पशुपतिमा दाउराको कमी नहोस् : वनमन्त्री आले

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा शव जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको निकाय नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक धनञ्जय पौडेललाई पशुपतिस्थित आर्यघाट क्षेत्रमा शव दाहका लागि आवश्यक पर्ने दाउरा कमी हुन नदिन निर्देशन दिएका हुन् । कोरोना सङ्क्रमणका कारण दैनिक मृतकको सङ्ख्या बढिरहेको छ ।

सो क्रममा नेपाल वन निगम लिमिटेडका महाप्रबन्धक पौडेलले शव जलाउनका लागि आफूहरूसँग कम्तिमा पनि एक महिनाका लागि दाउरा पुग्ने जानकारी दिए । उनले भने, ‘रौतहट, बारा जिल्लाबाट दाउरा ढुवानी भएर आउँदैछ, उक्त दाउरा आइपुगे कम्तिमा पनि एक महिनाका लागि शव जलाउन पुग्ने छ ।’

अन्य निजी क्षेत्रसँगको सहकार्यमा दाउरा ल्याउनका लागि पहल भइरहेको महाप्रबन्धक पौडेलले जानकारी दिए । पछिल्लो दुई/तीन दिनयता पशुपतिस्थित आर्यघाटमा कोरोनाका कारण मृत्यु भएका दिनमा कम्तिमा पनि १०० देखि १०४ सम्म शव आउने गरेका छन् ।

पशुपति क्षेत्रस्थित नेपाल वन निगम लिमिटेडको डिपो कार्यालयका इञ्चार्ज द्रोण पोखरेलले कोरोनाबाट मृत्यु भएकाको एक शव जलाउन कम्तिमा चार क्विन्टल दाउरा लाग्ने गरेको जानकारी दिए । उनले भने, ‘कोभिड नभएकाको शव जलाउन दुई क्विन्टल जति दाउरा आवश्यक पर्ने गरेकोमा अहिले कोभिडबाट मृत्यु भएकाको शव जलाउन दोब्बर दाउरा आवश्यक पर्छ ।’

उनका अनुसार पछिल्लो दुई हप्ता यता आर्यघाटमा शव जलाउन का लागि दैनिक २५ हजार केजी दाउराको माग भइरहेको छ । नेपाल वन निगम लिमिटेडले ७७ वटै जिल्लाका डिभिजनल वन कार्यालयसँग दाउराका लागि आवश्यक पहल गरीरहेको बताइएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =