मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

निभेकाे दियो, ओइलाएका गुलाब र गंगामायाकाे अनशन

  • सृष्टि नेपाल

काठमाडौं । निभेकाे दियो अगाडी गणेशको मूर्ति, तीनै मूर्तिको दायाँ र बायाँ दुई कलश छन् । छेवैमा एउटा फल छ, जसलाई जलेर खरानी भएका धुपकाे धुलोले छपक्कै छोपेकाे छ । ओइलाएका छन् बेडका आडैमा रहेका गुलाबका फूलहरू । उस्तैगरी ओइलाएकाे छ गंगामाया अधिकारीकाे अनुहार र शरीर पनि ।

यस्ताे लाग्छ, उनकाे पीडा देखेर गुलाबले पनि मुस्कुराउन भुलेको हुँदो हो !

सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाकाे फैसला गरेपछि नेतादेखि जनतासम्मले खुशीयाली मनाए । तर त्याे खुशीयालीले छुन सकेकाे छैन उनलाई । १२ औं अनशनको आइतबार ७० दिन पुगिसकेको छ, मुखमा अन्नपानी हालेकी छैनन् । आफ्नै शरीर भारी भएको छ उनलाई, सुन्निएर गलेकाे छ । कोल्टे फेर्न पनि सकस, जिउ भत्भती पोल्छ भन्छिन् ।

द्वन्द्वकालमा मारिएका कान्छा छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारवाहीको माग गर्दागर्दै श्रीमान् नन्दप्रसादले अनशन बसेको ३३४ औँ दिनमा मृत्युवरण गरे । अहिले एक्लिएकी गंगामायाकाे अवस्था पनि नाजुक देखिन्छ ।

वीर अस्पतालका निर्देशक केदार सेञ्चुरी भने गंगामायाकाे स्वास्थ्य अवस्था सामान्य नै रहेको बताउँछन् । ‘उहाँले औषधि लिन मानिरहनु भएको छैन । अहिलेसम्म त स्वास्थ्य अवस्था त्यस्तो चिन्ताजनक छैन तर लामो समयसम्म केही नखाइ बस्दा मुटुमा समेत असर पर्न सक्छ’, निर्देशक सेञ्चुरीले मकालु खबरसँग भने, ‘त्यस्तो अवस्थामा आइसियुमा सार्नुपर्ने हुन्छ । सुन्निएकाे छ,  औषधि दिनका लागि नसाहरू भेटिइरहेकाे छैन । अहिले ब्लड टेस्ट भएको छ, रिपोर्ट आउन बाँकी छ ।’

हुन त ‘न्याय नपाए खाेरखा जानू’ भनिन्थ्याे उतिबेला । तर अन्यायमा परेका गंगामायाकाे परिवार भने गाेरखाबाटै लखेटिए । न्याय दिने आश्वासनमा उनको ११ औं अनशन तोडाइएको थियो तर हत्यारालाई कुनै कारवाही भएन ।

१२ औं अनशनमा त कसैले सुन्ला कि भन्ने थियो उनलाई, तर अझै सुनुवाइ भएकाे छैन । एक्ली थिइन्, न्यायकाे मागमा अहिले पनि एक्लै नै छिन् उनी । सबै आउँछन्, अनशन तोड्नु भनेर जान्छन् । कसैले भन्दैनन्‚ ‘तपाईँको छोराको न्यायका लागि हामी आवाज उठाउँछौँ, हामी पनि लड्छाैँ !’

आफू अन्यायमा परेर भएपनि छाेराकाे न्यायका लागि आवाज उठाइरहेकी गंगामायाकाे आवाज अनसनस्थल वीर अस्पतालकाे त्याे काेठाबाट बाहिरसम्म पुग्न सकेकाे छैन, निस्सासिएकाे छ त्यहीँभित्र । भन्छिन्‚ ‘वार्ताका लागि काेही आएका छैनन्, सबै आश्वासन देखाउनमात्रै आइरहेका छन् । अपराधीलाई जेल नहालेसम्म आश्वासनकै भरमा अब त अनशन तोड्दिनँ ।’

अनशनकाे विकल्प पनि देखेकी छैनन् उनले । टाढासम्म धाउन शरीरले दिँदैन । ‘बरू मर्छु तर न्याय नपाई अनशन ताेड्दिनँ’-  अडान छ उनकाे । ‘अपराधीलाई जेल नहाले बरू मै मर्छु तर अनशन ताेड्दिन अब, श्रीमान पनि न्याय माग्दामाग्दै बित्नुभयाे, मेराे पनि त्याे अवस्था नआउला भन्न सकिन्नँ’, उनले भनिन् ।

जेलभन्दा कम लाग्दैन उनलाई वीर अस्पतालको बसाइ । कसैकाे साथ नपाउँदा छाेरालाई न्याय र श्रीमानकाे आत्मालाई शान्ति दिलाई छाड्ने उनकाे अठाेट डगमगाउन थालेकाे छ । न्यायको आशा पनि मारिसकिन् उनले – ‘हात पाखुरा चलाउन सक्दिनँ । आँखा पनि कुनैबेला खुल्छ, कुनैबेला खुल्दैन । अब धेरै दिन बाँच्छु जस्तो पनि लाग्दैन ।’

जेठाे छाेरा नुरप्रसाद अधिकारी पनि भेट्न आएका छैनन् । अनशन सुरू गर्नुभन्दा केही दिनअघि छोरासँग फाेनमा कुराकानी भएकाे थियाे । ‘जेलबाट छुटेँ भनेर केही दिनअघि फाेन गरेकाे थियाे, त्यसपछि न फाेन आएकाे छ‚ न छाेराे आएकाे छ, ऊ लिन आउला र जाउँला भनेर सोचेकी पनि छैन ।’

छोरा कृष्ण र श्रीमानलाई मृत्युले निलेको तिथि-मिति पाखुरामा खोपेर राखेकी छिन् उनले । उनी बस्ने काेठाका भित्ताभरी न्यायका लागि नन्दप्रसादले लडिबुडी गरेका क्षणहरू कैद छन्, तस्वीरमा । हार मानेका बेला तिनै तस्वीरले गंगामायालाई झक्झक्याइरहन्छन्, गलेको शरीरलाई लड्न ऊर्जा दिन्छन् । त्यही ऊर्जाले १२ औं अनशनका लागि प्रेरित गरेकाे हाे ।

उनलाई छाेराकाे लागि अहिले नउठेकाे न्यायको आवाज आफ्नो देहावसानपछि नागरिकले उठाउलान् कि भन्ने झिनो विश्वास भने छ । ‘मेराे छाेराे र श्रीमानलाई राज्यले नै मारेकाे हाे । त्यतिबेलै अपराधीलाई जेल हालेकाे भए मेराे श्रीमान् बाँच्नुहुन्थ्याे हाेला । अब मलाई पनि त्यसैगरी मार्छ याे राज्यले,’ उनी भन्छिन्, ‘मरेपछि त कसाे न्याय नपाउँला र ? हत्यारा र हत्याराकाे संरक्षण गर्ने अपराधीलाई मेरो आँशु लाग्नेछ एकदिन !’

गंगामायाका अनुसार ६९ सालको माघ २२ गतेबाट बालुवाटारमा प्रधानमन्त्रीको गेटै अगाडिबाट अनशन सुरु गरेका थिए अधिकारी दम्पतीले । कतिपटक न्याय दिने आशामा अनशन तोडाइयो, पाएनन् न्याय अनि फेरि बसे अनशन । २०६१ साल जेठ २४ गते छोरा कृष्णप्रसाद अधिकारीकाे हत्या भएपछि न्यायकाे माग राख्दै अनशन बसेका नन्दप्रसादकाे अनशन बस्दा बस्दैमा प्राणपखेरु उड्यो, २०७१ असोज ६ गते, सोमबार साँझ ।

कयाैँपटक देशका शासक फेरिए, शासन शैली फेरिए तर फेरिएन गंगामायाकाे जीवन । अन्धकारमय जीवन झनै अन्धकारमा धकेलियाे, फिरेन उज्यालाे । अहिले पनि नन्दप्रसादकाे शव टिचिङ अस्पतालमै छ । न्याय नपाई उनकाे शव नजलाउने गंगामायाले बताउँदै आएकी छन् ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com