‘सर्वदलीय बैठकबारे थाहा छैन, प्रचण्ड बालुवाटार जानुहुन्न’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार नजाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि डोकेको सर्वदलीय बैठकमा प्रचण्ड नजाने भएका हुन् ।

लामो समयपछि फोन गरेर प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको निवास बोलाएको भए पनि प्रचण्ड नजाने उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । ‘सर्वदलीय बैठकको कुरो जुन बाहिर आएको छ, त्यो होइन,’ उनले मकालु खबरसँग भने, ‘फोनमा कुराकानी भाको हो, बालुवाटार भेटौं भन्या हो, उहाँ (प्रचण्ड)ले बालुवाटार होइन, सिंहदरबार भेट्ने भए भेटौं भन्नुभएको हो । अरु कुनै कुरा भएको छैन ।’

अध्यक्ष प्रचण्डले सिंहदरबारमा भटौं भनेपछि अरु कुरा नभएको उनले बताए । ‘आज बैठकका लागि फोन गरेको भनिएको छ तर, त्यसो होइन । नबोलाइएको बैठकमा उहाँ (प्रचण्ड) जानुहुन्न,’ जुगलले भने ।

यसअघि चैत ३ गते राष्ट्रपतिले शीतल निवासमा सर्वदलीय बैठक बोलाएकी थिइन् । उक्त बैठकमा नेताहरुबीच भनाभन भएको थियो भने राष्ट्रपतिकै भुमिकाबारेमा आलोचना भएको थियो ।

प्रतिक्रिया