माओवादी केन्द्रले राजनीतिक र कानूनी उपचार खोज्ने

नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेकाे स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकार पक्षसँग मिलेर संयुक्त संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन र कोरोना कहरमा गरिएको चुनाव घोषणा असंवैधानिक र निरंकुश भएको बैठकले ठहर गरेको उनले बताए ।
गत पुस ५ गतेजस्तै प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गरेको र नयाँ सरकार बन्ने अवस्था रहेकै अवस्थामा राष्ट्रपतिले सरकार बन्ने अवस्था नरहेकाे भन्न नमिल्ने जिकिर गर्दै त्यसकाे कानूनी र राजनीतिक उपचार खाेज्ने निर्णय गरिएकाे उनले बताए ।
यसका लागि अग्रगमनका पक्षधरसँग एकताबद्ध भई राजनीतिक र कानूनी संघर्ष अगाडि बढाइने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
यसअघि शनिबार बिहान बसेकाे कांग्रेस पदाधिकारी बैठकले पनि यसबिरुद्ध कानूनी र राजनीतिक उपचार खाेज्ने निर्णय गरेकाे थियाे ।








