लुम्बिनी प्रदेश सभा सदस्य खत्री माओवादीमा प्रवेश, गुम्यो एमालेको बहुमत

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सभा सदस्य खत्री आइतबार माओवादी केन्द्र प्रवेश गरेकी हुन् । दाङ ३ (ख) बाट निर्वाचित खत्रीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

उनले माओवादी केन्द्र रोजेसँगै एमालेको बहुमत गुमेको छ । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । खत्रीको निर्णयसँगै ८१ सदस्यीय प्रदेश सभामा एमालेको एकल बहुमत गुमेको हो ।

उनका स्वर्गीय श्रीमान उत्तरकुमार वली भने एमालेबाट निर्वाचित भएका थिए ।

सवारी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा खत्री नेकपाबाट विजयी भएकी थिइन् ।

खत्री माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित सांसद संख्या ४१ पुगेको छ । लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसदमात्र छन् । संविधानको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ ।

प्रतिक्रिया