पुनःस्थापना भइसकेको संसदमा नैतिकता देखाउनु नपर्ने हो ? : देवेन्द्र पौडेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आफैंले विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापना हुँदा पनि नैतिकता देखाउनु नपर्ने हो भनी प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेको भन्दै प्रधानमन्त्री आफैंले विघटन गरेको प्रतिनिधिसभा पुन:स्थापना हुँदा पनि नैतिकता देखाउनु नपर्ने हो? भनी प्रश्न गरेका हुन् ।

यसका साथै उनले यो संसद् काम छैन भन्ने सरकारको धारणा भए त्यो लोकतन्त्रविपरीत हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले संसद काम छैन भन्ने धारणा लोकतन्त्रविपरीत भएको भन्दै संसदलाई जनताको कुरा सुन्ने थलो बनाउनका लागि समेत आग्रह गरेका छन् ।

‘संसद् र संसदीय समितिमा प्रतिनिधित्व गर्ने कुरा हामीलाई पनि थाहा छ,’ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले भने, ‘यो संसद् काम छैन भन्‍ने सरकारको धारणा हो भने यो लोकतन्त्रविपरीत हुनेछ । संसद्लाई जनताको कुरा सुन्‍ने थलो बनाइयोस् ।’

राजनीतिमा नैतिकता हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठिरहेको उल्लेख गरेका छन् । ‘हामीले बनाएको संविधानको धारा १०० को उपधारा (२) मा विश्वासको मत लिनुपर्ने उल्लेख छ । कहाँ पुग्यो यो कुरा ?’ उनले भने, ‘अधिकांश दलले प्रधानमन्त्रीको राजीनामाको प्रश्न उठाएका छन् । के विषयमा उठ्यो त्यो पनि सबैलाई थाहा छ ।’

प्रतिक्रिया