‘अनागरिक’ बनेरै ४ दशकदेखि सक्रिय नृत्य निर्देशक राई

काठमाडौं । बिहीबार विश्व नृत्य दिवस । चलचित्रमा धेरै कलाकारको नृत्य देखिएको छ । नाचेरै देश विदेश घुमेका छन्, कलाकार । तर उनीहरूको नृत्यको पछाडि अरू नै व्यक्तिको महत्त्वपूर्ण हात हुन्छ । हो, उनै पर्दा पछाडिका नायकमध्येका एक हुन् नृत्य निर्देशक कमल राई ।

मिथिला शर्मा, शर्मिला मल्ल ,मौसमी मल्ल, करिश्मा मानन्धर, जल शाह, बिपना थापा, श्रीकृष्ण श्रेष्ठ, दिलीप रायमाझीलगायत धेरै कलाकारले उनको निर्देशनमा नृत्य गरेका छन् । उनको नजरमा सारङ्गा श्रेष्ठजस्तो नृत्य अरू कसैको छैन भने करिश्माजस्तो गुलाबी सुन्दरता भएकी नेपाली नायिका उनलाई अरू कोही लाग्दैन । ‘राजेश हमाललाई समेत नचाउन सफल’ भनेर चिनाइने कमल र राजेशसँग जोडिएको रमाइलो किस्सा छ । पहिला त राजेशले कमलमाथि भरोसा नै गरेका थिएनन् । तर चलचित्रको छायांकन सकिँदा खुसी भएर राजेशले ५ सय रुपैयाँ दिएको कमल अझै सम्झिन्छन् ।

गोपाल भुटानी गड फादर

सिंगापुरमा जन्मिएका, दार्जेलिंङमा हुर्किएका कमलले मुम्बईमा काम सिके भने त्यसको प्रयोगका लागि नेपाललाई रोजे ।
उनलाई परिवारले गोपाल भुटानीसँग बौद्ध भिक्षु बन्नका लागि पठाएको थियो । तर उनका गड फादर गोपाल भुटानीले उनको करियरको पहिलो पाइला चाल्न मद्दत गरे । उनै गोपालको साथ लागेर कमल पहिलो पटक छायांकन हेर्न पुगेका थिए ।

अमिताभ बच्चनको ‘वर्षात् के एक रात’ चलचित्रको सुटिङ हेर्दै गर्दा उनले छायांकनका लागि कति तयारी आवश्यक पर्छ भन्ने बुझ्दै थिए । ए पटक दशहरामा नाच्दै गर्दा चलचित्र मेकरको आँखा उनमा पर्‍यो । भोलिपल्टै भेट्ने प्रक्रिया अघि बढ्यो । गोपालको साथ लागेर गएका उनले नृत्य निर्देशक बसन्त चन्दको सहायकको रूपमा काम पाए ।

बलिउडमा सिकेर कलिउडमा सिकाउँदै

उनले भारतमा रहेर चर्चित नृत्य निर्देशकसँग साथसाथै काम गर्दै थिए । बसन्त चन्दको छत्रछायाँमा काम गर्ने उनी नेपाल-भारत दुवै देशका चलचित्रमा काम गर्न थालेका थिए । पहिलोपटक ‘कान्छी’ चलचित्रका लागि नेपाल आएका उनी दोस्रो पटक वासुदेवको काममा आइपुगे । उनी सम्झिन्छन्, ‘पहिला नेपाल कहाँ यस्तो थियो र ? स्वर्ग थियो ।’ यही स्वर्गको भावले उनलाई तान्यो । उनको यो सोचमा उनकै बुबाले समेत इँटा थपिदिए । नेपालमै करियर बनाऊ भनेर बुबाले भन्दै थिए, यता कमललाई नेपालीको व्यवहार र प्रकृतिले तान्दै थियो । चलचित्र ‘झुमा’सम्म आइपुगेपछि भने उनले बलिउडलाई माया मारे । यही विषयमा बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानले, ‘भारतमा सिकेर नेपालमा सिकाउँदै छौ ?’ भनेको उनी सम्झिन्छन् ।

छायांकन अनुभव

उनी नेपालको डाँडापाखा र पर्वतसँग नजिक थिएनन् । गोकर्णमा ‘वासुदेव’ को गीतको छायांकन चल्दै थियो । उनलाई जुका लागेछ । उनले जुका पहिलो पटक देखेका थिए । यति आँत्तिए कि, कहालिएर भागे । उनलाई रोक्न र जुका झिक्नमात्रै ३ जना आएको सम्झिँदै उनी मुस्कुराउँछन् । ‘झुमा’ चलचित्रका लागि उनी टिमसँग मुस्ताङ पुगेका थिए । स्थानीयले तिलिचो तालको विषयमा बताएपछि टिम त्यतै हान्नियो । पछिल्लो समयमा पहिलोपटक फलानो ठाउँमा पहिलो पटक छायांकन गरेको भन्दै गर्दा उनलाई हाँसो लाग्छ । त्यस्ता ठाउँहरूमा ७, १० दिन लगातार हिँडेर पुगेको अनुभव धेरै छन् कमलसँग । त्यस्तै ‘कान्छी’ चलचित्रको मधुमास गीत ‘बादल सरी’ को छायाङ्कनका लागि टिम पोखरामा थियो । उक्त समय फेवातालमा जम्मा २२ वटा डुङा भएको उनी सम्झिन्छन् । त्यहीबेला चिनजान भएका तालबाराही मन्दिरका पुजारीलाई उनी अझै पनि पोखरा जाँदा भेट्छन् । यस्ता धेरै अनुभव छन् उनीसँग ।

पारिश्रमिक र खर्च

करियरको सुरुवाती दिनमा निर्माताले पारिश्रमिक सोध्दा उनी ‘काम सकेपछि दिनुस् न’ भन्थे । पहिलोपटक कान्छी चलचित्रमा एक गीत बराबर ३०० रुपैयाँ पारिश्रमिक थापेका थिए कमल राईले । ‘बेहुली’ चलचित्रको गीत ‘माया के होला’मा भने उनले पाँच सय रुपैयाँ प्राप्त गरे । २ वटा कोठा लिएर नयाँ बजारमा बस्थे उनी । भाडा ७५ रुपैयाँ थियो । खर्च गर्ने ठाउँ खासै नहुने । उनी त्यो कोठा भने अझै सम्झिन्छन् ।

मनमा बसेका गीत

उनले धेरै चलचित्रमा काम गरेका छन् । रिलको समयदेखि अहिलेको डिजिटल युगसम्मको कामको अनुभव छ उनलाई । तर उनलाई गीत भने पुराना चलचित्रकै प्रिय लाग्छन् । यो गाउँको ठिटो म, बिजुलीको तार, अब चोटहरूले, उकाली ओराली गर्दैलगायत गीत उनको मनभित्रै छन् । सम्पादनका लागि मुम्बई पुगेका नृत्यका दृश्यमा उताका पनि प्रसंशा गर्ने गरेको आफूले कहिल्यै नभुल्ने बताउँछन् ।

बुबा आमाको निधनमा नाच्दै थिए कमल

उनले चलचित्र क्षेत्रमा लागेर धेरै कुराहरू कमाएका छन् । तर काममा दत्तचित्त हुँदा उनले केही नमिठो अनुभवसमेत सँगालेका छन् । जब उनका बुबाको निधन भएको खबर आयो, उनी ‘चोट’ चलचित्रको सेटमा थिए । ‘आँखा आँखा बोलिरहेछ’ गीतमा सरोज खनाल र रुपा रानालाई नचाउँदै गर्दा ट्रंकल आएको थियो । गीतमा व्यस्त उनलाई अवरोध नहोस् भनेर खबर रोकेर राखेको उनी सम्झन्छन् ।

यस्तै ‘दुई चुल्ठी बाटेर’ प्रतिज्ञा चलचित्रको गीत गर्दै गर्दा आमाको निधनको खबर आएको थियो । घान्द्रुकमा थिए उनी । गाडी जाँदैन थियो । घोडामा पोखरासम्म आएर रात्री बस चढेर घर पुगे । भाइको निधनमा समेत उनी बानेश्वरमा छायांकनमै थिए । निर शाहले सुटिङ रोक्ने भन्दै गर्दा ‘दाजुले काम सकेर आउनू’ भनेको सम्झिए । र काम सकेर बल्ल घर गए ।

उनलाई अहिलेको काम गर्ने तरिका खासै चित्त बुझेको छैन । पहिलाको झैँ अनुशासन अहिलेका कलाकार र टिममा नदेख्दा उनलाई दुःख लाग्छ ।

नेपालको नागरिक बन्न नपाएकोमा पनि उनको गुनासो छ । तर उनी आफैँ भने ‘मलाई परिचय देऊ’ भन्ने पक्षमा छैनन् ।

प्रतिक्रिया