एमाले स्थायी कमिटी बैठक बस्दै, के हो एजेण्डा ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले स्थायी कमिटी बैठक आह्वान गरेका छन् । बिहीबार बिहान १०ः३० बजे सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक आह्वान भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरलाई जानकारी दिए । ‘हामी बालुवाटार पुगिसक्यौँ,’ सदस्य नेम्वाङ्गले भने– ‘साथीहरु आउँदै हुनुहुन्छ, हामी बस्छौँ ।’

बैठकमा राष्ट्रिय सभाको उपनिर्वाचनको बारेमा छलफल हुने स्रोतले बतायो । ‘खासै अन्य विषयहरु छैनन्, त्यही  उपनिर्वाचनको लागि हो । यसै विषयमा आज छलफल हुन्छ,’ स्रोतले मकालु खबरलाई भन्यो ।

राष्ट्रिय सभाको रिक्त दुई सिटका लागि आगामी जेठ ६ गते निर्वाचन हुँदैछ । जसका लागि एमालेले नेता रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने विपक्ष गठबन्धनबाट खिमलाल देवकोटा उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेस, माओवादी, विपक्षी एमाले र डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षीय जसपाको चुनावी गठबन्धनबाट झस्केका ओली बुधवार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । जहाँ ओलीले आगामी वैशाख २७ का लागि विश्वासको मतसमेत मागेका थिए भने कांग्रेसले नदिने बताएको थियो ।

ओलीले २७ गते सदनबाट विश्वासको मत लिने बताइसकेका छन् । यसपछि बढेको प्रधानमन्त्रीको धपेडी बढेको बढ्यै छ । यता विपक्षी दलहरु पनि लगातार बैठक तथा छलफलमा जुटिरहेका छन् ।

बुधवार मात्रै पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी एमाले नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हात्तीवनस्थित एक घरमा भेटेका थिए । तत्पश्चात् विपक्षी दलहरुले राष्ट्रिय सभाको रित्त पदमा देवकोटाको नाम लैजाने सहमति गरेका थिए ।

प्रतिक्रिया