आसामको बेतबाँसले धानेको जीवन, होलसेलले फाइदा

विराटनगर । विराटनगर महानगरपालिका- ३ स्थित राजवंशी चोकको पूर्वपट्टी एउटा सानो टहरो छ । त्यही टहरोमुनी बुधबार काम गर्दै थिए सुदर्शन सिंह र उनका छोरा दयासागर सिंह । उनीहरु दुवै जना बेतको सामग्री बनाउँदै थिए ।

ग्राहकको मागको आधारमा बेतको सोफा बनाउँदै गरेका सुर्दशनको दैनिकी यसैगरी बेतबाँसको सामग्री बनाउँदै बित्छ । विराटनगर महानगरपालिका- ११ सरौचियाका स्थायी निवासी सिंहले यो व्यवसाय गर्न थालेको २० वर्ष नाघ्यो । यो ठाउँमा आएर यस्ता सामग्री बनाउन थालेको भने जम्मा ४ वर्षमात्र पुगेको उनले बताए ।

योभन्दा पहिला उनी बरगाछीमा यसैगरी बेतका सामग्री बनाउने गर्थे अनि विभिन्न ठाउँमा बेच्नका लागि पठाउँथे ।

बेतको सबै प्रकारका सामग्रीका लागि माग आउने गरेको उनले सुनाए । बेत बाँसको सामग्रीहरुमा सोफा, कुर्सी, र्‍याक, बच्चाको कोक्रो, पलङ, ह्याङ्गरको धेरै माग आउने भएकोले यी सामग्री सिंहको निर्माणको प्राथमिकतामा पर्छन् ।

 

No description available.

एउटा सोफाको कुर्सी बनाउनका लागि ४ दिनसम्म लाग्ने गरेको उनले सुनाए । ‘कस्तो बनाउने हो त्यसले अर्थ राख्छ,’ उनले भने, ‘मेहनत गर्नुपर्ने खालका सोफालाई धेरै दिन लाग्छ भने सामान्य खालका सोफाकोे कुर्सी बनाउँदा ३ देखि ४ दिनमा सकिन्छ ।’ सबै प्रकारका सामग्री बनाउन समय त लाग्छ नै सोफा बनाउन बढी समय लाग्ने गरेको सिंहले बताए ।

आसामको बेत बाँस
विराटनगरमा बेतको सामग्री बनाउने सिंहजस्ता व्यवसायीलाई बेतको सामग्री नेपालमा नै पाउन भने समस्या छ ।

सिंहले बनाउने बेतबाँसका सामग्रीका लागि कच्चा पदार्थ भने भारतको आसामबाट आउँछ । ‘आसामबाट सिलगढी हुँदै नेपाल आउने हो,’ उनले भने, ‘कहिले हामी आफैँ सिलगढी पुगेर ल्याउँछौँ, कहिले धुलाबारीमा ल्याउने व्यापारीलाई थोरै फाइदा दिएर त्यहाँबाट पनि ल्याउने गरेका छौँ ।’

No description available.

कुनैबेला सिलगढीबाट ल्याउँछन् कहिले धुलाबारीमा आएको बेला किनेर ल्याउने गरेको उनको भनाइ छ ।

धुलाबारीको एउटा संस्थाले सामान ल्याउँछ त्यसलाई थोरै फाइदा दिएर सामान ल्याउन पाइने सिंहको भनाइ छ ।

महंगा सामग्रीबाट परिवार चलाउन ठिक्क
बेतबाँसका सामग्री नेपाली बजारमा निक्कै महंगो छ । प्लाास्टिकका सामग्रीले बजार लिइरहेको अवस्थामा बेतबाँसका सामग्री प्लास्टिकभन्दा निक्कै महंगा पर्छन् । बेतबाँसका सामग्रीहरू प्रयोगका लागि निक्कै हल्का र प्रयोगमा सजिलो हुने प्रयोगकर्ताहरू बताउँछन् ।

No description available.

व्यवसायी सिंह बेतका सामग्री प्रयोगमा सजिलो तर केही महंगो पर्ने स्वीकार गर्छन् । बनाउन मेहनत पर्ने भएकाले महंगो पर्न गएको उनले बताए । एउटा सामान्य सोफाको १५ हजार पर्छ भने, मध्यमखालको सोफालाई ३५ हजार पर्छ । त्यस्तै महंगा सोफाको मूल्य ८० हजारसम्म पर्ने सिंहले बताए । सिंहले आफूले बेतबाँसको पलङसमेत बनाउँदै आएको बताए । ‘मैले बनाउने पलङको मूल्य २५ हजार पर्छ,’ उनले भने, ‘ह्याङ्गर र र्‍याकलाई तीन हजारसम्म पर्छ ।’ उनले होलसेलमा पनि आफूले उत्पादन गरेका सामग्री बेच्ने गर्छन्, कोक्रो, ह्याङ्गर र र्‍याकको होलसेलरको काम गर्ने गरेको उनले बताए । उनले बनाएका सामग्री विराटचोक, ईटहरी र तरहरासम्म जान्छ ।

लकडाउनपूर्व उनका कामदार ५ जनासम्म थिए । अहिले यो संख्या घटेर आफू एक्लै त कहिले छोरालाई साथमा लिएर उनी बेतका सामग्री बनाउँछन् । ‘लगानीको ग्यारेन्टी नभएपनि आएको सामानका आधारमा फाइदा र घाटा थाहा हुन्छ,’ उनले भने, कहिले सामान सडेको हुन्छ, सडेको सामानबाट सामग्री बन्दैन त्यस्तो बेला धेरै फाइदा हुँदैन ।’

बेत स्थानीय उत्पादन नभएकाले टाढाबाट ल्याउने र सामग्री बनाएर बेच्दा महंगो पर्ने सिंहको भनाइ छ ।

बनाइएका सामग्रीमा १० देखि १५ वर्षसम्मको ग्यारेन्टी दिनुपर्ने भएकाले यसलाई सर्वसाधारणले पनि रुचाएको उनले सुनाए ।

प्रतिक्रिया