विप्लव शान्तिपूर्ण राजनीतिमा आउनुको अर्थ

  • धनबल राई

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । सरकारसँगको वार्तापछि विप्लव मूलधारको राजनीतिमा सामेल हुन तयार भएको हो ।

सत्तारुढ नेकपा राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेका बेला विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अझ रोचक त के छ भने– हिजो सशस्त्र विद्रोह र शान्तिपूर्ण राजनीतिमा समेत सहयात्रा गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाभित्रै छुट्टिएपछि विप्लव नेकपाको अर्को खेमाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता र सहमतिका लागि तयार भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता सुवासचन्द्र नेम्वाङ् विप्लवको लागि मूलधारको राजनीतिमा होमिन अहिलेकै समय उपयुक्त भएको बताउँछन् । ‘प्रचण्ड अहिलेसम्म सत्तापक्षमै रहेका भए विप्लव वार्ताका लागि तयार हुँदैनथे,’ मकालु खबरसँग नेता नेम्वाङ्ले भने, ‘शायद विप्लवलाई अहिलेको सरकारसँग वार्ता गरिएको खण्डमा ठीक राजनीतिक गन्तव्यमा पुगिन्छ भन्ने लागेको हुनसक्छ । उहाँ यसरी आउनुलाई सहर्ष स्वीकार्नुपर्छ ।’

लामो समयदेखि मुलुकमा विध्वंसात्मक गतिविधि गर्दै आएको विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको खबरसँगै आमनागरिकलाई पनि एक खालको हर्ष मिलेको छ । तर, यो कतै राजनीतिक लाभहानीको विषय मात्र बन्ने त होइन ? भन्ने आशंकाहरु पनि कायमै छन् ।

बिहीबार ३ बुँदे सहमति भएसँगै विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । तर विप्लव समूहका हात–हतियारबारे दुवै पक्ष मौन छन् । सहमतिपछि विप्लव नेतृत्वको नेकपा सरकारमा सहभागी हुन सक्ने आकलनहरु पनि भइरहेका छन् भने दलीय एकताका सम्भावनाहरुबारे कुराहरु भइरहेका छन् । शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एकै मञ्चबाट गर्ने सम्बोधनमा यो विषयका थप कुराहरु आउलान् भन्ने अपेक्षा गर्न सकिन्छ ।

पूर्वमाओवादी नेता खिमलाल देवकोटालाई विप्लव समूहको ‘टार्गेट’ खाली प्रतिबन्ध फुकुवा मात्रै नभएको टिप्पणी गर्छन् ।

‘प्रतिबन्ध फुकुवा भएपछि ठूलो रुपमा जनपरिचालन गर्न पाइने भयो,’ देवकोटाले मकालु खबरसँग भने, ‘त्यसका लागि सभा, सम्मेलन तथा जुलुसहरु गर्न पाइने भयो । त्यसपछि शान्तिपूर्ण रुपमा आफ्ना माग अगाडि सार्न पाइयो । यसरी आफ्नो राजनीतिक आवश्यकता पूरा गर्नुहोला विप्लवजीहरुले ।’

विप्लवले वार्ताको पूर्वशर्तको रुपमा आफू र नेताहरुविरुद्धको मुद्दा फिर्ता र पक्राउ नेता/कार्यकर्ताको रिहाको विषय अगाडि बढाएको देवकोटाको बुझाइ छ । ‘सरकारले अब सहज रुपमा त्यो काम गर्‍यो भने विप्लवजीहरू शान्तिपूर्ण रुपमा अगाडि बढ्नुहोला,’ देवकोटाले थपे, ‘सरकारले त्यसो नगरेमा सरकार धोकेबाज हो भन्नुहोला, त्यसैगरी नै जाला विप्लवजीहरुको राजनीति यात्रा ।’

हिजोको विप्लव समूहमाथिको प्रतिबन्ध नै वाहियात भएको तर्क गर्ने देवकोटाले थपे, ‘संविधानबमोजिम कसैलाई प्रतिबन्ध लगाउनु पाइन्नथ्यो । हिजो पनि हुन नहुने काम भएको थियो । त्यो सच्चिनपर्ने नै थियो । ठीकै भयो ।’

त्यसो त विप्लव समूहले वर्षौँदेखि ‘संसदीय प्रणाली कि वैज्ञानिक समाजवाद ?’ भन्ने विषयमा जनमत संग्रह हुनुपर्ने माग राख्दै आएको छ । देवकोटा अब विप्लवले यही एजेण्डालाई अघि सार्नसक्ने बताउँछन् । ‘तर सरकार जनमत संग्रहको लागि तयार हुँदैन । यदि भइहाल्यो भने पनि संविधान संशोधनसम्मको कुरा आउँछ । त्यसमा सबैको धारणा मिल्दैन । त्यसपछि विप्लव समूहले सहमतिको पालना सरकारले गरेन भनेर भन्छ । अन्ततः स्थिति उही पुरानो हुन सक्छ‚’ देवकोटाले भने ।

विप्लव अहिलेकै अवस्थामा मूलधारमा आउनुलाई भने ‘ओली स्टन्ट’ मात्र हुनसक्ने खतरा पनि रहेको बताउनेहरु पनि छन् ।

‘पछि मैले त लौ यस्तो काम गरेर आएको हो भन्ने एउटा ओलीजीको स्टन्टमात्रै हो । अब अन्तिमतिर आउँदा फुकुवा गरेर जाउँ भन्ने लागेको हुनसक्छ ओलीजीलाई । त्यसले राजनीतिक रुपमा ठूलो अर्थ राख्दैन । खाली ओलीजीले एउटा पलिटिकल स्टन्ट बनाएका हुन् ।’

प्रधानमन्त्री ओलीलाई आफूले लगाएको प्रतिबन्ध आफैँलाई वाहियात लागेर आफू सत्ताबाट ओझेल पर्ने बेलामा प्रतिबन्ध खुला गरौँ भन्ने लागेको हुनसक्ने भएपनि विप्लव शान्तिपूर्ण राजनीतिमा आउनुलाई भने स्वागत गर्नुपर्ने देवकोटाको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई विप्लव समूह मूलधारमा मिसिनु नेपाली राजनीतिक वृत्तमा त्यति ठूलो विषय भएको लाग्दैन ।

बिहीबार भएको सहमतिलाई प्रधानमन्त्री ओलीले जनतासामु गिरेको आफ्नो राजनीतिक साखलाई माथि उठाउन गरिरहेको राजनीतिक गतिविधि भएको केसीको ठम्याइ छ । ‘ओली पनि आत्तिएका छन्,’ केसीले मकालु खबरसँग भने, ‘यति गर्न पाए अलिक हुन्थ्यो भन्ने ओलीलाई पनि लागेको छ । सँगै विप्लव समूहले पनि ओलीको अवस्था बुझेको हुनसक्छ । यतिबेला गइयो भने आफूमाथिको प्रतिबन्ध फुकुवा हुन्छ भन्ने कुरा विप्लवजीहरुलाई पनि लागेको हुनसक्छ । तर, विप्लवजीहरु मूलधारमा आए राम्रै भयो ।’

विप्लव शान्ति प्रक्रियामा आएपनि विप्लव समूहको बिँडो फेरि अरु नै कसैले थाम्ने केसीको आकलन छ । विप्लवको आगमनले प्रधानमन्त्रीलाई कुनै पनि राजनीतिक फाइदा नपुग्ने बताउँदै केसीले ओली आफैँ सक्किएको टिप्पणी गरे । ‘आफ्नो पार्टीलाई छताछुल्ल पारेर ओली त आफैँ सिद्धिए । विप्लवको आगमनले ओलीलाई कुनै फाइदा पुग्दैन । यो खाली देखाउने दातमात्रै हो ।’

केही मान्छे मार्ने र सरकारसँग शान्ति प्रक्रियाको वार्ता गर्ने पहिलेदेखिकै प्रचलन रहेको दृष्टान्त सुनाउँदै केसीले भने, ‘केही मान्छे मार्ने अनि शान्तिपूर्ण राजनीतिमा आउने चलन नेपालमा पहिल्यैदेखि नै हो । एक हिसाबले भन्ने हो भने यो विप्लजी जस्ताहरुको लागि जोगिने मेलो पनि हो ।’

केसीसमेत ओलीले जनतालाई भाषणमा यो काम गरेँ भन्नका लागि मात्रै विप्लव समूहलाई ल्याएको हुनसक्ने आकलन गर्छन् ।

यस्तै, संविधानसभाका सदस्य तथा राजनीतिक विश्लेषक हरि रोकाको विश्लेषण पनि केसीको ‘लाइन’सँग मिल्दोजुल्दो छ ।  ‘प्रतिबन्ध लगाएको ओलीजीले नै हो,’ रोकाले मकालु खबरसँग भने, ‘उहाँले नै प्रतिबन्ध फुकुवा गर्नु कुनै ठूलो कुरा भएन ।’

संसदीय परिपाटीको राजनीतिमा ओलीले खास रुपमा आफ्नो गिरेको राजनीतिक साख जोगाउनका लागि मात्रै विप्लवलाई समेटेको हुनसक्ने शंका रोकाको छ । ‘यसलाई कुनै ठूलो घटनाको रुपमा लिनुपर्दैन, यसमा अन्य धारणा बनाइराख्नु पनि जरुरी छैन । ओलीजीले जाँदाजाँदै केही क्रेडिट लिउँ भनेर मात्रै गरेका हुन्‚’ रोकाले भने । विप्लवको आगमनले ओलीलाई कुनै पनि हिसाबबाट फाइदा नपुग्ने रोकको ‘रीडीङ्ग’ छ ।

विप्लवको अबको रणनीतिबारे अहिले केही भन्न सकिन्छ ? भन्ने प्रश्नमा रोक्काको जवाफ छ–‘अब भोलि ओलीजी र विप्लवजीको भाषण सुनौँ । अनि मात्रै यसबारे धारणा बनाऔं । अहिले खाली यति मात्रै भन्न सकिन्छ कि, विप्लवजीहरु आउनु एउटा सकारात्मक कुरा हो र अब सधैं शान्तिपूर्ण राजनीतिमै रहनुपर्छ ।’

विप्लवले अहिलेको प्रणालीलाई मान्ने कि नमान्ने भन्ने विषय पनि भोलिका लागि प्रमुख विषय हुने रोकाले बताए ।

राजनीतिक ‘स्पेस’ निर्माणको प्रयास
छुट्टै मधेशको अवधारणासहित पृथकतावादी राजनीतिक अभियान सञ्चाल गर्दै आएका सीके राउत मूलधारमा समेटिएपछि उघारिएको ओलीको राजनीतिक स्पेस विप्लवलाई प्रतिबन्ध लगाएसँगै साँघुरिएको थियो ।

त्यसपछि आफ्नो राजनीतिक स्पेस निर्माण गर्ने ध्याउन्नमा लागेका ओलीले बीचमा पूर्वमाओवादी छापामारहरुसँग पनि छलफल गरे । खासगरी प्रचण्डसँग रुष्ट रहेकाहरुलाई भेला गर्दै आफ्नो पक्षमा पार्ने भगिरथ प्रयत्नमा रहेका ओलीले विप्लवलाई पनि यसमा सहमत गराउन सक्नु ठूलै सफलता हो ।

हिजो प्रचण्डसँग असहमत भएर फेरि सशस्त्र विद्रोह शुरु गरेका विप्लव अहिले नेकपाभित्र को बलियो हुने भन्ने रस्साकस्सी चलिरहेका बेला ओलीतर्फ नजिकिनुले प्रचण्डलाई केही भएपनि राजनीतिक क्षति पुग्ने आकलन पनि गर्न सकिन्छ ।

तर, विप्लवले अहिले आफूमाथिको प्रतिबन्ध फुकुवा गराउने, जेलमा रहेका सहकर्मी छुटाउने र अभियोगहरू फिर्ता गराई शान्तिपूर्ण राजनीतिमा सेफ ल्यान्डिङ्ग गराउने अवसरका रुपमा मात्र यो अवसरलाई लिएका हुन् वा नेकपाभित्रको राजनीतिक ध्रुवीकरण बढ्दै गएका बेला ओली पक्षमा लामै समय आफूलाई उभ्याउने हुन् त्यो भने हेर्न अझै केही समय पर्खिनैपर्नेछ ।

प्रतिक्रिया