गगन भन्छन्- प्रधानमन्त्री र राष्ट्रपति दुबैलाई विदा गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले अब प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पदबाट विदा गर्नुपर्ने बताएका छन् ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेको प्रति टिप्पणी गर्दै थापाले दलका नेताहरुलाई अब गनगन गरेर नबस्न, दिएको समयसिमाभित्रै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई र महाअभियोग लगाएर राष्ट्रपति भण्डारीलाई विदा गर्न आग्रह गरेका हुन् ।
‘विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो’ गगनले भनेका छन् ‘नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो। गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।’
यसअघि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तथा प्रवक्ता विश्वप्रकाश शर्माले पनि राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेका छन् ।








