विप्लव समूहका नेताहरुलाई पक्राउ नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले प्रतिबन्धित विप्लव समूहका नेता/कार्यकर्ताहरुलाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ ।

सरकारले विप्लव समूहका नेता/कार्यकर्तामाथिको धरपकडलाई रोक्न प्रहरीलाई निर्देशन दिएको हो । वार्ता शुरु भएसँगै गृह मन्त्रालयले समूहका नेता/कार्यकर्तामाथि हुने धरकपडलाई रोक्न दिर्नेशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले मकालु खबरलाई बताएअनुसार सरकारले जहाँ भेट्यो त्यहीँ पक्राउ नगर्न भनेको हो । ‘हो पक्राउ नगर्न भनिएको हो,’ प्रवक्ता बुढाले भनेका छन्, ‘अवस्था र परिस्थिति हेरेर सरकारले कदम चाल्छ । विप्लव मात्रै होइन, अन्यलाई पनि पक्राउ गर्ने र नगर्नेमा अवस्थामै भर पर्ने हो ।’

प्रवक्ता बुढाले थपेका छन्, ‘वार्ता चलिरहेको छ । त्यसो हुनाले संयमता चाहिँ अपनाउनु भनेर सरकारले भनेको हो ।’

बिहीबार बिहानदेखि सरकार र विप्लव समूहबीच चरणबद्ध रुपमा वार्ता भइरहेको छ । वार्ताका क्रममा विप्लव समूहले आफूमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने, पक्राउ परेका आफ्नो नेता/कार्यकर्ताहरु रिहा हुनुपर्नेलगायतका मागहरु अघि सारेको छ । यस्तै सरकारले पनि विभिन्न शर्तहरु अघि सारेको छ ।

वार्तामा सरकारका पक्षबाट पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहभागी छन् भने विप्लव समूहका तर्फबाट समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ सहभागी छन् ।

सरकारले यसअघि नै छुट्टै मधेशको अवधारणा अघि सारेर पृथकवादी आन्दोलन सञ्चालन गरिरहेका सीके राउतलाई पनि वार्ताबाटै मूलधारमा ल्याएको थियो । विप्लव समूहले भने त्यतिबेला सरकारको आह्वानलाई नकारेको थियो । त्यसपछि पनि मुलुकमा विध्वंसात्मक गतिविधिलाई नै बढावा दिएपछि सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया