७० महिनापछि प्रधानमन्त्रीको कार्यालय सर्दै

काठमाडाैँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ ।

पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर आज उद्घाटनको तयारी भएको छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले जानकारी दिए ।

सिंहदरबारको मूल भवनमा ७० महिनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सर्न लागेको हो । करीब छ वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भएपछि विसं २०७२ वैशाख १२ गतेपछि मुलुकको प्रमुख कार्यकारी बस्ने भवन सिंहदरबार परिसरकै स्थानीय विकास मन्त्रालयको भवनमा सारिएको थियो । प्रबलीकरण भइरहेका बेला उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्य अगावै काम सकेको एकाइले जनाएको छ ।

सिंहदरबारका तीन भाग प्रबलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि पहिलो हप्तामै काम सकिएको छ । गौरी-शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रबलीकरण गरेको हो । उत्तर, पूर्व र दक्षिण भाग प्रबलीकरणको लागत रु ८७ करोड रहेको पनि आयोजना निर्देशक सिंहले सुनाए । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सम्पन्न भएको छ ।

सिंहदरबार पश्चिमी भाग प्रबलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ असोजसम्ममा सकिने एकाइले जनाएको छ । सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनःनिर्माणको काम समेत शुरु भइसकेको छ ।

सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । पश्चिम खण्ड विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको विसं २०३७ मा पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।

प्रतिक्रिया