ओलीले ‘म’ र ‘मेरो’बाहेक केही देख्दैनन् : भुसाल

काठमाडौं । विपक्षी एमाले नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘म’ र ‘मेरो’ बाहेक केही पनि नदेख्ने बताएका छन् । आफूलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन भएपछि नेता भुसालले यस्तो बताएका हुन् ।

पार्टी अध्यक्ष ओलीले आफूलाई कारबाही गरेपछि नेता भुसालले फेसबूकमार्फत भनेका छन्– ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँचिदिन्छु’, यो उनी आफैँले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।’

यस्तै नेता भुसालले आफ्नो पार्टी अध्यक्ष ओलीले गरेको बर्बादीको लागि आफूले दुनियाँसँग माफी माग्ने पनि बताएका छन् । ‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर, यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।

प्रतिक्रिया