‘परराष्ट्रमन्त्री ज्ञवाली रित्तो कुटुरो बोकेर फर्किए’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमण ‘बेला न कुबेलाको’ भएको बताएका छन् । तीन दिनको भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणको विषयमा टिप्पणी गर्दै डा. भट्टराईले सो कुरा बताएका हुन् ।

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेको भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत परराष्ट्रमन्त्री रित्तो कुटुरो बोकेर फर्केको टिप्पणी गरे । देशको जटिल भूराजनीतिक स्थिति नबुझी नेताहरु कहिले बुरूक्क उफ्रिने र कहिले लम्पसार पर्ने गरेको उनको आरोप छ ।

उनले भनेका छन्- ‘मन्त्री ज्ञवाली कुवेलाको भारत भ्रमणपछि ‘कुराकानी भएको’, ‘छलफल भएको’, ‘विचारको आदानप्रदान भएको’, ‘गतिदिने सहमति भएको’, ‘प्राथमिकतामा राख्ने सहमति भएको’आदि रित्तो कुटुरो बोकेर फर्कनुभएछ। देशको जटिल भूराजनीतिक स्थिति नबुझी कैले बुरूक्क उफ्रिने र कैले लम्पसार पर्नेको हालत यस्तै हुन्छ ।’

प्रतिक्रिया