सकसमा नर्स

स्वास्थ्यकर्मीलाई ‘भगवान’ मानिन्छ । कोभिडको महामारीका बेला त यो कुरा पुष्टि भयो पनि । भगवान् छन्/छैनन् थाहा छैन तर स्वास्थ्यकर्मी ‘जिउँदा भगवान’ भएर बिरामीको उपचारमा खटिएको र जीवन बचाएका दृष्टान्तहरू बग्रेल्ती छन् ।

यिनै भगवानमध्येकै हुन् नर्स पनि । नेपालमा ४० हजारभन्दा धेरै नर्स कार्यरत रहेको तथ्यांक छ । तर नर्सिङ पेशामा रहेकाहरूका आफ्नै कथा छन् ।

वीर हस्पतालमा ५ वर्षदेखि कार्यरत स्टाफ नर्स विनिता सिग्देल भन्छिन्, ‘आफूले रोजेको पेशा हुनाले नर्स हो भन्दा दुःख लाग्दैन । किनभने नर्स भनेको अरुको खुशी हेरेर सन्तुष्ट हुने पेशा हो ।’

कोरोनाको अघिल्लो लहरमा उपचारकै क्रममा आफैंलाई संक्रमण भएकी सिग्देल अहिले दैनिक १२ घण्टा ड्युटीमा खटिइरहकी छन् । आफूलाई मात्र होइन घरका सदस्यलाई कोरोना संक्रमण होला भन्ने ठूलो चिन्ता एकातिर र उपचार गराइरहेका बिरामीलाई परेको सकस र उपचारकै क्रममा ज्यान जाँदाको पीडा अर्कोतिर सहेर काम गर्नुपर्दा पीडा हुने उनले बताइन् ।

उपचार गराइरहेकामध्ये ४० वर्षभन्दा कम उमेरका धेरै रहेको र बिरामीलाई श्वास फेर्न गाह्रो भएको देख्दा आफैलाई असाध्यै पीडा हुने उनको भनाइ छ । ‘बिरामीलाई सन्चो हुँदा आफूले पनि युद्ध जितेको जस्तो अनुभव हुन्छ,’ उनी भन्छिन् ।

‘अहिलेको स्थिति हेर्दा त अभिभावकले आफ्ना सन्तानलाई नर्स पढाउन चाहँदैनन् होला’ उनी थप्छिन्, अर्कोतिर स्कोप छ भनेर मात्र नर्स पढेर पनि हुँदैन, रुचिका साथमा गर्न सक्छु भन्ने भावना र सेवालाई मूल मन्त्र त हुनैपर्‍यो ।’

सिभिल सर्भिस अस्पतालमा कार्यरत राजती शर्मासँग नर्स पेशाको १५ वर्षको अनुभव छ । यो समयमा उनले धेरै नर्सहरुको पिडालाई नजिकैबाट नियालेकी छिन् । उनी भन्छिन्, ‘नर्सलाई ड्युटीमा रहेका बेला आफू भोकै भएको याद हुँदैन तर बिरामीले के खायो होला भन्ने ध्यान हुन्छ । बिरामीको खानपानको मात्रा, पोषणको मात्रा, औषधिको मात्रालगायत पुगेपछि मात्र आफूले खानुपर्ने कुरा याद गर्नुपर्ने पेशा हो यो ।’

शर्मा थप्छिन्, ‘वास्तवमा यो नर्स मनोबिज्ञान नै हो । नर्सले कहिल्यै आफ्नो निद्रा पुरा गर्न पाएका हुदैनन् । आफूलाई नै बिर्सिएर कसैले बिरामीको पिडा कम गर्न खट्छ भने त्यो व्यक्ति नर्स हो ।’

बिरामी छट्पटाँउदा आफू पनि छट्पटिने र बिरामी निको हुँदा ऊजत्तिकै खुशी हुनुको सन्तुष्टि सायदै अर्को पेशामा होला ।

राजती पनि कोभिड संक्रमितको उपचारका क्रममा स्वयम् संक्रमित भइन् । नर्सलाई बिदा बस्ने व्यवस्था नै छैन । क्वारेन्टिनबाट निष्किने बित्तिकै ड्युटी गइन् ।

नेपालमा नर्सका दुःख धेरै रहेकोमा बिनिता र राजती दुवैको एक मत छ । नर्सलाई उत्प्रेरणाको कमी छ । नर्सलाई उत्प्रेरित गर्न खासै ठूलो कुरा पनि चाहिँदैन । तर नेपालमा नर्सका लागि धेरै परिवर्तन हुनु जरुरी छ भन्छिन् राजती । भन्छिन्, ‘आजसम्म पनि नर्सिङ्लाई छुट्टै फ्याकल्टीको रुपमा नहेरेर एउटा केयर गिभरको रुपमामात्र हेर्ने चलन छ । विदेशमा भने नर्सको महत्व र सम्मान नै धेरै छ ।’

नेपालमा नर्स आफैँमा एक फ्याकल्टी भएपनि पारिश्रमिक एकदमै न्यून छ । यो कुरा बेलाबेला उठ्ने पनि गरेको छ तर लागू भने भएको छैन ।

घन्टाको सय रुपैयामा समेत काम लगाउने गरिएको नर्सहरुको अनुभव छ । प्रायजसो अस्पतालमा नर्सको पारिश्रमिक सरकारले तोकेको न्युनतम भन्दा पनि कम हुन्छ । नर्स भनेको सरकारीमा पाँचौं तह बराबर हो । तर नर्सको तलब १०,१२ हजारमात्र पनि छ । यसले नर्सलाई हतोत्साहित बनाउने उनीहरू बताउँछन् ।

अहिले ‘फ्रन्टलाइन हिरो’को रुपमा रहेको भएपनि सेवा सुविधा र सम्मानको हिसाबले पनि डाक्टरको तुलनामा नर्स धेरै नै पछि रहेको उनीहरुको अनुभव छ ।

२४ घन्टा बिरामीको हेरचाहमा खटिने नर्स भएपनि बिरामी निको भएर जाँदा डाक्टरको मात्र चर्चा हुने कतिपय नर्सहरूको अनुभव र गुनासो रहने गरेको छ ।

‘नर्सहरू रियल फाइटर हुन् भनेर बुझ्नु जरुरी छ । तर यहाँ त सुविधा छैन नर्सलाई जबरजस्ती काममा लगाइएको छ । यस्तो महामारी छ तर नर्सलाई न बिदा छ न काम नगरी सुख छ । सबैजना आफूलाई बचाउन घरभित्र बसिरहेका छन् । तर नर्स यो मृत्युको बाटो हो भनेर थाहा हुँदाहुँदै पनि काममा खटिइरहेका छन्,’ राजती भन्छिन्, ‘कोभिडको पहिलो लहरमा सरकारले नर्सलाई दिने भनेर तोकिएको भत्ता समेत दिइएको छैन । दास्रो लहरमा त नर्स संक्रमित भएको आठौं दिनमा काममा फर्किनु परेको बाध्यतासमेत छ । आफू नै मर्न लाग्ने स्थितिमा पुग्दा पनि आराम गर्ने समय र बिदा नपाउनु भनेको एकदम पिडादायी अवस्था हो नि !’

स्वास्थ्य संस्था र ब्यबस्थानले जती स्वास्थ्यको मापदण्ड र आवश्यक सामाग्री छ भने पनि वास्तविकतामा त्यस्तो नभएको धेरैजसो अस्पतालमा कार्यरत नर्सको गुनासो छ । पीपीईलगायत स्वास्थ्य सामग्री त टाढाको कुरा सामान्य सर्जिकल मास्कको भरमा काम गर्नुपरेको र कतिपयले त आफ्नै पैसाले मास्क किन्नुपरेको समेत अनुभव सुनाउँछन् ।

नोबेल मेडिकल कलेज विराटनगरको कोभिड वार्डमा कार्यरत अश्लेषा पोख्रेल ३ महिनादेखि कोरोनाको बिरामीको हेरचाह गरिरहेकी छिन् । उनी अहिले १५ दिनदेखि अस्पतालमा नै बसिरहेकी छन् । २१ दिन अस्पतालमै बस्नुपर्ने भएकाले हिजो परेको मातातीर्थ औंसीमा पनि घर गएर आमालाई भेट्न नपाएको उनले सुनाइन् । पीपीई सेटसहित ग्लोब्समा आमालाई मातातीर्थ औंसीको शुभकामना दिएको उनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

‘नर्स बन्छु भन्ने सोचेकै दिन निजी जीवनभन्दा बिरामीको जीवन प्राथमिकतामा राख्ने प्रण गर्नुपर्ने पेशा हो यो’, अश्लेषा भन्छिन्, ‘न चाडबाड, न कुनै आफ्नो नीजि जीवनको कुरा सबै गौण हुन्छ । बिरामीको सेवा नै मुख्य कुरा हुन्छ ।’

अनेकौं दुःख कष्ट रहेर काम गरिरहेका नर्सहरू अहिले कोभिड महामारीका कारण थप सकसमा परेका छन् । थपिँदा बिरामी, सीमित स्रोतसाधन र उपचार अनि जनशक्तिका कारण उनीहरू थप खटिनुपरेको छ । यति हुँदा पनि उपचारकै क्रममा बिरामीको निधन हुँदा थप पीडा हुने उनीहरू बताउँछन् । तर, सकसका बिच बिरामी निको हुँदा उनीहरु र आफन्तको मुहारमा छाउने खुशीको उज्यालोको आनन्दले भने सबै पिडा भुलाएर आल्हादित गराउने नर्सहरू बताउँछन् ।

प्रतिक्रिया