‘कारबाही फुकुवा सकारात्मक’

काठमाडौं । बिहीबार (आज) बिहान सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललगायतका विपक्षी एमालेका नेतामाथि गरेको कारबाही फुकुवा गरेको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गकाअनुसार पार्टी अध्यक्ष तथा केपी शर्मा ओलीकै प्रस्तावमा चार नेतामाथिको कारबाही फुकुवा भएको हो ।

सत्तासिन एमालेको यो कदम सकारात्मक भएको नेता सुरेन्द्र पाण्डेको भनाइ छ । नेता पाण्डेले मकालु खबरसँग भने– ‘यो सकारात्मक कदम हो । यसले पार्टीलाई एक बनाएर लैजान थप सहयोग गर्नेछ । खासमा हामीले पार्टीलाई फुटाएर लाने अथवा दुई फ्याक गरेर लाने भन्ने त छँदै थिएन र अहिले पनि छैन । उहाँ (ओली)को कदम सकारात्मक छ ।’

यस्तै नेता योगेशकुमार भट्टराईले पनि सत्तासिन एमालेले गल्ती सच्याएको बताएका छन् । कारबाही फुकुवा गर्ने बालुवाटारको निर्णयपछि नेता भट्टराईले ट्वीट्मार्फत भनेका छन्– ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ ।’

प्रतिक्रिया