न सम्झिन आमा छिन्‚ न आमा भनेर सम्झिने छन्

‘ए आउनुस् न नानी’ मुजा परेको अनुहार उज्यालो बनाउँदै उनले स्वागत गरिन् ।

‘म तपाईंसँग गफ गर्न आ’को आमा’ भन्दै उनको कोठामा पुगेकी थिएँ ।

भोलि त आमाको मुख हेर्ने दिन तपाईँकी छोरी आउनुहोला नि ! मैले सोधें ।

‘आउँदिन नानी ! ३ वर्ष भयो भेट नभएको ।’

कहाँ बस्नुहुन्छ तपाईंकी छोरी ?

‘त्यहीं काँडाघारी हो । म बुढी जान सक्दिनँ । उ हिँड्न अल्छी मान्छे ।’

‘म पुर्‍याइदिन्छु । जानुहुन्छ त छोरी भेट्न?’ म सोध्छु ।

‘जान्न नानी । उनीहरूले पो खोजेर आउने हो । म खोज्दै जान्नँ । उसले त फुन पनि गर्दिन, मै गर्छु कहिलेकाहीँ । अब भोलि (मातातीर्थ औंसीको दिन) फुन गर्छु ।’

०००

सानुमैया खड्काले तीन सन्तान जन्माइन् । तर, अहिले कोही छैनन् । अरु दिन त अरु दिन भइगए आमाको मुख हेर्ने दिनमा पनि उनको अनुहार उज्यालो हुन नसकेको तीन वर्ष भयो ।

दुई छोरा र एक छोरी जन्माएकी सानुमैयाँको साहारा अहिले उनी स्वयं बनेकी छन् । ‘एक छोरी छिन्, तर नभेटेको ३ वर्ष भयो । दुई छोरामध्ये एक ६/७ वर्षको हुँदै ब्लड क्यान्सरले बित्यो । अर्का छोराको शरीर ६ वर्षको हुँदादेखि खिनौटे हुँदै गयो । १४ वर्ष स्याहारेपछि २० वर्षको छोरो गुमाउनुपर्‍यो,’ उनले मलीन मुहार बनाउँदै सुनाइन् ।

दुवै छोरा गुमेपछि लोग्नेले हेला गर्न थाले । उसो त त्यसअघि पनि लोग्नेको व्यवहार निको थिएन । दुवै छोरा गुमेपछि त झनै थेगिनसक्नु भयो उनको व्यवहार ।

 

खप्न नसकेपछि छोडेर हिँड्नुको विकल्प रहेन । मनमा जे जानेको छ त्यही गर्ने र बाँच्ने अठोट थियो । यहि अठोटले त उनलाई अहिलेसम्म बचाइरहेको छ ।

अरूको घरमा भाँडा माझेर, कपडा धोएर र सुत्केरी स्याहारेर उनी आफ्नो गुजारा चलाइरहेकी छिन् । भक्तपुरको नयाँ ठिमीबाट २ किलोमिटर जतिभित्र रहेको एउटा सानो कोठा नै उनको संसार भएको छ । ३५०० रुपैयाँ कोठा भाडा तिर्न र आफ्नो जिविका चलाउन उनी कसैसँग हात पसार्दिनन् ।

तर गएको मंसिरदेखि भने समस्या भइरहेको छ किनकी अहिले उनको शरीर गलेको छ । शरीरमा तागत सकिँदै गएको छ । कतै जाँदा पनि थकाइ मार्दै जान्छिन्, त्यसरी नै फर्किन्छिन् । मङ्सिरपछि उनले काम पाएकी पनि छैनन् । बेरोजगार भएकी छिन् ।

समस्याहरू एकपछि अर्को गर्दै थपिने रहेछन् । त्यस्तै भइरहेको छ उनलाई पनि ।

काठमाडौंमै जन्मिएकी र यहीँ विवाह भएकी उनी भक्तपुरमा अर्काको घरको एउटा सानो कोठामा जीवनको उत्तरार्ध एक्लै घिसार्दैछिन् । न त आफूले जन्माएका सन्तान उनको साथमा छन्, न जीवनभर साथ दिने वाचासहित सात फेरो लगाउने श्रीमान नै ।

२०७२ सालको भूकम्प गएपछिको समय थियो । दिनहरू त्रासमा बित्दै थिए । यस्तैमा उनका श्रीमानले अर्की श्रीमती ल्याए । मानसिक तनाव थपियो नै । कुटपिट पनि गर्न थाले । भौतिक रुपमा पनि शरीरले सहन सकेन । लोग्ने र सौता मिलेर घरबाट निकाले ।

केही समय बहिनी नाता पर्नेकोमा गएर बसिन् । तर त्यो अस्थायी आश्रय न हो ।

‘सधैं अरूकोमा हुँदैन नानी ! आफ्नै भनेको लोग्नेकोमा त भएन ।’ उनी सुस्केरा हाल्छिन् ।

एक महिलाले उनलाई सहायता दिइन् । त्यसकै बलमा उनी नयाँ ठिमीमा कोठा लिएर बस्न थालिन् । जीविका चलाउन आफैँ सकेको काम गर्न थालिन् ।

‘त्यो घरबाट निस्किँदा यही लगाएको कुर्थामात्रै मसँग थियो । बाँकी केही निकाल्न दिएनन् ।’ उनी आफूले भोगेको त्यो उराठलाग्दो समयबारे सुनाउछिन्, ‘तर अहिले त्यस्तो छैन । सुत्केरी स्याहार्न जाँदा १० हजारसँगै लुगा पनि दिन्छन् । कतिले त रासनसमेत दिन्छन् ।’ उनको अनुहार अलि उज्यालो हुन्छ ।

०००

उनले आफ्नो लागि आफैँ बाँच्ने हो भनेर सिकिसकिन् । त्यसैले त धर्म कर्म गर्ने, बसेर खाने उमेरमा उनी अर्काको घरको जुठो भाडा माझेर वा लुगा धोएर वा सुत्केरी स्याहारेर ल्याएको कमाइमा दङ्ग पर्छिन् ।

जीन्दगीसँग गुनासो गरेरे के गर्नु भन्छिन् र जे छ त्यसैमा फुरुङ्ग हुन्छिन् । ‘यो त मेरो मेहनतको कमाइ हो नि !’

तर, लोग्ने सम्झिँदा उनको मन अमिलो भएर आउँछ । अनुहारमा क्रोध देखिन्छ । सुन्दरीजलको केटोसँग साँखुकी उनको मागी विवाह भएको थियो । सरकारी जागिर गर्थे उनका लोग्ने । के काम हो उनी जान्दिनन् । सुन्धारामा अड्डा थियो । उनी घरै बसेर व्यवहार मिलाउँथिन्, मेलापात गर्थिन् । बा आमाले बिहे गरेर दिएको मान्छे भन्नुबाहेक लोग्नेको भरोसा खास थिएन । उनका श्रीमानले उनीपछि तीनवटी महिलालाई श्रीमती बनाएर घर ल्याए ।

 

 

पहिलोपटक आएकी महिलाले २ वर्ष बसेर छाडेर गइन् । केही समयमा उनले अर्की सौता खेप्न पर्‍यो । ‘त्यो त कलिली थिई । पहिलेको पट्टी एउटा छोरो रहेछ । म बुढीको के घर बिगार्नु भन्ने लाग्यो होला । १५ दिनका दिन छोडेर गई । मलाई ‘दिदी तिमी चोटो नछोड । त्यो तिम्रो ठाउँ हो’ भन्थी । म सुकुलमा सुत्दा डसना ल्याएर सुत्न दिई । सौताले कहाँ त्यसो गर्छन् । अहिले राम्रो जागिर खान्छे रे सातदोबाटोतिर ।’ सौताले गरेको निको व्यवहार सम्झिदा उनलाई तिनी सौता होइन, आफ्नै बहिनी झैँ लाग्छ । र त अहिले पनि कहाँ छिन् भन्ने सोधिखोजी गर्दिरहिछन् उनी ।

उनले घर व्यवहार मिलाइन् । छोरी हुर्काइन् । श्रीमान् सेवानिवृत्त भए । अब त सुख आउला कि भनेको । तर उनले त घर नै छाड्न पर्‍यो । ‘मैले ठिक्क पारेको खान आ’की । पेन्सनमात्रै २२ हजार आउँछ । संचयकोष, जग्गा बेचेको पैसा सबै खाई ।’ उनको कान्छी सौता र श्रीमानप्रति असन्तुष्टिमात्रै झल्किन्थ्यो ।

०००

कान्छो छोरो बितेपछि श्रीमानको अत्याचार झन् बढ्यो । आमा भन्ने मान्छे नहुँदा र हुनेले पनि बेवास्ता गरेको सम्झिँदा उनका आँखा भरिएका छन् । आमा खुवाउने औँसी भनेर मात्रै के गर्नु, न आफ्ना आमा छन् न त आफूले जन्माएकाले आमा भनेर सम्झिएका छन् । ‘सबै पैसाको मुठो हो !’ आमा बाउ, लोग्ने, माइती अनि छोराछोरी पनि । कोही आफ्नो छैन ।’ पीडा अनि केही कठोरता देखिन्छ उनको अनुहारमा ।

उनले त दुःख पोखिन् । तर उनको दुःख बुझिदिने को ? अस्ति छाती धेरै दुख्यो रे । सासै फेर्न गाह्रो भएपछि कोठा नजिकै बस्ने एउटी बहिनीले नागरिक अस्पताल लगिछिन् । फोक्सोमा समस्या देखाएको छ । दम चाहिँ होइन । सबै खर्च उनै छिमेकीले गरिदिएकोमा उनीप्रति ऋणी छिन्, सानुमैयाँ ।

अझै पनि शरीर सन्चो भयो भने आफैं काम गरेर खाने बताउँछिन् । बुढी भनेर काममा राख्न मान्दैनन् रे । सुत्केरी स्याहार्नमा उनी आफूलाई अब्बल मान्छिन् । ‘तेल त म ऊ बेलैदेखि मजाले लगाउँथे नि ।’ कहिँ कतै भने काममा जाँदा वृद्ध भएकै कारण धेरै माया पाउँछिन् । जे होस्, औँसी-पूर्णिमा चाडबाडमा मन अमिलो हुने भएपनि सामान्य दिनमा परायाको मायामा खुसी छिन्, उनी ।

प्रतिक्रिया