कांग्रेस भन्छ- सुदूरपश्चिममा सत्तापक्ष सरकार बचाउनमै केन्द्रित

धनगढी । सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकार पूर्ण रुपमा असफल भएको बताएको छ । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले जनचाहनाअनुसार काम गर्न नसकेर प्रदेश सरकार पूर्ण रुपमा असफल भएको जनाएको हो ।
‘अहिले प्रदेश सरकारले कोरोना महामारीको बहानामा काम नै गरेको छैन,’ संसदीय दलका नेता डा. रणबहादुर रावलले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि पनि काम गर्न सकेन । नाकामा होल्डिङ सेन्टर बनाउनेदेखि राहत प्याकेजसम्मका कार्यक्रम ल्याउनुपर्थ्यो, त्यो पनि भएको छैन ।’
जनचाहनाअनुसार काम गर्न नसकिरहेका बेला सत्ताधारी दल सरकार बचाउनका लागि लागिरहेको उनको भनाइ छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लाग्नुपर्नेमा सत्तापक्ष मन्त्री फिर्ता गर्ने र बनाउने खेलमा मात्रै केन्द्रित भएको उनको आरोप छ । सत्ता पक्षलाई सरकार बनाउने अधिकार भएपनि अवस्था हेरेर अघि बढ्नुपर्ने बेला भएको डा. रावलले बताए ।
प्रदेशले सरकारले यो योजना राम्रो गर्यो भन्ने उदाहरण नभएको उनले बताए । आर्थिक वर्ष सकिनै लाग्दा पनि प्रदेश सरकारले ३३/३४ प्रतिशतमात्रै बजेट खर्च गर्न सकेको भन्दै उनले भने, ‘सरकार बजेट कार्यान्वयनमा कमजोर भइसक्यो ।’
सरकारले आसेपासेलाई बजेट वितरण गरिरहेको र अहिले पनि अख्तियारी दिने कार्य भइरहेको उनको आरोप छ ।
अहिले पनि विभिन्न शीर्षकमा २६ करोड बढी बजेट मनोमानी तरिकाले खर्च भइरहेको भन्ने सुन्नमा आएको भन्दै उनले भने, ‘यसलाई हामी रोक्ने पक्षमा छौं । भोलि ज्ञापनपत्र पनि बुझाउँदैछौं ।’ उनले आगामी आर्थिक वर्षको बजेट पनि सन्तुलित, समयानुकुल, र जनतामुखी बनाउन दबाब दिइने बताए ।
सर्वदलीय समिति बनाउन माग
प्रदेश सरकारमार्फत सञ्चालन भएका योजना अनुगमनका लागि सर्वदलीय समिति बनाउन कांग्रेस संसदीय दलले माग गरेको छ ।
‘प्रदेश सरकारअन्तर्गत सञ्चालित योजना कार्यान्वयनको अवस्था के भइरहेको छ भन्ने विषयमा कुनै चासो नराखिएको र अनियमितता भएको गुनासो आइरहेकाले यस्ता योजना अनुगमनका लागि सर्वदलीय समिति बनाउनुपर्छ,’ उनले भने । निष्पक्ष अनुगमन भए मात्रै योजना निर्माणमा कुनै अनियमिता र भ्रष्टाचार हुन नपाउने भन्दै उनले प्रदेश सरकारद्वारा सञ्चालित योजनाहरुमा आर्थिक अनियमिता हुने गरेको आरोप लगाए ।
बजेट चुनावमुखी
बैठकले संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेट चुनावमुखी भएको बताएको छ ।
सरकारले बजेट चुनावलाई केन्द्रित गर्दै आफ्ना कार्यकर्ता र आसेपासेलाई वितरण गर्नेगरी आएको संसदीय दलका नेता रावलको भनाइ छ । संघले चुनावमुखी बजेट ल्याएको अवस्थामा प्रदेशले पनि त्यस्तै बजेट नल्याओस् भन्नेमा आफूहरू सचेत रहेको उनको भनाइ छ ।
‘अब प्रदेशमा पनि विधि र पद्धतिअनुसार कोरोना रोकथामलाई विशेष ध्यान दिँदै अन्य विषय राखेर बजेट ल्याउनुपर्ने अहिलेको आवश्यकता हो,’ उनले भने, ‘यस्ता विषयमा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउनेतर्फ हामी अग्रसर भएका छौं । कुनैपनि हालतमा जनतामुखी लोकप्रिय बजेट ल्याइनुपर्छ ।’








