खुवालुङ शक्तिपीठ पनि हो

  • भिम राई

किरात राई समुदाय प्रकृति पुजक हुन् । प्रकृतिभन्दा माथी यो समुदायले अरु केही देख्दैन । जन्मदेखि मृत्युसम्म गरिने सम्पुर्ण कार्यहरु प्रकृतिसँग जोडिएकै हुन्छ । मुन्दुममा आधारित विभिन्न प्रक्रियाहरू पुरा गर्दा समेत प्रकृतिलाई नै सम्मान गर्ने प्रचलन किरात समुदायमा रहेको छ । आगो, पानी, जल, जंगल, र जमिनको पूजा गर्नु किरात समुदायको मूलभुत कर्म हो ।

आफ्नो संस्कार, संस्कृति, भाषा र धर्मका बारेमा यो समुदाय निकै चिन्तित र सचेत छ । पछिल्लो समयमा आफ्ना आस्थाका प्रतिकहरुमाथी राज्य संयन्त्रले निरन्तर धावा बोलिरहँदा सचेत किरात समुदायहरु यसको रखवारी गर्न लागि परेका छन् ।

किरात समुदाय अलिखित धर्मग्रन्थमा आधारित मुन्दुम दर्शनमा आधारित रहेर आफ्नो रीतिथिति संस्कृतिमा रमाउँछन् ।

अहिलेपनि गाउँघरमा भन्ने गरिएको किरात समुदायको थुुतुरीवेद प्रचलनमा छ । थुतुरीवेद अर्थात् मुखैलेमात्र कण्ठस्त पारिएको धर्मग्रन्थको आधारमा किरात समुदायको जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कार्य गरिन्छ । यसमा अन्य धार्मिक समुदायको जस्तो पुरोहित, लामा, पास्टर भनेजस्ता केही हुँदैनन्‚ जसले पढि ज्ञान आर्जन गरेका हुन्छन् ।

किरात समुदायमा पुस्तान्तरण मुन्दुमी शैलीहरू रहेका छन् । जन्म संस्कार, बिहे संस्कार वा अन्य जुनसुकै कर्मकाण्डमा पुर्खाहरुले जे भन्दै र गर्दै आएका थिए सोहीअनुसार गर्ने चलन रहेको छ । आफ्नो पितृ पूजादेखि बाह्य शक्तिको पूजा अर्चना गर्ने आफ्नै तौरतरिका रहेका छन् ।

किराती समुदायको सबैभन्दा ठूलो सम्पत्ति नै सुनी जान्ने चलन हो । हाम्रो पुर्खाले जे बोलेका थिए त्यो पुर्खाहरुको शेखपछि सन्तानहरुले भन्दै आए । यसलाई थप पुष्ट्याईं गर्नका लागि नक्छुङहरुले मुन्धुमी रिसियाको माध्यमबाट शक्ति आर्जन गरिरहे । कुलको धामी (नागिरे), बाहिर हेरकोर गर्ने बिजुवा (नोक्छुङ) होस् वा केही खुट्टयाउन नसक्ने तर शिलसिलेवार रिसिया गाउन सक्ने देवा वा कुबी होस् उनीहरूले निरन्तर आफ्नो पुर्खाको पैताला पछ्याइरहेको इतिहास हामीसँग छ ।

यसरी नै निरन्तर पछ्याउँदै आउने क्रममा प्रत्येक कुवि, नागिरे, बिजुवाहरुले बोलाउने नाम हो खुवालुङ । यसका बारेमा पछिल्लो समयमा आएर धेरै ठाउँ धेरै कुराहरु लेखिएका छन् । खुवालुङको अर्थ र यसको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वका बारेमा प्रत्येक किरात समुदायमा मिल्दाजुल्दा मिथकहरु रहेका छन् । सबैले यसलाई केन्द्रबिन्दु मानेर सुनिआएका कुराहरुले भन्दै आएका छन् ।

सामान्यतया मर्दा पर्दा किराती समुदायमा एउटा बाटो डोरो कोरिएको हुन्छ ।

त्यही बाटो डोरोमा हिँडेर जाँदा पुगिने‚ बिसाउने ठाउँ हो खुवालुङ । धार्मिक तथा सांस्कृतिक किराती मुन्दुम र संस्कार संस्कृतिहरूमा अनिवार्य अपरिहार्य मानिएको खुवालुङमा देवा वा कुवि पुग्दा बिसाउनी गरिन्छ । पार तर्नका लागि खाजापानीको जोहो गर्ने भन्दै आफ्नो संस्कारअनुसार दुमी किरात राई समुदायमा कम नम्नु अर्थात् मुख जुठो गर्ने प्रचलन रहेको छ ।

त्रीवेणीघाट, भोजपुर, उदयपुर, धनकुटाको सङ्गमस्थलमा रहेको खुवालुङमा पुग्दा पसिना पुछाउने चलन छ ।

यी क्षेत्र धेरै ठाउँमा उल्लेख भइसकेका छन् । मानव विकासको सभ्यता आदिम पुर्खाहरू मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किरात) माइला र रिब्लबुङ (थारु) कान्छा तीन दाजुभाइहरु थिए ।

जब उनीहरू समथर भूमिबाट उकालो लागेर खुवालुङ आए त्यहाँ ढोका बन्द थियो । जेठा मुकुबुङ्ले केकी (जुरेली) चराको भोग दिएपछि ढोका खुल्यो र पार गरे तर माइला भाइ हर्कबुङले भने पार गर्न सकेनन् । अनि दाइलाई सोध्दा रगत पारेमा मात्र तर्न सकिन्छ भनेपछि हर्कबुङ्ले आफ्नो साथमा भएकी चेलीको कान्छी औँला मागेर काटी रगत दिए र पार गरे तर चेलीको रगत रोकिएन बाटोमा जाँदै गर्दा चेलीको रगत केराको पातमा खस्यो र बाख्राले खायो तुरुन्त चेलीको मृत्यु भयो । त्यसैले राईहरू बाख्रा कुलपितृमा चलाउँदैनन् र मासु पनि खाँदैनन् ।

अझै अर्को महत्वपुर्ण कुरा त के भने किराती समुदायको बिजुवा धामी नक्छुङहरु गाउँ ठाउँका देवी देवतालाई शक्ति माग्दै अगाडि बढ्ने क्रममा भिर-पहरा, झार जंगल नदीनालामा खेल्ने, तालतलैयमा रमाउने शक्तीहरुसँग बल माग्दै जाने क्रममा खुवालुङ पुगेपछि विश्राम लिन्छन् ।

यसपछि भने उनिहरुले माझी समुदायको पुर्खाहरुलाई सम्झन्छन् । उनिहरुले खुवालुङ पार गर्नकै लागि त्यसबेला डुङ्गा तार्ने शिली गर्दै खुवालुङसँग बल माग्छन् । त्यसलाई खेवा तार्ने भन्ने गरिन्छ । खेवा तर्ने बेला सबैले नक्छुङलाई केही न केही दान दिनुपर्ने हुन्छ । धामीहरुले आफ्नो जामामा खेवा उठाउँछन् । कसैले पैसा, कसैले थोरै अक्षता या आफूसँग जे छ खेवा तर्दा दिनै पर्ने हुन्छ । नक्छुङले ती सबै उठाएर खेवा तार्छन् । पारी तरिकसेकपछि सबैको सातो उठाउने । हेरकोर गर्ने काम गरिन्छ ।

समग्रमा भन्दा अन्य समुदायले मान्ने गरेको शक्ति पीठहरू जस्तै खुवालुङ किरात समुदायको महत्वपूर्ण शक्ति पीठ हो । जुन ठाउँमा पुगेर बल मागेपछि शक्ति आर्जन हुने र सबै किसिमको रोग कष्टको समेत निराकरण गरिने भएकाले यसको महत्व रहेको छ ।

प्रतिक्रिया