‘के छ हजुर ?’ भनेर रमाउँदै दिग्गज कलाकार

  • दिक्षा कट्टेल 

काठमाडौं । पछिल्लो समय ‘के छ हजुर !’ भनेर चर्चामा आएका बालक सचिन परियारका दुई गीत (माघ ११ गते) युट्युब ट्रेन्डिङ्गमा छन् । यति मात्र होइन, उनकै अभिनय रहेको ‘मेरी बास्सै’ र केही अन्तरवार्तासमेत ट्रेन्डिङ्गमै छन् । रमाइलो कुराकानी गर्ने भएकै कारण युट्युबकर्मी मोहन बस्नेतसँग सचिन काठमाडौं आए । लोकदोहोरी कार्यक्रम ‘इन्द्रेणी’ पुगेर रमाइलो पनि गरे । कार्यक्रम सञ्चालक कृष्ण कँडेलको सहायतामा काठमाडौंमै स्कूलसमेत शुरु गरे । उनको बिदाको समय गीत गाएर तथा छायाकंन गरेर बितिरहेको छ । उनमा गायनभन्दा पनि हँसाउने कला धेरै देखिन्छ । तर, उनका गीत भने एकपछि अर्को गर्दै ट्रेन्डिङ्गमा रहेका छन् । उनीसँग काम गर्न परिचित गायक-गायिकादेखि दिग्गज कलाकारसमेत लालायित देखिन्छन् ।

आज ट्रेन्डिङ्गको तेस्रो नम्बरमा परेको गीत ‘बरको छायाँले’ मा सचिनले महानायकको छवि बनाएका नायक राजेश हमालसँग स्क्रिन सेयर गरेका छन् । गीतमा राजेश उनै सचिनसँग नाँच्दै, गाउँदैछन् त घरीघरी सचिनलाई बोक्दै गरेको पनि देखिन्छन् । ५ नम्बरमा परेको अर्को गीत ‘रातो रबर’ मा उनले रविना बेसलसँग आवाज साझेदार गरेका छन् । गीत र भिडियोमा चलेका व्यक्तिहरू छन् तर टाइटलमा भने सचिनले नै कब्जा जमाएका छन् ।

यसलगत्तै सचिनले पछिल्लो समयकी व्यस्त गायिका रचना रिमालसँगसमेत गीत गाउँदैछन् । गीत सार्वजनिक हुनुअगावै उनका रचनासँगका केही किस्सा टिकटक फेसबूकमार्फत् भाइरलसमेत भएका छन् ।

‘मेरी बास्सै’ मा सचिन उनलाई चर्चामा ल्याउने युट्युबकर्मी मोहन बस्नेतसहित उपस्थित छन् । ‘मेरी बास्सै’ ले उठाएको विषय जातीय विभेदको कुरा पुरानै ढङ्गले प्रस्तुत गरे पनि सचिनको अभिनय पहिला झैँ रमाइलो लाग्छ ।

सचिनका रमाइला जवाफ तथा कुराकानीका किस्सा काटेर भिडियो बनाउने होडबाजी नै चलेको छ भने सचिनको ‘रियाक्सन’लाई भिडियोमार्फत् शेयर गरेर चर्चा बटुल्नेहरुको पनि कमी छैन । यति मात्रै पनि होइन, अन्तरवार्ता लिन नपाएकादेखि ‘कब्जै’ जमाएकासम्म आरोप-प्रत्यारोपमा समेत उत्रिएका छन् ।

त्यसो त दुनियाँ भाइरलकै पछि छ ? के कुनै पनि सिर्जना लोकप्रिय बन्नको लागि भाइरल नै चाहिन्छ ? संगीतकार बसन्त सापकोटालाई भने त्यस्तो लाग्दैन । ‘मलाई त्यस्तो लाग्दैन । मुख्य कुरा त आफूले दिने आउटपुट राम्रो हुनुपर्यो’, सापकोटा मकालु खबरको जिज्ञासामा भनेका छन्, ‘कर्ममा ध्यान दिनुपर्यो ।’ पछिल्लो समय गीतसंगीतलाई कसरी राम्रो बनाउने भन्नेतिर भन्दा पनि क्षणिक कुरालाई बढी ध्यान दिन थालिएको बताउँदै सापकोटाले यस्तो कर्मले दीर्घकालीन् सुख नदिने बताउँछन् । उनको तर्क छ-‘यस्तो कुरा क्षणिक हुन् । अन्ततः कला र कन्टेन्ड नै मूलभुत कुरा हुन् ।’

मोडल विमल अधिकारीले एक अन्तर्वातामा ‘भाइरल’ को पछि लाग्नु गलत भएको बताएका छन् । उनले देशमा भएको सबै समस्याको एउटा समाधान गीतसङ्गीत तथा अभिनयमा लगाइनु मात्रै हो झैँ गरेको बताएका छन् । उनी भन्छन् ,‘हात खुट्टा भाँचियो, टाउको दुख्योदेखि अनैतिक सम्बन्धका कारण घर ब्यवहार बिग्रियो, यो सबैलाई गाउन या भिडियोमा नै किन देखाइँदैछ ? अरू कुनै समाधानको उपाय छैन ?’ उनले यस प्रकारको ब्यवहारले साधना गरेर आएका व्यक्तिहरू मर्कामा पर्ने बताए ।

सारमा, महानायकका छवि बनाएका राजेशदेखि अभिनयमै आधाभन्दा बढी जिन्दगी बिताएका सूरवीर पण्डित, रामचन्द्र अधिकारीलगायतलाई ‘भाइरल ब्वाई’ जरुरी नै होला त ?

प्रतिक्रिया