तङ्ग्रिएला त हुलाक ?

  • मनिषा पौडेल

तपाईँले कसैलाई वा कसैले तपाईँलाई सन्देश नपठाएको कति समय भयो ? धेरै समय भएको छैन होला । एसएमएसमार्फत् वा इमेलमार्फत्, वा च्याट मार्फत् हामी साथीभाइ, आफन्त, नातागोता, कार्यलय, देश विदेशतिर जोडिइरहेकै हुन्छौँ । मतलब दिनमै दर्जनौ पटक कसै न कसैसँग सन्देश आदानप्रदान गरिराखिएकै हुन्छ ।

तर, तपाईँले हुलाकमार्फत् सन्देश आदान प्रदान नगरेको चाहिँ धेरै समय भएको हुन सक्छ । चिठि लेखेर खामबन्दी गरेर हुलाक पुगेर टिकट टाँसेर बाक्सामा खसाएको वा कर्मचारीलाई दिएर कसैलाई सन्देश नपठाएको त वर्षौं भएको हुन सक्छ ।

भन्नुको मतलब नेपालमा हुलाक सेवा पनि बुढो र जीर्ण भएको छ । सडकमा राखिएका पत्र मञ्जुषाहरू अचेल लगभग हराइसके । भएकामा पनि कसैले शायदै चिठी खसाउँदो हो । खसाइहाले पनि त्यहाँ हुलाकका कर्मचारीले त्यो लैजालान् र ?

नेपालकोे सरकारी सेवामध्ये सम्भवतः सबैभन्दा छायाँमा रहेको सेवा हो हुलाक सेवा । शायद, पछिल्लो पुस्तालाई जीर्ण सरकारी सेवाबारे जानकारी वा उदाहरण दिनुपर्यो भने हुलाक कार्यालयहरु उपयुक्त थलो हुन्छन् कि ? चिठीपत्रको जमानालाई ईन्टरनेट र मोबाइलले विस्थापित नै गरिसकेको छ ।

‘हुलाकमा त के काम हुन्छ र ?’ आम मानिसको हुलाकप्रतिको धारणा हो यो । सरकारी सेवामा पनि हुलाकमा पोष्टिङ वा सरुवा हुनु कामै नगरी तलब पकाउन दिनु हो भन्ने जस्तो बुझाइ छ ।

ठेगाना पत्ता लगाउन सकस
काठमाडौंको डिल्लीबजारमा रहेको गोश्वारा हुलाक कार्यालयमा पुग्दा अव्यवस्थित चिठी र पार्सलका चाङ थिए । सुन्धाराबाट सरेको नयाँ र चिटिक्कको भव्य गोश्वारा हुलाक कार्यालयमा यी चिठीपत्र र पार्सलको चाङ ठेगाना पत्ता नलागेर लागेको हो । यो देख्दा साँच्चै हुलाक सेवा जीर्ण भएको हो कि जस्तो लाग्छ ।

तर गोश्वारा हुलाक कार्यालयका प्रमुख उपसचिव प्रद्युम्न उपाध्याय भने यो कुरासँग सहमत छँदै छैनन् । उनी भन्छन्, ‘हुलाकमा हामीले गर्नुपर्ने धेरै काम हुन्छ र छ ।’

आम मानिसले के काम छ होला र भन्ठान्ने हुलाकमा धेरै काम ?

के-के छन् त ?

उपसचिव उपाध्याय भन्छन्‚ ‘हुलाक सस्तो सरकारी सूचना तथा सञ्चारको सेवा हो । हुलाकलाई भरपर्दो र विश्वासिलो बनाउन सक्ने हो भने आम मानिसको विश्वास जित्न कठीन छैन ।’

No description available.
गोश्वारा हुलाक कार्यालयका प्रमुख उपसचिव प्रद्युम्न उपाध्याय

‘काठमाडौंलगायत शहरको तीव्र भौतिक विकास परम्परागत हुलाक सेवाको चुनौती बन्न पुग्यो‚’ उनले थपे ।

पहिलेको तुलानामा अत्यन्त कम मात्र चिठीपत्र र पार्सल हुलाकमा आउने भएपनि हल्कारालाई त्यही पत्र र पार्सलको ठेगाना पत्ता लगाउन कठिन भयो । बसिरहेको ठाउँबाट अर्को ठाउँमा सर्ने वा देश बाहिरै जाने जस्ता समस्याले गर्दा पनि ठेगाना भेट्न मुस्किल भयो ।

के हुन्छ प्रापक नपाइने पत्र र पार्सलमा ?
प्रापकमा नाम ठेगाना लेखेर पठाइएपनि ठेगाना नभेटिने वा प्रापक नभेटिने चिठीपत्र धुल्याउने गरिन्छ । सामान अर्थात् पार्सलहरु भने लिलाम गरिन्छ ।

हुलाकलाई डिजिटलाइज गरिँदै
ठेगाना नभेटेर पत्र र पार्सल प्रापकलाई हस्तान्तरण गर्न नसकिने समस्या बढेपछि अब गुगल प्लस कोड प्रविधि अवलम्बन गर्न थालिएको उपाध्यायाले मकालु खबरलाई जानकारी दिए ।

के हो गुगल प्लस कोड ?
गुगल प्लस कोड गुगलले २०१५ मा पत्ता लगाई विकास गरेको कोड जेनेरेट गर्ने सिस्टम हो । यसबाट पृथ्वीको अंक्षाश र देशान्तरको आधारमा सबै ठाउँको गुगल प्लस कोड बनाउन सकिन्छ । ६ वटा नम्बर भएको कोडबाट जुनसुकै ठाउँ र घरको लोकेसन सजिलै पत्ता लगाउन सकिन्छ । यो कोड एन्ड्रोइड फोनमा गुगल म्यापबाट बनाउन मिल्छ ।

यही गुगल प्लस कोडलाई नेपाल हुलाक सेवाले प्रयोग गर्न थालेको छ । गुगल प्लस कोड लेखेर पठाउँदा सजिलै लोकेसनमात्र नभई घरसमेत पत्ता लगाउन सकिने भएकाले प्रयोगमा ल्याइएको उपाध्याय बताउँछन् ।

फागुन २० गतेबाट गोश्वारा हुलाक कार्यालयले गुगल कोडद्वारा सेवा सुरु गरेपनि आजसम्म गुगल प्लस कोड सम्मिलित दुईवटा मात्र पत्र कार्यालयलाई प्राप्त भएको उनले जानकारी दिए । प्रद्युम्न भन्छन्, ‘ती दुईवटै चिठी धेरै खुशी भएर हल्काराले ठेगानामा पुर्‍याइदिए । अब सबैलाई सेवाबारे जानकारी गराउन सकियो भने चिठी र पार्सल नष्ट गर्नुपर्ने अवस्था आउँदैन ।’

अहिले हुलाक कार्यालयलाई सेवाबारे प्रचार गर्नु नै चुनौतीपूर्ण काम लागेको छ । यदि भनेजस्तो भयो भने अनि हुलाक सेवा सजिलो, छरितो र सस्तो बनेर सबैले पत्राचार र पार्सलका लागि हुलाकमात्र पो प्रयोग गर्न थाले भने नि ?

‘त्यो थप चुनौतीपूर्ण अवस्था हो, तर यस्तो अवस्था आएमा पनि जनशक्ति व्यवस्थापन गर्न सकिन्छ ।’ उत्साहित हुँदै उपाध्याय भन्छन् ।

हुलाक कार्यालयले २०७८ सालमा हुने जनगणनामा खटिने गणकले हरेक घरमा एउटा गुगल प्लस कोड जेनेरेट गरी उपलब्ध गराउने योजना बनाएको छ । यस्तै बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्दा गुगल प्लस कोड अनिवार्य फाराममा भर्नैपर्ने नियम बनाएर यसलाई व्यापक बनाउने योजना पनि रहेको उपाध्यायले जानकारी दिए ।

ब्युताउन सकिन्छ हुलाक
हुलाक क्षेत्र ओझेलमा पर्नुको कारण जनशक्तिमा प्राविधिक ज्ञानको कमी हो भन्ने प्रमुख उपाध्यायको ठम्याइ छ । सरकारी हरेक क्षेत्रमा कर्मचारी प्रविधिसँग अपडेट नभएर समस्या आउने गरेको उनको अनुभव छ ।

हुलाक सेवा जीर्ण बन्दै जाँदा हुलाकले गर्नेजस्तै काम गर्ने अर्थात् चिठीपत्र, पार्सल पठाउने कुरियर्सहरू भने मज्जाले चलेका छन् । चलेका मात्र होइन नयाँ नयाँ खुलिरहेका छन् । र उनीहरुले नाफा पनि कमाइरहेका छन् ।

सरकारी निकायका सबै चिठीपत्र, पार्सल हुलाकबाट मात्र पठाउँनुपर्छ भन्छन् उपाध्याय । ‘निजी कुरियरले संघसंस्था र जनतालाई धेरै ठगिरहेका छन् । निजी कुरियर १५ सय लिएर गर्ने काम हुलाकबाट ३ सयमा नै गर्न सकिन्छ ।’ उनी आफ्नो कुरा पुष्टि गर्छन् ।

हुलाकमा चिठीपत्र नै आउँदैन भन्ठान्नु अहिलेको अवस्थामा स्वभाविक जस्तो लागेपनि वास्तवमा अवस्था त्यस्तो भने होइन ।

देशभर ३ हजारभन्दा बढी हुलाक कार्यालय रहेको र तीमध्ये केहीमा बाहेक सबैजसोमा चिठीपत्र र पार्सल आइरहेको कार्यालय प्रमुख उपाध्यायले बताए । गोश्वारा हुलाक कार्यालयमा पनि दैनिक २ हजारसम्म चिठी पत्र र पार्सल आउने गरेको उनी बताउँछन् । चिठीपत्रको व्यवस्थापन र सेवाको तीव्रतासँग समस्या भएको उनको भनाइ छ ।

‘अब हामी यसलाई प्राविधिक र व्यवस्थित बनाउँछौँ र मानिसहरू फेरि हुलाकको धेरै प्रयोग गर्न थाल्नेछन् ।’ उपाध्याय विश्वासका साथ बताउँछन् ।

उनको विश्वास यथार्थमा बदलिन्छ कि बदलिँदैन भनिहाल्न सकिँदैन । तर, गुगल प्लस कोडको विस्तार, जनशक्ति हेरफेर र तालिम तथा अद्यावधिक, सस्तो शुल्क, जस्ता योजनालाई व्यवहारमा उतार्न सके यो असम्भव भने होइन ।

प्रतिक्रिया