उपराष्ट्रपति र सभामुख झगडीया भए : प्रधानमन्त्री

  • सुमन सुस्केरा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फर्किएर जनताको साथमा आउन आग्रह गरेका छन् । विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै उनले आउने बाटोमा भन्दा सकिने बाटोमा लागेकोले एक पटकको लागि आउन चाहने भए मौका दिने बताएका हुन् । प्रचण्डलाई यहाँसम्म ल्याउनको लागि आफ्नो ठूलो योगदान रहेको बताएका प्रधानमन्त्रीले प्रचण्डको जुरो आएछि हिँडेको टिप्पणीसमेत बताए ।

‘मैले सिद्धिएका प्रचण्डलाई ठूलै जुरो हालिदिएँ’, ओलीले भनेका छन्, ‘लामै सिङ पनि हालिदिएँ । उहाँमा अहंकार चढ्यो, उहाँले हामीलाई नै सिध्याउँछौँ भनेर लाग्नुभयो ।’ प्रधानमन्त्रीले प्रचण्डलाई अहिलेको यात्रालाई असफलता तर्फको यात्रा भनेका छन् । ‘अझै फर्किन चाहनुहुन्छ भने फर्कनुस् नेपाली जनताको सागरमा मिसिनुस्’, प्रधानमन्त्री ओलीले भने, ‘लड्नेलाई राम भन्ने मात्र हो काँध हाल्न सकिन्न ।’

उनले प्रचण्डको निक्कै मायाँ लागेको बताउँदै भने, ‘मलाई प्रचण्डजीको त अलिकति मायाँ लाग्छ, पहिला उहाँसँग बैद्य थिए छोडे, उहाँले डाक्टर लिनु भयो डाक्टरले पनि छोडे, अहिले उहाँले एउटा झाँक्री लिनुभएको छ, उहाँलाई अब झाँक्रीले पनि बचाउन सक्दैन ।’

उनले प्रचण्ड तथा माधव नेपाललाई पार्टी र कम्युनिष्ट आन्दोलन सिध्याउनको लागि तल्लीन रहेको आरोप लगाए । ‘अस्ति दुई÷चार हजार मरितरी जम्मा गरेर आमसभा गरेको बेला मलाई हेर्न आउनुस् भनेर बोलाइयो । मलाई हेर्न आउनुस् भन्नेहरुले यहाँ आएर हेर्नुस् । म भन्न चाहन्छु’, ओलीले भनेका छन् ।

झगडिया सभामुख
प्रधानमन्त्री ओलीले सभामुखलाई सरकारको झगडियाको रुपमा ब्याख्या गरे । सभामुखले किर्ते सनाखत गरेकोसमेत ओलीले आरोप लगाए । उनले उपराष्टपतिसँग पनि असन्तुष्टि जनाएका छन् । उपराष्टपतिले सरकारको विरुद्धमा भाषण गरेर हिँड्ने, यो भएन त्यो भएन भनेर हिँडेको बताए ।

‘हामी झगडिया हैनौँ, मुद्दा मामिलाको पछाडि छैनौँ’, उनले भने, ‘बहुमतको प्रधानमन्त्रीले संसद् बिघटन गरेको हो, आफूले संसद् बिघटन गर्दासम्म ६४ प्रतिशतको सांसद भएको ठूलो दलको नाताले संसद् बिघटन भएको हो ।’

विकासका कुरा
देशभरी नै विकासको लहर आएको दाबी गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘रानीदेखि रानीदेखि किमाथांका सडक बनाउन थालिएको छ । अर्को बर्षसम्ममा किमाथांका बाटो पुग्नेछ, त्यसले चीनसँगको यात्रालाई सहज हुने बताए । ओलाङचुुङगोला बाटो छिचोल्ने काम गर्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग ४ र ६ लेन बनाइँदैछ ।’

यसैगरी मदन भण्डारी राजमार्ग बनाउँदै गरेकोसमेत ओलीले सुनाए । झापामा नयाँ औद्योगिक क्षेत्रको सिलान्याशको तयारी हुँदै गरेको बताएका ओलीले भने, ‘एकै दिनमा ३ सय ९ वटा अस्पताल सिलान्याश भएको छ । के यो चाहिँ विकास होइन र ?’
यस्तै ओलीले सूर्य चिह्न आफूहरुले पाउने दाबी गरे । अहिलेसम्म सूर्य चिह्नमा चुनाव नै नलडेका ब्यक्तिले चुनाव चिह्न मेरो हो भन्नु ठीक नहुने बताए ।

निर्धारित बैशाख १७ र २७ मा नै चुनाव भएर छाड्ने ओलीले दाबी गरे ।

यो पनिः
–‘प्रचण्डलाई अब झाँक्रीले पनि बचाउन सक्दैनन्’ 

प्रतिक्रिया