प्रधानमन्त्री र विप्लव एउटै मञ्चमा देखिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा देखिने भएका छन् । २१ फागुनमा उनीहरु एउटै मञ्चमा देखिने भएका हुन् ।

सरकारका तर्फबाट गठित वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार शुक्रबार राष्ट्रिय सभा गृहमा ओली र विप्लव सँगै देखिने भएका हुन् । सरकार र विप्लव समूहबीच बिहीबार तीन बुँदे सहमति भएसँगै उनीहरु सँगै देखिने भएका हुन् ।

बुधबारदेखि चरणबद्ध रुपमा सरकार र विप्लव समूहबीच भइरहेको थियो । त्यसपछि बिहीबारको तेस्रो चरणको वार्तापछि भने तीन बुँदे सहमति भएको छ । सहमति पत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका तर्फबाट समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा उल्लेख भएअनुसार सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ भने पक्राउ परेका नेता÷कार्यर्ताहरु रिहा हुने भएका छन् ।

सरकारले यसअघि नै पृथकवादी आन्दोलन सञ्चालन गरिरहेका सीके राउतलाई पनि मूलधारको राजनीतिमा ल्याएको थियो । त्यसबेला विप्लवलाई पनि सरकारले मूलधारमा आउन आग्रह गरेको थियो । तर, सरकारको आग्रहलाई नकार्दै विध्वंसात्मक गतिविधिलाई बढावा दिएपछि सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया