‘खुवालुङ’ गीति भिडियो बनाउँदै गायक जनम थुलुङ

काठमाडौं । गायक तथा संगीतकार जनम थुलुङले ‘खुवालुङ’ गीति भिडियो निर्माण गर्ने भएका छन् । भर्खरै थुलुङ राई भाषाको गीति भिडिओ ‘माम पाप’ बजारमा ल्याएका थुलुङले खुवालुङ गीति भिडियो निर्माण गर्ने भएका हुन् ।

दुई वर्ष पहिल्यै रेकर्ड गरिएको ‘खुवालुङ खुल खुल’ शीर्षकको गीतको भिडियो बनाउन अहिले लागिपर्नुलाई गायक थुलुङले समयको माग भनेका छन् । थुलुङले ढिलै भएपनि भिडियो निर्माण गरेर किराँती सभ्यता र इतिहासलाई जीवन्त बनाउने बताएका छन् । म्युजिक भिडियोले किराँतीहरुलाई आफ्नो आदीम इतिहास सम्झाउने र एकताबद्ध हुन उत्प्रेरित गर्ने थुलुङले आशा राखेका छन् ।

किरात राई लेखक संघका अध्यक्ष खुक्सङ खुम्बु राईले पाँच वर्ष अघि रचना गरेका गीतलाई थुलुङले संगीत भरेर स्वरबद्ध गरेका हुन् । उक्त गीत थुलुङकै आधिकारिक यूट्युब च्यानल Janam Thulung Official मार्फत् सुन्न सकिन्छ ।

किन अहिले बन्ने भयो भिडियो ?
‘खुवालुङ’ गीत दुई वर्ष पहिल्यै रेकर्ड भएको गीत हो । गीतले माग्ने कथाअनुसार मोटै खर्च लाग्ने भएकोले अहिलेसम्म भिडियो बन्न सकेको थिएन । पछिल्लो समय खुवालुङको चर्चा चलेसँगै केही शुभेच्छुक र आफन्तहरुको आर्थिक सहयोगमा र केही आफ्नै लगानीमा थुलुङ भिडियो बनाउन कस्सिएका छन् ।

थुलुङले  आगामी बैशाख पहिलो साता सुटिङ्गमा निस्कने तयारी गर्दैछन् । खुवालुङसँग सम्बन्धित, मुन्दुममा वर्णित आदीम कथालाई एनिमेशनमार्फत् समेट्ने र हाल किराँतीहरु बसोबास गरिरहेको सबै खोला र बस्ती पछ्याउँदै गएर सम्बन्धित समुदायकै सहभागिता र अभिनयमा भिडियो छायाकंन गर्ने योजना रहेको बताएका छन् । भिडियो छायाकंन कम्तामा १ महिना लाग्ने अनुमान गरिउको छ ।

स्रोता, दर्शकले असाध्यै रुचाएको गीतले किराँतीको आदीम इतिहासलाई सम्झाउने छ भने वर्तमानमा एकताको सन्देश पनि सम्प्रेषण गर्नेछ । गीतअनुसारै किराँतीहरुको आदीम कथा र वर्तमान अवस्थालाई भिडियोले समेट्ने थुलुङले बताए । कतिपय सचेत स्रोता, दर्शकले गीतलाई किराँतीको राष्ट्रिय गीतको संज्ञासमेत दिएका छन् ।

गत फागुन ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खुवालुङ भत्काएर पानीजहाज चलाउने बताएका थिए । त्यसपछि आफ्नो आस्थाको धरोहरमाथि चोट पुगेको भन्दै किराँत समुदायले प्रतिरोध गरिरहेका छन् । यसै सेरोफेरोमा गीत, सङ्गीतको माध्यमबाट खुवालुङको बारेमा म्युजिक भिडियो बनाएर अझ जनजागरण जगाउने, खुवालुङको संरक्षण र संम्वर्द्धनमा टेवा पुर्याउने लक्ष्य रहेको गायक थुलुङले बताए ।

https://www.youtube.com/watch?v=S-V_lyEnbBg

प्रतिक्रिया