ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको सर्वोच्च अदालतमा सोमबार (आज) पुनः पेशी चढेको छ ।

अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारका लागि पेशी तोक्दै न्यायाधीश अनिल सिन्हा र हरि फुयाँलको इजलास गठन गरेका छन् । सो रिटको इजलास पहिलो नम्बरमा छ ।

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा नेपाल र भट्टराईलाईसमेत मुद्दा चलाउनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए । सोही बेला जग्गा व्यक्तिको नाममा लगिएको थियो । अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया