प्रचण्ड अरुकै लागि कम्फरटेबल : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश र जनताका लागि अनकम्फरटेबल रहेको आरोप लगाएका छन् । जनताको नरसंहार मच्चाएका प्रचण्ड विदेशीप्रति मात्रै कम्फरटेबल रहेका उनले आरोप लगाएका हुन् ।

‘उहाँ छिमेकीलाई कम्फरटेबल हुनुहुन्छ तर नेपाली जनताका लागि होइन,’ हिमालयन टेलिभिजनलाई अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जनतालाई के के क्षति गराउनु भयो ? कति नरसंहार गराउनु भयो ? प्रचण्ड नेपाली जनताका लागि होइन, अरुकै लागि कम्फरटेबल छन् ।’

सरकारले मिचिएको भूमि समेटेर नक्सा छाप्न संविधान संशोधन गरेपछि प्रचण्डलाई अन्कम्फरटेबल भएको ओलीको भनाई छ । ‘नक्सा छाप्यो भनेको होला, सरकारले सार्वभौम सत्ता बलियो बनाउँदै गर्दा अन्कम्फरटेबल ढंगले पेश भइरहेको छ भनेको होला,’ उनले भने, ‘नेपाली जनतालाई दुःख दिनेहरु अहिले छिमेकीका लागि कम्फरटेबल हुन खोज्दैछन् ।’

आफूलाई प्रचण्डले प्रधानमन्त्री बनाएको भनाईप्रति ओलीको तिखो प्रहार रह्यो । ‘सिद्धिएका प्रचण्डलाई मैले ५३ सिटमा पुर्‍यादिएको छु । धाक लगाउने ?’ उनले भने । प्रचण्डले जीवनमा कहिले पनि बहुमतको प्रधानमन्त्री बन्न नसकेको बरु आफ्नो सहयोगमा एकपटक प्रधानमन्त्री ओलीले दाबी थियो ।

यस्तै प्रधानमन्त्री ओलीले अदालतको फैसलापछि प्रचण्ड-नेपाल प्रधानमन्त्री पद चढाउन बुढानिलकण्ठ पुगेको आरोप लगाए । ‘अदालतको फैसलापछिको दृश्य के देखियो, अबिर जात्रा, लड्डु । चितवनबाट दौडेर हवाइजहाजबाट विमानस्थल उत्रिएर बुढानिलकण्ठ गएछन्,’ उनले भने, ‘बुढानिलकण्ठ हात जोडेर प्रधानमन्त्री भइदिनुपर्‍यो प्रभु । तथास्तु भनिदिनुपर्‍यो भनेछन् ।’

तर देउवाले साथीभाइसँग सल्लाह गरेरमात्र अघि बढ्छु भनेको उनले सुनाए । देउवाले प्रचण्ड-नेपालको गुहार नसुनेको ओलीको भनाई थियो ।

प्रतिक्रिया