नयाँ अध्यादेश जारीपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा आइतबार बिहान बस्नेगरी बैठक आह्वान गरेको नेता विशाल भट्टराईले मकालु खबरलाई जानकारी दिए । बैठकको एजेण्डाबारे भने नेता भट्टराईले आफूलाई थाहा नभएको बताए ।

यसअघि प्रधानमन्त्री ओलीले दुई वा दुईभन्दा बढी सदस्य मात्रै भएर पनि निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याएका थिए । त्यसपछि गत वर्षको मंसिर ३० गते बसेको बैठकले ठूलो संख्यामा संवैधानिक नियुक्ति गरेको थियो । त्यसको विरोधमा सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै छ । तर, मुद्दाबारे निर्क्यौल नभइ नै प्रधानमन्त्रीले पुनः बैठक डाकेका हुन् । यसअघि गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अर्को अध्यादेश जारी गरेकी छन् । तत्पश्चात् प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेका हुन् ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ ले परिषद्को बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्था थियो तर, प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेर आफूअनुकूलको व्यवस्था ल्याएपछि त्यसको विरोध हुँदै आएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था थियो । हाल उपसभामुख पद रिक्त छ । अब परिषद्मा अध्यक्षसहित तीन जना सदस्य उपस्थित भएमा बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।

यो व्यवस्थाको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटाले आपत्ति जनाउँदै आएका छन् । या बैठकमा पनि उनीहरु सहभागी हुन्छन् वा हुँदैनन्, टुङ्गो छैन ।

प्रतिक्रिया