जीवन एक, अनुभव अनेक !

सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा कोभिड-१९ देखा परी विश्वमा आगो फैलिएकोझैँ फैलिएको कोरोना भाइरस डर लाग्दो नै छ । हरेक देशमा यसका बिरामी बढिरहेका छन् । बीचमा केही विश्राम लिएको यो भाइरस फेरि सन् २०२१ म नयाँ प्रजातिको रुपमा देखा परेको छ । पहिलाको भन्दा बढी संक्रामक रुपमा फैलिँदै आएको छ भनि विज्ञहरुले सचेत गराइरहेका छन् । संसारभरी नै यो चुनौतीको विषय बनेको छ ।
भारतमा यसले आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ र अहिले नेपालमा त्राही–त्राही बनाएको छ । यसको शिकार म पनि भएँ । मैले स्वास्थ्यलाई पहिलो स्थानमा राख्थेँ र निकै सावधानी पनि अपनाउँथे । तर, कता चुकेँ र कसरी कताबाट सर्यो यकिन गर्न सकेकी छैन । विसं २०७८ वैशाख २ गते बिहीबारको दिन मैले कोभिड–१९ विरुद्धको पहिलो खोप टेकु अस्पतालमा गएर लगाएकी पनि थिएँ । बाहिर कमै निस्कन्थेँ । सकेको सावधानी अपनाएकै थिएँ । मलाई शंका लागेको जब म पिरियडमा हुन्छ त्यति बेला कमजोर महसुस गर्दछु, त्यति बेला बाहिर सामान किन्न निस्केको थिएँ, सायद त्यतिबेला कतैबाट सरेको हुनुपर्छ । जसरी सरे पनि आखिर सरिनैहाल्यो । अब मसँग कोरोनालाई जित्नुभन्दा केही विकल्प थिएन ।
वैशाख २० गते सोमबार दिउँसो शरीर केही गरुङ्गो भयो । खाजा बनाएर श्रीमान् र छोरालाई दिइ आफूले पनि खाएँ र सुत्ने कोठामा आएँ । शरीर केही तातेको अनुभव भयो र शरीर कम्मरदेखि तल पिँडौलासम्म दुख्न शुरु भयो । हतार–हतारमा ज्वरो नापेँ, शरीरको तापक्रम ९९.९ फरेन्हाइट थियो । श्रीमान्लाई सुनाएँ, तब उहाँले तिमीलाई कोरोना भाइरसको संक्रमण भएको हुनसक्छ भन्नु’भो । मलाई पत्यार लागेन । मलाई लाग्यो— २/३ दिन उहाँ र बाबु अबेरसम्म क्रिकेट हेरेर बस्ने अनि हल्लाले गर्दा मेरो निद्रा खल्बलिरहेको र अनलाइन क्लासको लागि बिहान सबेर उठ्नुपर्ने । त्यसैले अनिद्राले शरीर शिथिल भएर ज्वरो आएको हो कि भन्ने लाग्यो । उहाँले होइन, तिम्रो लक्षण कोभिड—१९ को जस्तो देखिएको छ भनी मलाई घरमा नै आइसोलेट भएर बस्न आग्रह गरी बन्दोबस्त मिलाउनुभयो । म ज्वरो आएकै पलबाट परिवारबाट अलग बसेँ । ज्वरो आएपछि पारासिटामोल ५०० एमजी खाएँ । ज्वरो निकै कम मात्र घट्यो । बेलुका खाना अरु बेलाजस्तो राम्रोसँग नै खाएँ । अब भान्सा उहाँ र बाबुको जिम्मामा थियो । बाबु र उहाँको आँखामा पीडा झल्केको थियो । शरीर दुखाइ ममा थियो । तर, धेरै पीडा परिवारलाई भएको थियो । मलाई केही हुँदैन, म बलियो छु अब सुतौँ केही गाह्रो भए कल गर्छु भन्दै बेडमा पल्टिएँ । तर, निद्रा लागेन । ज्वरो झन् बढेर १०१ फरेन्हाइट भएको थियो । १२ बजे फेरि दबाइ खाएँ । तर, ज्वरो कम भएन र टाउको पनि दुखेको थियो । शरीर धेरै नै तातेको थियो । एकछिनमा १०१.८ फरेन्हाइट ज्वरो पुग्यो । उठेर पानीपट्टि लगाएँ । ३ बजेपछि निदाएछु । बिहान ५ः३० तिर उहाँले बोलाउनु’भो । कस्तो भयो ? मलाई ज्वरो निको नै भएन । उहाँ आत्तिनु’भो । आफन्त डाक्टर तथा मेडिकल व्यक्तिलाई फोन गरी जानकारी गराएर अब के गर्ने भनी सोधपुछ गर्नु’भो र उहाँहरूकै सल्लाहमा पारासिटामोल १००० एमजी खाएँ । तत्पश्चात् ललितपुरको अल्का अस्पतालमा फोन गरेर पीसीआर टेस्ट्को लागि स्वाब संकलन गर्न घरमै बोलाउनु’भो । ११ बजे एक जना भाइ आएर परिवारकै स्वाब लिएर जानु’भो । रिपोर्ट राति ११ बजेतिर आयो । जहाँ, मेरो पोजेटिभ र अरुको नेगेटिभ देखियो । मनमा खुसी लाग्यो, आफ्नो पोजेटिभ आएर केही थिएन । कमसेकम श्रीमान् र बाबुको रिपोर्ट नेगेटिभ आएको थियो ।
खाना रुचेकै थियो । शरीर केही दुखेको नै थियो । दबाइ खाएको केही घण्टा नहुँदै फेरि १०१.९ फरेन्हाइट ज्वरो आयो । दबाइ खाएँ पारासिटामोल १००० एमजी । मनमा शंका त लागि नै रहेको थियो, कतै छिटो टेस्ट् गरेकाले उहाँ र छोराको नेगेटिभ त आएको होइन भनेर । ४ दिनको दिन ज्वरो पूरै घट्यो । दुई पटक १००० एमजी खाएपछि । अरु पटक भने ५०० एमजी नै खाएँ डाक्टरको सल्लाहअनुसार ।
४औं दिनको दिउँसोबाट रुघा लाग्यो । घाँटी खस—खस गर्यो र खोकी पनि लाग्यो । डाक्टरकै सल्लाहमा दबाइ खाएँ । अरु सामान्य नै रह्यो । लागेको थियो— मीड् सिम्स्टम्प्स हो । अब केही हुँदैन भनेर, तर ५औं दिनमा गन्ध र स्वाद दुवै थाहा नपाउने भएँ । यो चाहिँ मलाई केही विशेष लाग्यो । अचम्म, हिजोसम्मको स्वाद र गन्ध बिहान एक्कासि गायब भएको थियो । यो मेरो जीवनको ठूलो अनुभव थियो । बाँच्नुपर्छ जीवनमा अझ धेरै अनुभव बटुल्नुछ । त्यही दिन पखाला पनि शुरु भयो र शरीरमा धेरै थकान शुरु भयो । त्यो दिन उठ्न पनि गाह्रो भएको थियो । खाना पनि अरुबेलाजस्ता रुचेन । अब केही डर लाग्न थाल्यो । उहाँ निकै आत्तिनुहुन्थ्यो । केही दिनअगाडि देवरबाबुलाई पनि कोभिड भएको थियो । हामी एक महिना अघिदेखि नै भेटेका थिएनौँ । उहाँलाई केही निको भएको थियो । उहाँले आत्तिनु पर्दैन भन्दै हुनुहुन्थ्यो । पोखरा कान्छी सासूलाई पनि भएको छ उहाँलाई अक्सिजन कम भएर नभएकोले अस्पतालमा भर्ना गर्नुपरेको छ । यहाँबाट पनि पुष्टि हुन्छ कोरोना भाइरस व्यापक रुपमा फैलिएको छ । हामी एउटै परिवारका सदस्यहरुलाई विभिन्न ठाउँबाट सरेको छ । मेरो पहिलो दिनदेखि नै अक्सिजनको मात्रा ९२—९३ सम्म हुन्थ्यो । मलाई श्वास फेर्न केही गाह्रो भएको थिएन । मैले अनुलोम बिलोम पनि गर्थे । प्रोन पजिसनमा बसेँ । शरीरमा तागत कम हुँदै थियो । खाना सम्झे बान्ता होलाजस्तो हुन्थ्यो । उहाँलाई डराउनु पर्दैन मलाई ठिक हुन्छ भन्थेँ । छोराको अनुहार टाढैबाट पनि हेर्न सक्दैन्थेँ । उहाँको समय धेरै भान्सामा हुन्थ्यो । के पकाएर खुवाए राम्रो हुन्छ भनी परिवारका अरु सदस्य तथा आफन्तसँग सल्लाह लिएर पकाउनुहुन्थ्यो । आफूलाई भने खाना सम्झे वाक्-वाक् हुन्थ्यो । केही आफन्तहरुले थाहा पाएर फोन गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो- ‘यस्तो बेला जे पनि हुनसक्छ, आफ्नो ख्याल राख्नु ।’
के पकाएर खुवाए राम्रो हुन्छ भनी परिवारका अरु सदस्य तथा आफन्तसँग सल्लाह लिएर पकाउनुहुन्थ्यो । आफूलाई भने खाना सम्झे वाक्-वाक् हुन्थ्यो । केही आफन्तहरुले थाहा पाएर फोन गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो- ‘यस्तो बेला जे पनि हुनसक्छ, आफ्नो ख्याल राख्नु ।’
त्यसपछि मैले फोन अफ गरेर राखेँ । त्यतिबेला चाहिँ मलाई कतै म मर्ने त होइन भन्ने भान हुन्थ्यो । तर, म आफूलाई बलियो बनाउने कोसिस गर्थेँ । फेसबूक हेर्न छाडेकी थिएँ । त्यसपछि मेरो दैनिकी बदलियो । मनमा आउने नकारात्मक सोच हटाउन यूट्युबमा रमाइला कार्यक्रम हेरेँ । आफूलाई सकेसम्म सकारात्मक राख्न कोसिस गरेँ । स्कूलका बच्चाहरुले पठाएका मेसेन्जर टेक्ट्स पढेँ । साथीहरु, सहकर्मी साथीहरु, आफूलाई बच्चामा पढाउनु भएका शिक्षकहरुले हौसला दिएर स्वास्थको कामना गरेर पठाएको सन्देश पढेँ । एक पटक मात्र टेलिभिजनमा समाचार सुनेँ । नकारात्मक समाचारलाई त्यति ध्यान दिइनँ । राति निद्रा नपर्दा मनपर्ने गीतसंगीत सुनेँ । कति बेला निदाएँ, थाहा नै हँदैन्थ्यो । उहाँले यदि अक्सिजनको मात्रा शरीरमा कम भए कहाँ लान सकिन्छ भनी खोजी र सरसल्लाह गर्न थाल्नु’भो । आफन्त डाक्टरहरु विभिन्न अस्पतालमा यहि कोभिड—१९ को बिरामीहरुको सेवामा हुनुहुन्छ । उहाँहरुले बेला—बेलाम फोन गरेर आत्तिनु पर्दैन केही गाह्रो भए हामी छौँ भनी हौसला दिनुहुन्थ्यो । म शारीरिक रुपमा कमजोर भए पनि मानसिक रुपले कमजोर भइनँ । ७औं दिनमा अक्सिजनको मात्रा ९५ भयो । ८ दिनसम्म यसरी नै बित्यो । यो बिचमा दबाइ खाएर रुघाखोकी तथा पखाला पनि सन्चो भयो ।
९औं दिनमा केही हलुका भयो । यो बिचमा बाबुले पनि केही सकारात्मक समाचार फेसबूकका पढेर अर्थ्याउन थालेको थियो । आज यति जना निको भए सबैलाई गाह्रो हुँदैन रहेछ भन्थ्यो । मैले खाना खान नमान्दा खानुपर्छ मामु छिटो सन्चो हुनुपर्छ भन्थ्यो । मनमनै सोच्दथेँ, बाबु केही परिपक्व भएछ । घरको काममा आफ्नो बाबालाई सघाउँथ्यो र बेला—बेलामा यो यसरी गर्नुपर्छ मामुले यसरी गर्नुहुन्थ्यो भन्थ्यो । मैले कलम—कापी समाएर केही लेख्न थालेँ भने के गर्नुभएको आराम गर्नु भन्थ्यो । घरमा सधैं मास्क लगाएर बस्थ्यो । छोराले झर्को नमानिकन काम गरेको देख्दा खुसी लाग्यो ।
१०औं दिनमा शरीरमा केही फूर्ति आयो । अब कोरोना भाइरसलाई जितेँ भन्ने लाग्यो । बाबु र श्रीमान्को अनुहारमा पनि मुस्कान देखेँ । म बिरामी हुँदा उहाँ धेरै नै आत्तिनुभयो । तर म आफू शारीरिक हिसाबले कमजोर भए पनि आत्मबल र मानसिक हिसाबले कमजोरपन देखाइनँ । जसले गर्दा उहाँको मानसिक पीडा कम हुन्थ्यो । मलाई थाहा छ आफ्नो, मान्छे बिरामी हुँदा कति पीडा हुन्छ भन्ने कुरा ।
११औं दिनमा फेसबूक खोलेर हेरेँ । आफूले चिनेजानेका केहीको मृत्यु भएछ । समाचार पढेर धेरै नै दुःख लाग्यो । देशमा अक्सिजन सिलिन्डरको हाहाकार भएछ र अस्पतालमा बिरामीलाई बेडको पनि कमी भएछ । धेरै जनाको उपचार नपाएर मृत्यु भयो भन्ने समाचारले झनै दुखी बनायो । देशको अवस्थासँग दिक्दार लाग्यो । जनताको अभिभावक सरकार पार्टी बनाउने र फुटाउने अनि विश्वासको मतको लागि व्यस्त रहेछ । यो बिचमा त दुइतिहाईको सरकारबाट हटेर फेरि अल्पमतबाटै सरकार बनेछ । विचरा ! हामी जनता साँढेको जुधाइमा बाच्छोजस्तो भएका रहेछौँ । उफ ! कस्तो सरकार । जनता उपचारको लागि बेड र अक्सिजन नपाएर मरिरहेका छ्न । तर, जनताको अभिभावक सरकार ताण्डव नाचमा व्यस्त । जेसुकै होस् यो कुरा त्यति चासोको विषय भएन हामीलाई । अहिले महामारीको समय छ यसबाट बच्नु नै पहिलो प्राथमिकता हो ।
१२औं दिन, खानामा केही रुची बढ्यो । शरीरमा तागत नभए पनि केही ताजगी अनुभव भयो । धेरैबेर बोल्दा थकान हुन्छ । खानामा केही स्वाद आयो । अब ममा कोभिड—१९ को लक्षण हराइसकेका छन् । बाँकी छ त थकान मात्र । अनुलोम, बिलोम र प्रणायाम गर्न र प्रोन पोजिसनमा बस्न छोडेको छैन । पोखरा आन्टी पनि निको भएर अस्पतालबाट घर फर्कनुभयो । अहिले म, आन्टी र देवरबाबु हामी तीनै जनाको स्वास्थस्थिति राम्रो हुँदै गइरहेको छ । परिवारका अरु सदस्यहरुमा कुनै लक्षण देखिएको छैन उहाँहरु स्वास्थ हुनुहुन्छ ।
यो दुःखद् पल पनि छिट्टै दूर हुन्छ । सकारात्मक सोच, परिवार, आफन्त तथा साथीभाइहरुको माया तथा सद्भावले बलियो बन्नुपर्छ ।
स्वास्थ नै सबैभन्दा ठूलो कुरा हो । आफ्नो सुरक्षा आफैंले नै गर्नुपर्दोरहेछ । मृत्यु भएमा गनिने हामी सरकारको लागि नम्बर मात्रै रहेछौँ । तर, आफ्नो परिवारको लागि त आफू संसार नै हौँ । आत्मबल बलियो बनाएर यो आपत्कालीन समयसङ्ग लड्नुपर्छ, जितिन्छ । जब समय कठोर हुन्छ तब पीडा हुन्छ नै । तर, आशाको किरणले नयाँ ऊर्जा थप्छ । दुःख नभए सुखको अनुभव कसरी गर्न सकिन्छ र ? विष नै हुन्थेन भने अमृतको के मुल्य हुन्थ्यो र ? समय बलवान् छ, यसले हरपीडा दूर गर्दछ । कुनै पनि पल स्थायी हुँदैन । यो दुःखद् पल पनि छिट्टै दूर हुन्छ । सकारात्मक सोच, परिवार, आफन्त तथा साथीभाइहरुको माया तथा सद्भावले बलियो बन्नुपर्छ । यिनै यसका प्राकृतिक उपचार हुन् । नकारात्मक सोचाइले आफ्नो दिमागमा राज गर्न दिनु हुँदैन । कल्पनाशक्ति बढाउने र राम्रो कुरा मात्र सोच्ने । जे सोचिन्छ त्यही बनिन्छ । ‘I am healthy. I am powerful. I am winner.’— रोगसँग आफैं हो लड्ने, अरुको त सद्भाव मात्र हो । सबै कोभिड संक्रमण भएका सिकिस्त हुँदैनन् । जे-जे लक्षण र समस्या देखिन्छ त्यही त्यहीको दबाइ डाक्टरको सल्लाहमा खाने ।
अक्सिजनको लेवल पल्स अक्सिमिटरले नाप्ने । ज्वरो थर्मोमिटरले नापी राख्ने । पहिलो दिनदेखि नै सतर्क भए जटिल समस्या आउँदैन । र, करोना भाइरसलाई जित्न सकिन्छ । श्वास फेर्न गाह्रो, अक्सिजन लेवल कम, खोकी रोकिएन, छाती दुखेमा अस्पताल गइहाल्ने । संक्रमण भएर ठिक भएकाको संख्या धेरै नै छ । धेरै संक्रमित घरमै बसेर निको भएका पनि छन् । केहीलाई अस्पतालको आवश्यक पर्छ । मर्नेहरुमा अरु रोगको जटिलता पनि हुन सक्छ । आत्तिनु हँदैन । म घरमै बसेर दबाइ खाएर निको भए तपाईंहरु पनि हुनुहुन्छ । पर्याप्त आराम गर्ने । पौष्टिक खानेकुरा नरुचे पनि बल गरेर खाने । पर्याप्त मात्रामा तातो झोल पर्दाथ खाने । हाम्रै भान्सामा विभिन्न जडिबुटी तथा मसला पाइन्छ । त्यहीको सूप बनाएर खाने तर यसैमा मात्र भर नपर्ने । डाक्टरको सल्लाहअनुसारको दबाइ पनि खाने । फलफूल खाने । आफूलाई मनपर्ने संगीत सुन्ने । संगीत पनि रोगको दबाइ नै हो भनेर भनिन्छ । रुघाखोकी लाग्दैमा कोभिड—१९ हुँदैन । कोरोनाले आक्रमण गर्दैमा मरिँदैन । दिमागमा डर, त्रासले राज गर्यो र आत्मविश्वास गुम्यो भने मर्नलाई कोरोना खोज्नै पर्दैन ।
#माक्स लगाऔँ ।
#साबुनपानीले हात धोऔँ ।
#सकेसम्म घरबाट बाहिर ननिस्कौँ ।
#भौतिक दूरी कायम राखौँ ।
#भीडभाड नगरौँ ।
#स्वास्थ मन्त्रालय/स्वास्थ संघसंस्थाले अपिल गरेका सबै स्वास्थ मापदण्ड अपनाऔँ ।
#आफू बचौँ र अरुलाई बचाऔँ ।
#सकारात्मक विचार/समाचार बाँडौँ र स्वस्थ रहौँ ।








