सार्वजनिक यातायात की हिंसा गर्ने थलो ?

तपाईंहरूले याद गर्नु भएको छ ? सार्वजनिक यातायातमा ढोकाको माथिल्लो भागमा टाँसिएको एउटा कागजमा लेखिएको हुन्छ – सार्वजनिक यातयातमा महिला र बालबालिकामाथि हुने हिंसाको अन्त्य गरौँ !

अनि के पुरुष चाहीँ सार्वजनिक यातायात प्रयोग गर्ने क्रममा हिंसामा पर्दैनन् त ? खैर यो त भयो लेखाइका कुरा । आखिर सार्वजनिक यातायातमा हुने मानवीय हिंसाको अन्त्य गरौँ लेखेको भए पनि त्यसलाई कसले पो वास्ता गर्थ्यो होला र !

केही दिनअघि बानेश्वरबाट ‘सुगम मध्यपुर यातायात’ चढेर भक्तपुर फर्किँदा आफूलाई गरिएको व्यवहार सम्झिएर कड्किए काभ्रेपलाञ्चोकका सुरज तामाङ । उनी साँझ नयाँ बानेश्वरको कार्यालयबाट फर्किँदै थिए । गाडी खचाखच भिड थियो ।

जडिबुटी पुगेपछि एकजना महिलाले उनलाई बेस्सरी धकेलिदिइन् । सुरजको टाउको गाडीको ब्याग राख्ने ठाउँमा गएर ठोक्कियो । सुरज आफ्नो टाउको समाउँदै झर्किए, ‘बिस्तारै छोड्नुभन्दा हुन्छ नि, धकेलेर पछार्नै पर्ने हो र !’

सुरजको यो वाक्य भुईंमा खस्न नपाउँदै ती महिलाले जवाफ फर्काइन्, ‘जसो भन्यो त्यसैगरी यात्रा गर्न त आफ्नै प्राइभेट कार चाहिन्छ ।’ अन्दाजी ४५ वर्षकी ती महिला जडिबुटीमा बसबाट उत्रिने क्रममा सुरजलाई पेल्दै झर्दा यो घटना भएको थियो । त्यो जवाफ बसमै छाडेर ती महिला उत्रिइन् ।

सुरजलाई ती महिलासँग दुई/चार प्रश्न सोध्न मन थियो- के निजी सवारी साधन नभएका व्यक्तीलाई हिंसा र दुर्व्यवहारबिना नै यात्रा गर्ने अधिकार छैन त ? सार्वजनिक यातायातमा यात्रा गर्नेले के त्यहीभित्र थिच्ने, मार्नेजस्ता काम गरेपनि चुप लागेर सहेरै बस्नुपर्ने हो त ? तर यी प्रश्न गर्ने समय नै पाएनन् उनले । प्रायः सार्वजनिक यातायातमा यात्रा गर्दा आफूलाई भएको असहजता र दुर्व्यवहारविरुद्ध बोल्दा सुन्नैपर्ने वाक्य हो- आनन्दले बस्न त आफ्नै कार चाहिन्छ ।

तिनकुनेस्थित ह्वाइटहाउस कलेजमा अध्ययनरत एलिना चौलागाईँको व्यथा पनि सुरजको भन्दा कम दुःख लाग्ने छैन ।

बिहानको पढाइ सकेर गठ्ठाघरस्थित आफ्नो डेरा फर्कने क्रममा उनले धेरै पटक बसमा बाजाबाजसमेत गरेकी छन् । एलिनाले एक वर्षअघिको घटना सम्झँदै भनिन्, ‘बिहान ११ बजे तिनकुनेबाट घर फर्किन च्ह्यामासिङ्गको बस चढेकी थिएँ । बस भिड थियो । बल्लतल्ल खाँदिएर अडिए । सहचालकले पछाडि सर्नुस् भन्दै गर्दा बसको अन्तिम सिटनेर पुगेँ । यात्रु चढ्ने र ओर्लने क्रम जारी थियो नै । कोटेश्वर पुगेपछि एक पुरुषले मेरो पछाडिबाट अङ्कमाल गरेजसरी मलाई उनको दुई हातको बिचमा पारेर उभिए । बस धेरै प्याक थियो, उनको त्यो व्यावहारलाई प्रतिवाद गर्न सकिनँ । चुप लागेर ती पुरुषको दुई हातमा जेलिएर बसेकी थिएँ । गाडी जडिबुटी हुँदै लोकन्थली पुग्यो । अलिक खुकुलो भयो । यात्रुहरू झरे । तर ती पुरुष पछिल्तिरबाट डेग चलेनन् । अब मलाई रिस उठ्यो । अलिक पर सर्नु न अफ्ठ्यारो भयो भनेँ । फेरि मेरो कुरा टेडपुच्छर नलगाई मलाई अचेटेर बसे । अब मलाई नियतमा खोट भएको प्रष्टै थाहा भयो । अर्को पटकमा बेस्सरी हात झड्कारेँ र भनेँ मलाई छोड भनेको । ठूलै स्वरले चिच्याएछु । बसका अरु यात्रुले पनि मतिर फर्किएर हेरे । यत्तिकैमा मेरै छेउमा उभिएकी अर्की महिलाले फ्याट्ट भनिहालिन्, ‘यो मान्छे त कस्तो खत्तम रहेछ । अघि मलाई पनि कता कता छोएर बल्ल त्यतापट्टी सरेको ।’ उनले यसो भन्नासाथ ती पुरुष कौशलटारमा ओर्लिए । यो घटनापछि नियतैले सार्वजनिक यातायातमा दुर्व्यवहार गर्ने मान्छे हुँदा रहेछन् भन्ने मैले बुझेकी छु ।’

सिन्धुपाल्चोक घर भई हाल धुन्चेपाखा बसोबास गर्ने शुभद्रा अधिकारी विगत १२ वर्षदेखि बबरमहलस्थित नेपाल टेलिकममा काम गर्छिन् । यो १२ वर्षसम्म सार्वजनिक यातायातमा यात्रा गर्दा उनले धेरै दुःख, कष्ट र झमेलालाई नजिकबाट नियालेकी छन् ।

उनी भन्छिन्, ‘सहचालकको ज्यादति त सधैंभरी छ नै । सुरूमा गुन्द्रुक खाँदेझैँ मान्छे खाँद्छन् । अनि छिटो झर्नु भन्दै हपार्छन् । त्योबाहेक बेलाबेलामा अस्वस्थ पुरुष पनि मारमा परेको महशुस गरेको छु । बिरामी नै भएर महिला सिटमा बस्दा पनि एउटी स्वस्थ महिला आएर झर्किँदै- यो महिला सिट हो छोड्नुस् भन्दै छोड्न लगाएको पनि देखेकी छु । के यो पनि हिंसा नै होइन र ? आरक्षणले जन्माएको हिंसाजस्तो लाग्छ मलाई ।’

सार्वजनिक यातायातमा हिंसा तथा अभद्र व्यवहार हुँदा १०० मा फोन गरी प्रहरीलाई जानकारी दिन सकिन्छ भन्नेबारे कतिलाई थाहा नै छैन । कतिले आफूलाई हुने दुर्व्यवहारविरुद्ध कहाँ उजुरी गर्ने नै थाहा नभएको बताउने गर्छन् ।

बानेश्वर कलेज शान्तिनगरमा स्नातक तहमा अध्ययन गर्ने सरीना पौडेलले गत वर्ष मध्यदिउँसो बिच सडकमा एउटा घटना व्यहोरिन् । उनले गाडी रोकेको ठाउँमा भोगेको दुर्व्यवहार अरूभन्दा फरक र कहालिलाग्दो छ । उनी क्याम्पसबाट छुट्टी भएपछि गाडी चढ्न तिनकुनेतर्फ जाँदै थिइन् । उनीसँग बानेश्वर क्याम्पसका अन्य छात्राहरू पनि थिए ।

सडक छेउमा लस्करै पार्क गरिएका झण्डै १५ वटा गाडीहरू थिए । हिँड्दै गर्दा कुनै एक गाडीबाट ‘ओई’ भनेको आवाज सुनियो । सरीना र उनका सबै साथीले आवाज कताबाट आयो भनेर हेरे । त्यहाँ एक युवक नग्न अवस्थामा आफ्नो गोप्य अङ्ग चलाइरहेको उनीहरूले देखे । अचानक नग्न देखिएका ती युवा एकैछिनमा त्यहाँबाट गायव भए । कुन गाडीको पछाडि हराए पत्तै भएन ।

सरिना भन्छिन्, ‘त्यो बेला एउटा अपराधीको क्षणिक उत्तेजनाले कोही केटी जुनसुकै बेला सार्वजनिक स्थलमा नै बलात्कृत हुन सक्ने रहिछन् भन्ने लाग्यो । त्यसपछि मनमा एउटा अर्कै किसिमको डर पैदा भएको छ । धेरै गाडी पार्क गरेको ठाउँमा उभिने आँट नै आउँदैन । यस्तो घटनाको उजुरी के प्रमाण लिएर कहाँ गएर गर्नु ?’

हेल्पिङह्यान्ड अस्पतालमा कार्यरत बन्दना अधिकारी भने चालक र सहचालकको ज्यादतीले सार्वजनिक यातायात चढ्नै मन लाग्ने बताउछिन् । बन्दना भन्छिन्, ‘सहचालकले कतिसम्म गरेका छन् भने- एकपटक महालक्ष्मीस्थानमा उत्रिनुपर्ने थियो ।

अन्तिम सिटमा बसेकी थिएँ । छिटो उत्रिनु भन्दै सहचालक चिच्याउन थाले । बसको भिडलाई छिचोल्दै ढोकासम्म आइपुगे । झर्नै लागेका बेला सहचालकले ढोकाबाट धकेलिदिए । भुईंमा पछारिएँ । गाडी हुइँक्याइहाल्यो । गाडी नम्बर टिप्न पनि भ्याइनँ । नत्र प्रहरीलाई खबर गर्थेँ ।’

यी सार्वजनिक यातायातमा यात्रा गर्ने प्रायःले भोग्ने सास्तीको केही उदाहरणमात्र हो । सार्वजनिक यातायातमा दैनिक शारीरिक र यौनजन्य हिंसाको शिकार भइरहन्छन्, यात्रुहरू । अपराधीले सार्वजनिक यातायातलाई पनि अपराध र हिंसाको थलो बनाएका छन् । अनामनगरकी रीता अर्याल नेपाल यातायात चढ्दा दुई पटक पाकेटमारको फन्दामा परिसकेको सुनाउँछिन् ।

त्यो घटनापछि रीता हिँड्छिन् तर सकभर सार्वजनिक यातयात’ त्यसमा पनि नेपाल यातायात चढ्दिनन् ।

प्रहरीले सार्वजनिक यातायातमा हुने यौनजन्य अपराध घटाउन ‘अपरेसन सेफ्टी पिन’ आरम्भ गरेको थियो । २०७५ मा प्रहरीले सुरु गरेको यो अभियानमा सुरुमा महिला प्रहरीसहितको केही प्रहरी सदस्य दैनिक सादा पोसाकमा सार्वजनिक यातायातमा चढ्ने, सूक्ष्म निगरानी गर्ने र हिंसा गर्नेलाई गिरफ्तार गरी कारवाही गर्ने भनिएको थियो । प्रहरीको यो अपरेसनमा उपत्यकाको ९० जना प्रहरी खटेका थिए । अहिले प्रहरीको त्यो अभियानले पनि निरन्तरता पाउन सकेको छैन । हिंसाजन्य घटना दिनप्रतिदिन बढ्दो छ ।

प्रतिक्रिया