संविधान ओली र विद्याको खेलौना होइन : डा. लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रतिनिधि सभा विघटन गर्ने कार्य असंवैधानिक भएको बताएका छन् । प्रधानमनत्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीबाट मध्यरातमा भएको संसद भंगको कदम असंवैधानिक भएको उनले टिप्पणी गरे ।
अध्यक्ष लोहनीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेपालको संविधान प्रधानमन्त्री र राष्ट्रपपतिको लागि खेलौना जस्तै भएको बताए । ‘राष्ट्रपपतिले संविधानको धारा ७४ को उपधारा ४ लाई नजरअन्दाज गर्दै ओली सरकारले पेश गरेको प्रस्तालाई स्वीकार गरेर संविधानमा स्पष्ट लेखिएको सरकार निर्माण प्रक्रियालाई भत्काइयो,’ उनले भने, ‘यो स्पष्ट रुपमा असंवैधानिक कदम हो ।’
कोभिड महामारीका बेला जनता घरबाट निस्कन नसक्ने अवस्थालाई सत्ता स्वार्थको पक्षमा उपयोग गरेको उनको आरोप छ । ‘अब एउटा झुट छोप्न अरु अनेकौं झुट र अन्यायको श्रृङखला सुरु भएको छ,’ उनले भने, ‘यो संविधानको प्रजातान्त्रिक अस्तित्व समाप्त पार्ने प्रयास निन्दनीय छ ।’ संविधानभित्रको राजसंस्थाबारेको पुर्वाग्रहलाई दलहरुले अब पुनर्विचार गर्नु आवश्यक भइसकेको अध्यक्ष लोहनीको भनाई छ ।









