमा कायम भएको गठबन्धन प्रदेश तहमा पनि कायमै रहँदा ओली एक्लिँदै गएका हुन् । पाँच महिनाको अवधिमा २ पटक प्रतिनिधि सभासमेत भङ्ग गरेपछि उनीविरुद्धको गठबन्धन अझ बलियो बनेको छ । वरिष्ठ नेता नेपाल र खनालसहितका नेतालाई कारबाही गरेपछि झन् उत्कर्षमा पुगेको एमालेको बिबादको परिणाम सत्तारुढ एमालेले सोमबारको चुनावमा पनि पराजय ब्यहोर्नुपर्यो । केन्द्रमै गन्जागोल भएको राजनीतिक छाल प्रदेश, स्थानीय तहसम्मै पुग्यो ।

खासगरी गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरेपछि ओलीविरुद्ध विपक्षी गठबन्धन झनै आक्रामक देखिएका छन् । संसद विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *