ओलीलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बनाउने हाे : शशांक (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको पहिलो ध्येय रहेको बताएका हुन् ।

यसका निम्ति मधेशवादी दलहरुसँग छलफल चलिरहेको पनि नेता कोइरालाले बताए । ‘नेपाली कांग्रेस पर्ख र हेरकाे अवस्थामा छ,’ नेता कोइरालाले भनेका छन्, ‘आजपनि मधेशी पार्टीहरुसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनसाय हाम्रो छ ।’

कांग्रेसले शुक्रबार मात्रै जनता समाजवादी पार्टीसँग नयाँ सरकार गठनको सम्बन्धमा छलफल गरेको छ । सत्ता समीकरणमा निर्णायक बनेको जसपासँगको कांग्रेसको छलफललाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया