प्रहरीले रक्सी चोरेपछि…

जनकपुरधाम । मदिरा चोरीको आरोप लागेका नेपाल प्रहरीका असईसहित तीन प्रहरी निलम्बनमा परेका छन् ।
निलम्बनमा पर्नेहरुमा इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी असई नबल किशोर ठाकुर‚ प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेका छन् । निलम्बित प्रहरीहरुमाथि गस्तीको क्रममा मदिरा पसलबाट मदिरा चोरी गरेको आरोप लागेको छ ।
जेठ ९ मा राति १० बजेतिर लहान–२३ गढीया चोकमा पूजा मदिरा पसलमा मदिरा सेवन गरी होहल्ला गरिरहेकालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा पसल सञ्चालक भागेका थिए ।
सञ्चालक भागेपछि पसल खाली रहेको अवस्थामा पसलबाट मदिरा चोरी गरेर लगेको आरोप ती प्रहरीहरुमाथी छ । प्रहरीले मदिरा चोरी गरिरहेको भिडिओ सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपछि सिंगो प्रहरी वृतकै आलोचना भएकाले उनीहरूलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरी नियमावली २०७१ बमोजिम सोमबारकै मितिबाट उनीहरूलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी शालिग्राम शर्माले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।








